बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

जीतपुर सिमरा उपमहानगर प्रमुखमा माओवादी केन्द्रबाट पौडेलको नाम सिफारिस

बिहीबार, ०८ वैशाख २०७९, १७ : ५५
बिहीबार, ०८ वैशाख २०७९

जीतपुर सिमरा उपमहानगर प्रमुखमा माओवादी केन्द्रको तर्फबाट राजन पौडेलको नाम सिफारिस भएको छ । माओवादी केन्द्रको नगर कमिटी बैठकले बुधबार पौडेलको नाम सर्वसम्मत रुपमा निर्णय गरेर पठाएको हो । माओवादी केन्द्रका जीतपुर सिमरा नगर कमिटी अध्यक्ष प्रेम बरालले नगरप्रमुखमा पौडेलको नाम पठाएको जानकारी दिए । ‘नगरकमिटी बैठकमा सबैको सहमतिमा राजन पौडेलको एक्लो नाम सिफारिस गरेर जिल्ला र प्रदेश इन्चार्जलाई पठाइसकेका छौं,’ उनले भने ।

उपमहानगरको प्रमुखका लागि माओवादी केन्द्रको तर्फबाट संविधानसभा सदस्य जयराम दहाल, केन्द्रीय सदस्य क्षेत्रबहादुर श्रेष्ठ (अनिल), मधेस प्रदेश सदस्य गीता कंडेल, वडाध्यक्ष रामशरण बर्तौलासहित १० जनाले दाबी गर्दै आएका थिए । तर, अन्त्यमा अधिकांश नगरकमिटी सदस्यहरुले पौडेलको नाम सिफारिस हुनुपर्छ भनेर दबाब दिएपछि उनको एक्लो नाम सिफारिस गरेर पठाइएको अध्यक्ष बरालले जनाए ।

पौडेलले २०७४ को निर्वाचनमा नगरप्रमुखमा ११ हजार २५१ मत ल्याएका थिए । २०७४ मा नगरप्रमुखमा पराजित भए पनि पौडेलले यो अवधिमा राजनीति तथा सामाजिक क्षेत्रमा सक्रिय रहेको भन्दै उनलाई प्रमुखमा सिफारिस गर्न छलफलमा सहभागी ५८ जना नगरकमिटी सदस्यमध्ये ५७ जनाले सिफारिस गरेको श्रोतले जनाएको छ ।

माओवादी केन्द्रका बारा जिल्ला अध्यक्ष क्षेत्रबहादुर श्रेष्ठ (अनिल)ले भने राजन पौडेलसहित अन्य दाबेदारहरुको पनि नाम सिफारिस गरिएको बताएका छन् । ‘पौडेलजीको एक्लो नाम सिफारिस गएको भन्ने गलत हो, हामीले मसहित अन्य आकांक्षीको पनि नाम पठाएका छौं,’ जिल्ला अध्यक्ष श्रेष्ठले भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप