शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘अर्थतन्त्र बिग्रनुमा केपी शर्मा ओली पनि दोषी छन्’

बिहीबार, ०८ वैशाख २०७९, १४ : ५३
बिहीबार, ०८ वैशाख २०७९

अर्थविद्हरूले देशको अर्थतन्त्र बिग्रनुमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली पनि दोषी भएको बताएका छन् । नेपाल बुद्धिजीवि परिषद्ले बिहीबार आयोजना गरेको कार्यक्रममा बोल्दै पूर्वगभर्नर तिलक रावलले अर्थतन्त्र बिग्रनुमा वर्तमान प्रधानमन्त्री र अर्थमन्त्री मात्रै दोषी नरहेको बताएका हुन् । ‘निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार छाड्दा अर्थतन्त्र अब्बल स्थितीमा रहेको थिएन,’ उनले भने, ‘ओलीले छाड्दा पनि देशको अर्थतन्त्रको स्थिति नकरात्मक नै थियो ।’

त्यसैले, अर्थतन्त्र बिग्रनुमा वर्तमान सरकार मात्रै दोषी नभएको रावलको भनाइ थियो । देशको अर्थतन्त्र अनियन्त्रित आयात मूख्य कारण रहेको र यसलाई घटाउनै पर्ने बाध्यता हाम्रो सामू रहेको रावलको भनाइ छ । यसैगरी, उत्पादनमूलक उद्योगलाई प्रोत्साहन गरेर निर्यात वृद्धिमा समेत जोड दिइनुपर्ने उनले बताए ।

यस्तै, पूर्व अर्थसचिव रामेश्वर खनालले एकले अर्कालाई दोष देखाउनुभन्दा पनि मिलेर समाधान खोज्नुपर्ने बताए । उनले आरोप/प्रत्यारोपणमा उत्रनुभन्दा समस्या समाधानतर्फ अघि बढ्नुपर्ने समेत बताए । कोभिड–१९ महामारीको समयमा उद्योगहरूले राखेको कच्चा पदार्थको मौज्दात सकिएको र महामारी नियन्त्रणतर्फ आएपछि आयात बढाउँदा समग्र आयात बढेको देखिएको खनालको भनाइ छ ।

यसैगरी, देशको कूल गार्हस्थ उत्पादन र सबैभन्दा बढी रोजगारी दिएको क्षेत्र कृषि प्राथमिकतामा नपर्दा आयात बढेको खनालले बताए । ‘नेपाललाई कृषि प्रधान देश भनिन्छ । तर, खर्बौं रुपैयाँको कृषि सामाग्री र खाद्यान्न आयात हुन्छ,’ खनालले भने, ‘यसबाट देशको समग्र अर्थतन्त्र नै धरासायी बनेको छ ।’ यही गतिमा आयात भइरहे र पर्यटन तथा रेमिट्यान्स नसुध्रिएमा देशको अर्थतन्त्र श्रीलंकाकै जस्तो बन्ने सम्भावना समेत रहेको खनालले बताए ।

परिषद्का अध्यक्ष दिनेशचन्द्र देवकोटाले पेट्रोलियम पदार्थको आयात ह्वात्तै बढ्दा र अन्तर्राष्ट्रिय बजारमा यसको मूल्य बढ्दा भुक्तानी सन्तुलनमा चाप परेको जानकारी दिए । यसका साथै, खाद्यान्नको आयात समेत निरन्तर उकालो लाग्दा तथा विदेशी पर्यटक नआउँदा विदेशी मुद्रा आर्जनको स्रोत रोकिएपछि डलरको सञ्चितीमा चाप परेको देवकोटाले बताए । योजना आयोगका पूर्व उपाध्यक्ष समेत रहेका देवकोटाले आयात नियन्त्रण गर्नु र उत्पादन बढाउनु नै अर्थतन्त्रमा देखिएको समस्याको समाधान भएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप