सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय

भक्तपुरमा गठबन्धनसहित एमालेलाई नेमकिपा एक्लै भारी !

एमाले र नेमकिपासँग नमिल्ने सत्ता गठबन्धनको नीति
शुक्रबार, ०९ वैशाख २०७९, ११ : २३
शुक्रबार, ०९ वैशाख २०७९

राजनीतिक रुपमा भक्तपुर जिल्ला सम्झनेबित्तिकै सबैभन्दा पहिला आउने ‘इमेज’ हो- नारायणमान बिजुक्छे र उनले नेतृत्वको गरेको पार्टी नेपाल मजदुर किसान पार्टी (नेमकिपा)  ।  कुनै समय नेमकिपाको संगठन र जनाधार काठमाडौँ उपत्यका बाहिर समेत बलियो थियो ।

 उनीहरुले निर्वाचन जितेर संसदभित्र समेत प्रवेश छिरे । तर, बिजुक्छेको उमेरसँगै उनले नेतृत्व गरेको पार्टी पछिल्लो समय भक्तपुर नगरपालिका क्षेत्रमा मात्रै सीमित भएको छ । संघीय निर्वाचनमा सांसद प्रेम सुवालले पनि भक्तपुर नगरपालिका क्षेत्र (निर्वाचन क्षेत्र नम्बर १) बाटै संघीय निर्वाचनमा विजय हासिल गरेका थिए ।

भक्तपुर नगरबाहेक सोही जिल्लाको अन्य तीन नगरपालिकामा संगठन भएपनि एक्लै चुनाव जित्ने जनमत देखिँदैन । यस्तै उपत्यका बाहिर नेमकिपाको हालत उस्तै छ । स्थानीय निर्वाचनको चर्चा गर्दा भक्तपुर नगरमा भने नेमकिपाविरुद्ध सत्ता गठबन्धन र नेकपा एमाले एक ढिक्का भएपनि जित्ने अवस्था छैन । यो क्षेत्रमा जनताको मत जित्दै नेमकिपा आफ्नो पकड राख्न सफल छ । त्यसैले सबै एक ढिक्का हुने हो भने नेमकिपानै भक्तपुरमा भारी हुने तथ्यांकले देखाउँछ ।

२०७४ को निर्वाचनमा भक्तपुर नगरपालिकामा कुल ५२ हजार ९३० मतदाता थिए । त्यसबाट  नेमकिपाबाट उम्मेदवार बनेका सुनिल प्रजापतिले २५ हजार ७३० मत र उपमेयरकी उम्मेदवार रजनी जोशीले २५ हजार ७११ मत ल्याएर विजयी भए । त्यो मत चुनावमा प्रतिस्पर्धा गरेका नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र सबैले प्राप्त गरेको मतभन्दा धेरै हो ।  अर्थात तीन दल एकढिक्का भएर नेमकिपाविरुद्ध उभिएपनि जित्ने मत पुग्दैन। तर, भक्तपुर नगर बाहेक नगरपालिका चाँगुनारायण, सूर्यविनायक र मध्यपुर थिमीमा भने नेमकिपा तेस्रो दलमा सीमित छ ।

काँग्रेस मध्यपुर थिमीमा पहिलो भएपनि चाँगुनारायण र सूर्यविनायकमा कडा प्रतिस्पर्धाका बीच दोस्रो दलमा सीमित छ । भक्तपुर नगरमा भने काँग्रेस दोस्रो भएपनि नेमकिपा भन्दा निककै तल छ । एमाले चाँगुनारायण र सूर्यविनायकमा पहिलो, मध्यपुर थिमीमा दोस्रो र भक्तपुर नगरमा तेस्रो छ । माओवादी चार वटै नगरमा चौथो दलको रुपमा रहेको छ।

अब भक्तपुरमा आगामी वैशाख ३० गतेको स्थानीय तहमा त्रिपक्षीय भिडन्त हुने सम्भावना छ। नेमकिपा, पाँच दलीय सत्ता गठबन्धन र नेकपा एमालेबीच प्रतिस्पर्धा हुने अवस्था छ। नेमकिपाले एमाले र पाँच दलीय गठबन्धनसंग चुनावी तालमेल नगर्ने भक्तपुर नगरका मेयर एवम् पार्टी नेता सुनिल प्रजापतिले बताए ।

 ‘हामीले भक्तपुरमा चुनावी गठबन्धन गर्ने सोचेका छैनौँ । त्यस विषयमा छलफल समेत चलेको छैन,’ रातोपाटीसँग कुरा गर्दै प्रजापतिले भने, ‘सायद नेमकिपा एकल रुपमा भक्तपुरमा प्रतिस्पर्धा गर्ने अवस्था हुन सक्छ। यद्यपि फाइनल भने भइसकेको छैन ।’

यस्तै नेपाली काँग्रेसका भक्तपुर सभापति दुर्लभ थापाले सत्ता गठबन्धन एमाले र नेकिपासँग तालमेल नगर्ने स्पष्ट पारे। ती दुबै पार्टी उस्ताउस्तै खालको अतिवादी भएको आरोप लगाउँदै उनले चुनावी तालमेल नहुने स्पष्ट पारे ।

‘हामी भक्तपुरमा गठबन्धनभित्र पहिलो दल हौँ । त्यसैले चार वटै नगरपालिकामा मेयर दाबी गरेका छौ,’ रातोपाटीसँग कुरा गर्दै थापाले भने, ‘अन्तिममा गठबन्धनमा सहमति गर्ने बेलामा माओवादी र एकीकृत समाजवादीलाई एक मेयर र उपमेयर गरेर चार पद दिने सहमति हुन सक्छ ।’ यद्यपि गठबन्धनभित्र चुनावी तालमेलका विषयमा छलफल भइरहेकाले टुंगो लाग्न नसकेको थापाले स्पष्ट पारे।

यसैगरी गठबन्धनमा सहभागी माओवादी केन्द्रका भक्तपुर अध्यक्ष सुनिल बासुले सबै दलको दाबी आ–आफ्नै भएकाले सहमति हुन केही दिन लाग्ने बताए। चुनावी तालमेलका विषयमा छलफल मोटामोटी सहमति भएकाले १÷२ दिनभित्रै टुंगो लगाएर घोषणा गरिने बासुले बताए ।

एमालेले पनि चार वटै नगपालिकाको उम्मेदवार टुंगो लगाएको छैन । चार वटै नगरपालिकामा उठ्ने उम्मेदवारको आकांक्षी धेरै भएपछि जिल्ला हुँदै प्रदेशमा पठाएको एमाले भक्तपुर अध्यक्ष बजन देउजाले बताए । पार्टीको प्रदेश कमिटीले मेयर र उपमेयरको टुंगो लगाएर पठाउने भएको छ । यस्तै एमालेले भक्तपुरमा राप्रपासँग चुनावी तालमेल गर्ने भएको छ । पार्टी केन्द्रले पत्र नै पठाएर चुनावी तालमेल गर्न निर्देशन दिएको छ। दुबैपक्षसँग छलफल गरेर चुनावी तालमेल गरिने नेताहरुले बताएका छन्।

भक्तपुर नगरमा एमाले र नेमकिपा विरुद्ध गठबन्धन एक ढिक्का भएर उभिने

भक्तपुर नगरपालिकामा नेमकिपाको तर्फबाट धेरै जनमुखी काम भएकाले   काँग्रेस, एमाले माओवादीले संगठन बनाएर हस्तक्षेप गर्न सकेका छैनन्। यसअघिको निर्वाचनमा कुल ५२ हजार ९३० मतदातामध्ये नेमकिपाबाट उम्मेदवार बनेका सुनिल प्रजापतिले २५ हजार ७३० मत र उपमेयरमा रजनी जोशीले २५ हजार ७११ मत ल्याएर विजयी भएका थिए। मेयर र उपमेरको मत अन्तर १९ मात्रै छ। त्यसले पनि नेमकिपाको मत संगठित रुपमा एकढिक्का छ।

यस्तै काँग्रेसका मेयर रामप्रसाद कासुलाले ६ हजार ५६० र उपमेयर गंगालक्ष्मी अवालले ६ हजार ५६० मत ल्याएर दोस्रो भएका थिए। यस्तै एमालेबाट मेयरमा उम्मेदवार भएका विष्णुप्रसाद सुवालले ४ हजार २१८ मत र उपमेयर कृष्णमाया त्वायनाबासुले ४ हजार ६३१ मत ल्याएर तेस्रो भएका थिए। माओवादी केन्द्रबाट मेयरका उम्मेदवार सत्यलाल मुल २ हजार ३१३ मत र उपमेयरका उम्मेदवार इन्द्रमाया सुवाल २ हजार १७० ल्याएका थिए।

नेमकिपा र एमालेसँग तालमेल नगर्ने घोषित नीति

नेपाली काँग्रेस भक्तपुर सभापति थापाले एमालेकै जस्तो प्रतिगमनकारी शैली नेमकिपामा रहेकाले दुई शक्ति (एमाले र नेमकिपा)का विरुद्ध गठबन्धन बनाइने  बताए। ‘पार्टीको घोषित नीति नै छ । एमालेजस्तो प्रतिगमनकारी पार्टीसँग चुनावी तालमेल गर्दैनौँ’, उनले भने, ‘भक्तपुर नगरमा एमाले जस्तै अर्को नेमकिपा शक्ति छ। त्यससँग तालमेल गर्दैनौँ ।’

‘एमाले र नेमकिपाविरुद्ध सत्ता गठबन्धन एकजुट हुन्छौँ । राम्रैसँग प्रतिरोध गर्छौँ’, उनले भने, ‘नगरपालिका भित्रका वडाहरुमा तालमेल गरे केही वडा जित्न सकिने गठबन्धनको आकलन छ।’

चाँगुनारायणमा क–कसको दावी ?

सत्ता गठबन्धनबाट चाँगुनारायण नगरपालिकाको मेयरमा माओवादी केन्द्र र एकीकृत समाजवादीले दाबी गरेको छ। काँग्रेसले उपमेयर पाए चित्त बुझाउने अवस्थामा  छ । यसअघि निर्वाचनमा एमालेबाट सोमप्रसाद मिश्रले ८ हजार ५१२ र उपमेयरमा विना बास्तोलाले ८ हजार ७७९ मत ल्याएर विजयी भएका थिए। त्यसैले एकीकृत समाजवादीले पहिलो मेयर आफूले पाउनुपर्ने दाबी गरेको छ। काँग्रेसबाट मेयरमा उम्मेदवारी दिएका राजाराम खड्काले ६ हजार ८६९ मत र उपमेयरकी उम्मेदवार राधा कार्कीले ७ हजार ४७६ मत ल्याएका थिए। त्यतिबेला काँग्रेस–एमालेबीच मुख्य प्रतिस्पर्धा थियो।

यस्तै नेमकिपाबाट मेयरमा नहुछेभक्त फोजुले ४ हजार ४४२ मत उपमेयरमा गीता काफ्लेले ४ हजार २२ मत ल्याएर तेस्रो भएका थिए। माओवादीबाट मेयरमा उम्मेदवारी दिएका शिवप्रसाद अधिकारी ७०६ मत उपमेयरमा लक्ष्मी खड्काले ७९८ मत ल्याएका थिए। चाँगुनारायणमा माओवादी चौथो दल हो। तरपनि चाँगुनारायणमा मयेर दाबी गरेको छ। यस नगरपालिकामा यसअघिको निर्वाचनमा कुल ३४ हजार ५८९ मतदाता थिए ।

सूर्यविनायकमा काँग्रेसको मेयर र एकीकृत समाजवादीको उपमेयरमा दाबी 

सत्ता गठबन्धनबाट सूर्यविनायक नगरपालिकामा काँग्रेसले मेयर र एकीकृत समाजवादीले उपमेयर दाबी गरेको छ। माओवादी केन्द्रले कुनै पद दाबी गरेको छैन। यसअघि निर्वाचनमा मेयर÷उपमेयर एमालेले जितेकाले उपमेयरमा एकीकृत समाजवादीले दाबी गरेको हो । काँग्रेसले भने यसअघि निर्वाचनमा एमालेसँग दोस्रो भई पराजित भएकाले मेयर आफूहरुले पाउनुपर्ने दाबी गरेको छ।

यसअघि निर्वाचनमा एमालेबाट मेयरका उम्मेदवार भएका बासुदेव थापा १२ हजार १३५ मत र उपमेयरमा जुना बस्नेत १२ हजार ८३२ मत ल्याएर विजयी भएका थिए। काँग्रेसबाट मेयरमा विष्णुराज कार्की १० हजार १६५ मत र उपमेयर कल्पना राजथला ८ हजार ९०७ मत ल्याएर दोस्रो भएका थिए। यस्तै नेमकिपाबाट मेयरका उम्मेदवार मनशोभा सुवालले २ हजार २८० मत उपमेयरमा महेन्द्र बखुन्छे २ हजार ६०७ मत ल्याएका थिए। माओवादीबाट मेयरमा उम्मेदवार दिएका जीवन तजले १ हजार ३८४ मत र उपमेयरकी उम्मेदवार पूण्यवती चौलागाईंले १ हजार ३८६ मत मात्रै ल्याएकी थिइन् । यस नगरमा यसअघि निर्वाचनमा कुल  ३७ हजार ९५७ मतदाता थिए।

मध्यपुर थिमीमा काँग्रेस र एकीकृत समाजवादीको मेयरमा दाबी

यस नगरपालिकाको मेयरमा काँग्रेस र एकीकृत समाजवादीले दाबी गरेको छ । यस्तै माओवादी केन्द्रले उपमेयर दाबी गरेको छ। यसअघि निर्वाचनमा एमाले र नेमकिपाले गठबन्धन गरेका थिए। गठबन्धनबाट एमालेका मदनसुन्दर श्रेष्ठ १३ हजार ६७८ मत ल्याएर मेयरमा निर्वाचित भएका थिए। यस्तै उपमेयरमा नेमकिपाबाट केदार खड्का ७ हजार ७६२ मत ल्याएर पराजित भएका थिए। काँग्रेसबाट मेयरमा अष्ट कवे १० हजार ८ सय ४६ मत ल्याएर पराजित भए। उनी दोस्रो मात्रै हुन सफल भए। काँग्रेसबाट उपमेयरमा अञ्जना देवी मधिकर्मी भने १० हजार ६७८ मत ल्याएर विजयी भएकी भइन् । माओवादीबाट मेयरमा प्रतिमा श्रेष्ठले १ हजार २३२ मत र उपमेयरमा सूचित्रा श्रेष्ठले १ हजार ९७१ मत मात्रै ल्याएकी थिइन् । यस नगरमा यसअघिको निर्वाचनमा कुल ३६ हजार ५४ मतदाता थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

वीरेन्द्र ओली
वीरेन्द्र ओली
लेखकबाट थप