शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

भरतपुर महानगर माओवादी केन्द्रको भागमा परेपछि के भन्छन् काँग्रेसका स्थानीय नेता ?

बिहीबार, ०८ वैशाख २०७९, १२ : ०३
बिहीबार, ०८ वैशाख २०७९

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्तारुढ गठबन्धनको केन्द्रीय संयन्त्रले महानगरपालिका र उपमहानगरपालिकाको भागबण्डा टुङ्ग्याए लगत्तै नेपाली काँग्रेसका नेता–कार्यकर्ता दुई ध्रुवमा विभाजित भएका छन् । महानगरको मेयरमा दाबी गर्दै आएको काँग्रेस उपमेयरमा सीमित हुने भएपछि एउटा पक्षले केन्द्रमा भएको सहमति पालन गर्नुपर्ने बताउँदै आएको छ भने अर्को पक्षले असन्तुष्टि जनाएको छ ।

सत्तारुढ गठबन्धन घटकका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले भने केन्द्रको निर्देशन पालना गर्नु सबैको दायित्व हुने बताउँछन् । नेकपा माओवादी केन्द्र चितवनका सचिव द्रोण शिवाकोटीले पार्टीको निर्णय नमान्ने कार्यकर्ता हुनै नसक्ने बताए । उनले केन्द्रले गरेको निर्णय र निर्देशन पालना गरेर गठबन्धनमा भागबण्डा भएअनुसारका उम्मेदवारलाई जिताउन सबै दलका आम कार्यकर्ता र मतदाता लाग्नुपर्ने बताए ।

‘पार्टीको निर्णय नमान्ने कार्यकर्ता हुनै सक्दैन, त्यो चाहे माओवादी केन्द्रमा होस् वा काँग्रेसमा,’ उनले भने, ‘सबै दलका कार्यकर्ताले पार्टी केन्द्रको निर्णय मानेर अघि बढ्नु पर्छ भन्ने हो ।’ पार्टीको केन्द्रबाट प्राप्त भएको निर्देशन अनुसारको निर्णय कार्यान्वयन गर्ने काम जिल्ला तहको नेतृत्वको भएकाले त्यसतर्फ केन्द्रित हुनुपर्ने उनले बताए ।

‘केन्द्रको निर्णय कार्यान्वयनका लागि गठबन्धनका दलहरूको जिल्ला नेतृत्वले आफ्नो भूमिका निर्वाह गर्नेछ । सबै दलका कार्यकर्ताहरु गठबन्धनको केन्द्रले गरेको निर्णयमा प्रतिवद्ध रहनुपर्छ,’ उनले भने, ‘गठबन्धनको बारेमा जिल्लामा दलहरूको छलफल चलिरहेको छ । कसैको मन दुख्ने अवस्था बन्दैन । सौहार्दपुर्ण वातावरणमा हामी अघि बढ्छौँ ।’

यता नेकपा एकीकृत समाजवादी पार्टीका चितवन अध्यक्ष कृष्णराज पन्तले गठबन्धन दलका कार्यकर्ताबीच भागबण्डा र उम्मेदवारीका बारेमा मतभेद हुनु सामान्य भएको बताए । उनले सबै पार्टीभित्र रहेका कार्यकर्ताको आफ्नै इच्छा चाहना हुने भएकाले त्यसलाई जटिल रुपमा हेर्न नहुने बताए ।

‘पार्टीभित्र मतभेद हुनु सामान्य कुरा हो । सबैको इच्छा हुन्छ, त्यसलाई त्यति जटिल रुपले हेर्नु हुँदैन,’ उनले भने, ‘एउटा पार्टी मिलाउन त समस्या हुन्छ । यो त गठबन्धन हो । थोर बहुत समस्या हुन्छ नै । तर त्यसले मतमै समस्या पर्छ भन्ने हुँदैन । गठबन्धनका उम्मेदवार हार्ने अवस्था बन्छ भन्ने हुँदैन ।’

भरतपुरका सबै दलका कार्यकर्ता र आम मतदाताले अहिलेको परिस्थिति र गठबन्धनको आवश्यकता बुझेकाले निर्वाचनमा समस्या नहुने उनले बताए । ‘अहिलेको परिस्थिति र गठबन्धनको आवश्यकता आम कार्यकर्ता र मतदाताले बुझ्नुभएको छ नि । यो गठबन्धन केका लागि भन्ने कुरा सबै कार्यकर्तालाई थाहा भएरै पार्टीको वडा तहमै गठबन्धनको छलफल भइरहेको छ । त्यसैले यसले खासै असर गर्दैन,’ उनले भने ।

केन्द्रको निर्णय स्वीकारेर जानु नै उचित हुन्छ– चित्रसेन अधिकारी 

काँग्रेसबाट मेयर पदका आकांक्षी रहेका चित्रसेन अधिकारीले पार्टीको निर्देशन सबैले मान्नु पर्ने बताए । उनले पार्टीले दिएको निर्देशन मान्दिनँ भन्न कसैलाई पनि छुट नरहेकाले त्यसलाई स्वीकार गरेर अघि बढ्नुपर्ने प्रस्ट पारे ।

उनले भागबण्डाको विषयमा निर्णय नहुँदासम्मको अवस्थामा काँग्रेसले आन्तरिक संघर्ष गरेर केन्द्रलाई दबाब दिनु उचित भए पनि निर्णय भइसकेपछि त्यसलाई स्वीकार गरेर कार्यान्वयनमा जानुपर्ने बताए ।

‘हिजोको दिनसम्म एउटा संघर्ष चलेको थियो । विगतमा भरतपुरको मेयरमा काँग्रेसले माओवादी केन्द्रलाई सहयोग गरेको र यस पटक काँग्रेसलाई सहयोग गर्नुस् भन्नु गलत थिएन । त्यो स्वाभाविक नै हो,’ उनले भने, ‘अब पार्टी केन्द्रले एउटा निर्णय गरेर पठाइसकेपछि त्यसको कार्यान्वयन मुख्य कुरा हुन्छ । हामीले त्यसलाई कार्यान्वयन गर्नुपर्छ ।’

आफू काँग्रेसबाट मेयर पदको आकांक्षी भए पनि पार्टीको निर्णय मान्नुको विकल्प नरहेको उनको भनाइ छ । ‘म पनि मेयरको आकांक्षी हुँ । अब पार्टीले गठबन्धन गर्दा माओवादी केन्द्रको भागमा भरतपुर परिसकेपछि मैले त्यसलाई मान्नु पर्छ । हामी पार्टीका इमान्दार कार्यकर्ता हौं । हामी प्रतिवद्ध भएर चुनावमा सहभागी हुनुपर्छ,’ उनले भने ।

गठबन्धनको निर्णय भइसकेपछि त्यसलाई सबैले इमानदार भएर मान्नुपर्नेमा जोड दिँदै उनले त्यसका लागि जिल्ला तहमा गठबन्धनको संयन्त्रबीच छलफल जारी रहेको बताए ।

नेतृत्व लिन माओवादी केन्द्रले षड्यन्त्र गरिरहेको छ : दिनेश कोइराला

भरतपुर महानगरपालिकाको मेयरमा काँग्रेसबाट आकांक्षी रहेका दिनेश कोइरालाले भरतपुरमा माओवादी केन्द्रले नेतृत्व पाउन र चुनावमा काँग्रेसको समर्थनको प्रयासका लागि षड्यन्त्र भइरहेको बताए । उनले भरतपुरको मेयरमा माओवादी केन्द्रलाई समर्थन गरेर काँग्रेसले कार्यकर्ताहरुलाई घात गर्न नसक्ने बताए ।

भरतपुरका जनताको चाहना र काँग्रेस चितवन तथा महानगरपालिकाका २९ वटै वडा समितिहरुले मेयर पदमा नेपाली काँग्रेसकै उम्मेदवार माग गरेको स्मरण गर्दै उनले सोही निर्णय अनुसार काँग्रेसले उम्मेदवारी दिनुपर्ने विचार व्यक्त गरे ।

पार्टीका तल्लो समितिले गरेका निर्णयलाई केन्द्रले काट्न नमिल्ने उनको भनाइ छ । काँग्रेस देशकै अगुवा पार्टी भएकाले केन्द्रकै निर्णय तल्लो तहमा लाद्ने काम गर्न नहुने उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप