बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

महानगरबारे छलफल गर्न काँग्रेस बैठक बस्दै, विधान विपरीत उम्मेदवार छान्ने तयारी

शुक्रबार, ०९ वैशाख २०७९, ०८ : ४६
शुक्रबार, ०९ वैशाख २०७९

नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै छ । शुक्रबार दिउँसो २ बजे पार्टी कार्यालय सानेपा बस्ने बैठकमा स्थानीय तह निर्वाचनको उम्मेदवारी सम्बन्धमा छलफल हुने एजेण्डा छ । काँग्रेस प्रवक्ता प्रकाशशरण महतका अनुसार बैठकले महानगरपालिका  प्रमुख र उपप्रमुख गरी छ जना उम्मेदवार छान्ने छ ।

सत्ता गठबन्धनभित्र चुनावी तालमेलको सिट बाँडफाँटमा काँग्रेसको भागमा तीन महानगरपालिका मेयर र उपमेयर परेको छ । काँग्रेसले काठमाडौं, ललितपुर र विराटनगर महानगरपालिका प्रमुखमा गठबन्धनबाट साझा उम्मेदवारी दिँदै छ । यस्तै भरतपुर, पोखरा र वीरगञ्ज महानगरपालिका उपप्रमुखमा गठबन्धनबाट साझा उम्मेदवारी दिने छ ।

काँग्रेसले महानगरको टिक विधान विपरीत वितरण गर्न लागेको हो । केन्द्रीय संसदीय समितिले महानगरपालिकाका प्रमुख र उपप्रमुखको टिकट वितरण गर्ने व्यवस्था छ । तर संसदीय समिति गठन नभएकाले यसपटक केन्द्रीय कार्यसम्पादन समिति बैठकबाट महानगर उम्मेदवार चयन गर्ने तयारी काँग्रेसको छ । 

प्रवक्ता महतले तत्काल संसदीय समिति बनाउने अवस्था नरहेकाले केन्द्रीय कार्यसम्पादन समितिबाटै महानगरपालिका मेयर उप-मेयरको उम्मेदवार चयन गरिने रातोपाटीलाई बताए । 'महानगरका मेयर उपमेयर गरी ६ जना उम्मेदवार कार्यसम्पादन समितिबाटै हुन्छ । स्थानीय चुनावमा संसदीय समितिको काम महानगरपालिका प्रमुख/उपप्रमुखको टिकट वितरण गर्ने हो । अब त्यो कार्यसम्पादन समितिबाटै हुन्छ,' उनले भने ।

काँग्रेसले चैत दोस्रो साता बसेको केन्द्रीय समितिको बैठकमा केन्द्रीय संसदीय समिति गठनको एजेण्डा बनाएको थियो । उक्त बैठकमा संसदीय समिति गठनका लागि सभापति शेरबहादुर देउवाको रुची देखिएन ।  २५ सदस्यीय केन्द्रीय संसदीय समितिमा प्रमुख नेताहरुलाई समेट्न नसकिने अवस्था बनेपछि देउवाले ब्याक भएका थिए । काँग्रेसको केन्द्रीय संसदीय समितिको सभापति देउवा नै हुन्छन् । पार्टीका महामन्त्री स्वतः संसदीय समितिमा महामन्त्री हुने व्यवस्था छ । 

त्यसबाहेक सबै पदाधिकारीहरू समितिमा पदेन सदस्य हुन्छन् । सभापति देउवाले समावेशी सिद्धान्त समेतलाई ध्यानमा राखेर बढीमा ११ जना केन्द्रीय सदस्यहरूलाई समितिको सदस्यको रुपमा मनोनीत गर्न पाउँछन् । सभापतिद्वारा प्रस्तावित नेताको नाम केन्द्रीय समितिले अनुमोदन गर्नुपर्ने व्यवस्था छ । उक्त ११ जनामा ककसलाई समेट्ने भन्नेमा विवाद देखिएपछि सभापति देउवाले कार्यसम्पादन समितिबाटै संसदीय समितिको काम गर्ने बाटो रोजेको देखिन्छ ।

आफ्नो सजिलोका लागि पार्टीको विधान एकपछि अर्को गरी उल्लंघन गर्दै गएका छन् । काँग्रेसको विधानअनुसार उम्मेदवारको मनोनयनको मितिभन्दा एक महिना अगावै पार्टीका उम्मेदवारको टुंगो लगाउने व्यवस्था छ । तर काँग्रेसले त्यसको पालना गरेको छैन ।

उम्मेदवारी दर्ताको दुई दिनअघि मात्र काँग्रेसले उम्मेदवारी चयनका लागि बैठक बस्दै छ । काँग्रेसले यसअिघ राष्ट्रियसभा उम्मेदवार पनि विधान विपरीत उम्मेदवार चयन गरेको थियो । १३ औँ महाधिवेशनपछि विधान विपरीतको बाटोमा हिँडेका देउवाले १४ औँ महाधिवेशनपछि सोही पथ पछ्याएका छन् ।

पार्टीलाई विधान विपरीत चल्न नदिने बाचा गरेर पदाधिकारी बनेकाहरू निरीह देखिएका छन् । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पनि विधान विपरीत हुने निर्णयको मुख्य मतियार बनेका छन् । उनीहरुले आलोपालो विधान विपरीतका प्रस्ताव बैठकमा प्रस्तुत गरिइरहेको अवस्था छ ।

 



 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप