सोमबार, ०१ पुस २०८१
ताजा लोकप्रिय

बारा, पर्सामा निर्वाचन केन्द्रित सुरक्षा रणनीति तयार

शुक्रबार, ०९ वैशाख २०७९, १० : ५२
शुक्रबार, ०९ वैशाख २०७९

स्थानीय तह निर्वाचनलाई केन्द्रित गर्दै बारा, पर्सा, रौतहट र मकवानपुरमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । छिमेकी मुलुक भारतसँग सीमा जोडिएका दुवै जिल्लामा हुनसक्ने सम्भावित घटनालाई लिएर सुरक्षा व्यवस्था कडा गरिएको सुरक्षा निकायका प्रमुखहरुले जनाएका छन् ।

बिहीबार बाराको निजगढमा बसेको अन्तर जिल्ला सीमा सुरक्षा समन्वय बैठकले स्थानीय तहको निर्वाचनलाई शान्तिपूर्ण, भयरहित, धाँदलीरहित ढंगले सम्पन्न गर्न पर्सा बारा, पर्सा र रौतहट जिल्लाका सीमा क्षेत्रहरुमा हुनसक्ने निर्वाचन विरोधी गतिविधि रोक्न प्रभावकारी सुरक्षाको व्यवस्था गर्ने निर्णय भएको छ ।

सोही बैठकले अवैध हातहतियार नियन्त्रण तथा आपराधिक क्रियाकलाप न्यूनीकरण गर्ने निर्णयसमेत गरेको छ । पर्साका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले निर्वाचन सुरक्षालाई लिएर जिल्लाको आन्तरिक सुरक्षा व्यवस्था तथा सीमा सुरक्षामा कडाई गरिएको बताए ।  

‘चुनावको बेला सुरक्षा नीति कडा रुपमा लागू गरेर जानैपर्छ,’ प्रजिअ ढकालले भने । सीमावर्ती क्षेत्रमा आपराधिक घटना नहोस्, अवैध हातहतियार ओसारपसार नहोस् भन्नका लागि निर्वाचन हुनुभन्दा ७२ घन्टा अगाडि नेपाल–भारत सीमा बन्द हुने उनले जनाए ।

पर्सामा जिल्लास्तरीय सुरक्षा समितिको बैठकबाट निर्वाचनमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, म्यादी प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी परिचालन गरेर निष्पक्ष र भयसहित ढंगले निर्वाचन गराउने तयारी भइरहेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

‘विगतका निर्वाचन अनुभवहरु जोडेर हामीले सुरक्षा रणनीति अख्तियार गरेका छौं, सुरक्षित र भयरहित वातावरणमा सबै जनताले मताधिकार प्रयोग गर्न पाउने सम्बन्धमा काम गर्छौं,’ प्रजिअ ढकालले भने, ‘कुन मतदान केन्द्र कस्तो स्थितिमा छ भनेर संवेदनशीलता वर्गीकरण गरेर अति समवेदनशील, समवेदनशील र सामान्य मतदान केन्द्र छुट्याएर सुरक्षाकर्मी खटाउने तयारी भइरहेको छ ।’

पर्साका १४ वटा स्थानीय तहमा १४ वटा निर्वाचन अधिकृत कार्यालय बिहीबारदेखि नै खुलिसकेका छन् । जिल्लामा ४ सय ४ वटा मतदान केन्द्रमा म्यादी प्रहरी सहितका सुरक्षाकर्मी खटिनेछन् । वैशाख ३० मा हुने निर्वाचनका लागि पर्सामा १ हजार ८ सय म्यादी प्रहरी भर्ना गरिएको छ ।

यता बारामा पनि निर्वाचन केन्द्रित सुरक्षा व्यवस्था कडा गरिएको सुरक्षा निकाय प्रमुखले जनाएका छन् । बाराको १६ वटा स्थानीय तहमा ५४१ वटा मतदान केन्द्र छन् । जसमध्ये अति समवेदनशील, समवेदनशील र सामान्य छुट्याएर सोही अनुसार सुरक्षाकर्मी परिचालन गरिने बाराका प्रजिअ कृष्ण प्रसाद कटुवालले जनाए ।

‘योजना अनुसार सुरक्षाकर्मी परिचालन गरेर निर्वाचन शान्तिपूर्ण, निष्पक्ष गर्नलाई हाम्रो प्रयत्न रहन्छ,’ उनले भने, ‘निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष,धाँधलीरहित र तटस्थ  बनाउन नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र म्यादी प्रहरी परिचालन हुन्छ ।’

प्रजिअ कटुवालले सुरक्षा कार्ययोजना बनाएर निर्वाचनमा हुनसक्ने हिंसात्मक क्रियाकलापलाई नियन्त्रण गर्न राजनीतिक दल र जनप्रतिनिधिहरूसँग छलफल भइरहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप