शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

मकवानपुरमा गठबन्धनभित्र भागबण्डा गर्न सकस, सहमति खोज्न नेताहरु काठमाडौं पुगे

शुक्रबार, ०९ वैशाख २०७९, १२ : ४५
शुक्रबार, ०९ वैशाख २०७९

मकवानपुरमा सत्तारुढ ५ दलीय गठबन्धनबीच भागबण्डा मिलाउन सकस परेको छ । बिहीबार राति अबेरसम्म हेटौंडामा बसेको जिल्लास्तरीय गठबन्धन बैठकमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीबीच भागबण्डाका बारेमा सहमति हुन नसकेको हो ।

दलहरुले मकवानपुरको हेटौंडा उपमहानगरपालिका बाहेकका पालिकाको नेतृत्वमा आ–आफ्नै दाबी कायम राख्दा भागबण्डामा समस्या परेको हो । बैठकमा मकवानपुरमा भागबण्डा गरेर जाने र त्यसका लागि केन्द्रले दिएको निर्देशन अनुसारको आधार र मापदण्ड अनुकुल गर्ने तयारी थियो । तर, गठबन्धनका दलहरु बीच मकवानपुरको केही गाउँपालिकाको नेतृत्वमा सहमति जुट्न नसकेपछि बैठक स्थगित भएको थियो ।

गठबन्धनका दलहरु बीच मकवानपुरको बागमती, बकैया र मकवानपुरगढी गाउँपालिकाको विषयमा लगभग सहमति भइसकेको छ । तर, कैलाश, राक्सिराङ र मनहरी गाउँपालिकाको विषयमा भने गठबन्धन घटकबीच सहमति जुट्न सकेको छैन ।

‘हिजो बैठकमा गठबन्धनका दलहरुबीच करिव–करिव सहमति हुने अवस्था थियो । बागमती, बकैया र मकवानपुरगढी गाउँपालिकामा सहमति अन्तिम चरणमा पुगेको छ,’ बैठकमा सहभागी एक नेताले भने, ‘तर, कैलाश, राक्सिराङ र मनहरी गाउँपालिकाको नेतृत्वको विषयमा भने समस्या भयो ।’

बैठकमा काँग्रेसले सहमतिका लागि लचकता अपनाए पनि माओवादी केन्द्रले आफ्नो दाबी नछाडेपछि निष्कर्षमा पुग्न नसकिएको उनको भनाइ छ ।

यस्तो छ भागबण्डाको खाका
गठबन्धनको बैठकमा काँग्रेसले विगतमा जितेको २ वटा गाउँपालिकासहित ६ पालिकाको नेतृत्वमा आफ्नो दाबी गरेको छ भने माओवादी केन्द्रले पनि विगतमा जितेको २ पालिकासहित ५ पालिकाको दाबी गरेको छ ।
काँग्रेसले विगतमा जितेको राक्सिराङ गाउँपालिका, बकैया गाउँपालिका, कैलाश गाउँपालिका, मकवानपुरगढी गाउँपालिका, भीमफेदी गाउँपालिका र मनहरी गाउँपालिकाको नेतृत्वमा दावी गरेको छ ।

माओवादी केन्द्रले विगतमा जितेको थाहा नगरपालिका, बागमती गाउँपालिका, भीमफेदी गाउँपालिका, राक्सिराङ गाउँपालिका र मनहरी गाउँपालिकामा दाबी गरेको छ ।

२०७४ सालको निर्वाचनमा काँग्रेसले एकल रुपमा जितेको राक्सिराङ गाउँपालिका कुनै पनि हालतमा आफूले पाउनु पर्ने दावी गर्दै आएको छ । राक्सिराङमा काँग्रेस एक्लैले प्रमुख र उपप्रमुख दुबै पाउनुपर्ने दाबी गरेको हो । हेटौंडा उपमहानगरपालिकाको नेतृत्व एकीकृत समाजवादीले पाएकाले विगतमा एमालेबाट उम्मेदवार भइ जितेका कैलाश र इन्द्रसरोबर गाउँपालिकामध्ये एउटामा उसले दाबी छोड्नु पर्ने सर्त  थियो । सो सर्तमा एकीकृत समाजवादी सकरात्मक देखिएको छ । जसअनुसार कैलाश गाउँपालिकामा काँग्रेसले दावी गरेको छ ।

यता भीमफेदी गाउँपालिकाको नेतृत्वका दावी गरेको माओवादी केन्द्रलाई सो पालिका छोड्न काँग्रेस सकारात्मक छ । तर गठबन्धनका दलहरूको आँखा मनहरीमा अड्किएको छ । मनहरीमा सबैले आफ्नो दावी गर्दा समस्या देखिएको छ । एकीकृत समाजवादीले सो पालिकामा आफ्नो दाबी गर्दै आएको छ भने माओवादी केन्द्र र काँग्रेस कुनै पनि अवस्थामा मनहरी छोड्ने पक्षमा छन् ।

यता बकैया गाउँपालिकाको प्रमुखमा काँग्रेसको स्वतः पाउने अवस्था छ भने उपाध्यक्षका लागि दलहरुबीच कुरा मिलिसकेको छैन । बकैयाको उपाध्यक्षमा नेकपा एकीकृत समाजवादी र माओवादीले दावी गरेका छन् ।

 जिल्लास्तरका नेताहरु काठमाडौंमा

मकवानपुरमा गठबन्धनको जिल्ला संयन्त्रको बैठकले भागबण्डा मिलाउन नसकेपछि दलबल सहित जिल्लाका सबैजसो नेता काठमाडौं पुगेका छन् । नेपाली काँग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँलाई भेट्न शुक्रबार बिहानै तीनै वटा दलका जिल्ला र प्रदेशस्तरका नेताहरु काठमाडौं पुगेका हुन् । गठबन्धनको मकवानपुर जिल्ला संयन्त्र र प्रदेशस्तरको संयन्त्रको बैठक बसेर भागबण्डाको विषय टुङ्ग्याइने बताइएको छ ।

बैठकमा सहभागी हुन माओवादी केन्द्रकी केन्द्रीय सदस्य एवम् मकवानपुर इन्चार्ज कुमारी मोक्तान, एकीकृत समाजवादीका केन्द्रीय सदस्य एवम् मकवानपुर इञ्चार्ज केदार न्यौपाने, जिल्ला अध्यक्ष श्रीधर पोखरेल, काँग्रेस मकवानपुरका सभापति बुद्ध लामा, सचिव भीमसेन महत लगायत काठमाडौं पुगेका हुन् ।

शुक्रबार नै सभापति बानियाँको उपस्थितिमा बैठक बसेर गठबन्धनको भागबण्डाको विषय टुङ्ग्याउने तयारी रहेको स्रोतले जनायो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप