ad
x

गणतन्त्रको सुन्दर पक्ष

person explore access_timeबैशाख ८, २०७९ chat_bubble_outline0

२४० वर्षसम्म राजाले शासन गर्दा नेपाल अधिराज्य कहलिन्थ्यो । अधिराज्यबाट मुलुक गणराज्य बनेको छ । रैती वा प्रजाबाट जनता नागरिक बनेका छन् ।  यो एउटा युगान्तकारी परिवर्तन हो  । राजाको सन्तान गँजेडी नसेडी, जुवाडे वा यौन पिपासु जस्तो भए पनि राजा हुने वा जनताको शासक हुने दिनहरू समाप्त भएका छन् ।  हो, आधुनिक नेपालमा महेन्द्र, वीरेन्द्र जस्ता राजाहरू पनि भए, जसले मुलुकमा केही राम्रा कामहरू गरे तर ती अपवाद थिए । राजतन्त्रमा राजा, दरवारिया, अञ्चलदेखि गाउँ पञ्चायतसम्मका पञ्चहरूका बारेमा समेत जनताले प्रश्न उठाउने अधिकार थिएन । अब जनताले आफूलाई लागेका कुराहरू भन्ने र  मुलुकको राष्ट्रपतिदेखि विभिन्न दलका नेताहरू र स्थानीय वडाध्यक्षसम्मको आलोचना गर्ने अधिकार पाएका छन् । यो गणतन्त्रमा मात्र सम्भव भएको हो । 


गणतन्त्र आएता पनि मुलुकमा नेतृत्व केन्द्रीकरणको समस्या लामो समयदेखि कायमै छ । रुखका पात फेरिएजस्तै सरकारहरू फेरिनुले यसैलाई सङ्केत गर्दछ । गणतन्त्र एउटा अवसर हो भने नेतृत्व विकेन्द्रीकरण हुन नसक्नु एउटा चुनौती हो । यो चुनौतीलाई अवसरमा बदल्न सक्ने हो भने नेपाललाई सबै हिसाबले समृद्ध बनाउन सकिन्छ । 



 चुलो चौकामा सीमित महिलाहरू राज्यको शीर्ष स्थानमा पुग्नेछन् भनेर केही दशक पहिलेसम्म कसैको पनि कल्पनामा थिएन ।   महिलाहरूलाई दोस्रो दर्जाको नागरिक ठानिने गरिएको थियो । शायद विश्वमै पहिलो मुलुक नेपाल हो, जहाँ राज्यका शीर्ष स्थानमा महिलाहरू पुग्न सफल भएका छन् । मुलुकमा महिला राष्ट्रपति छन् । केही वर्ष पहिलेसम्म महिला नै सर्वोच्च अदालतमा मुख्य न्यायाधीश थिइन् । अहिले पनि सर्वोच्च अदालतको उच्च ओहोदामा महिला न्यायाधीशहरू छन् । संसद्को सभामुख र उपसभामुखमा महिलाहरू पुग्न सफल भएका छन् । केही दिन पहिले नीलम ढुङ्गाना नेपाल राष्ट्र बैंकको ६० वर्षको इतिहासमा डेपुटी गभर्नरमा नियुक्त भइन् । विश्वकै सबैभन्दा कठोर दौड अल्ट्रा म्याराथुनमा नेपालकी चेली मीरा राईले झण्डा गाडेकी छन् । महिलाहरू वर्षमा करोडौं आयआर्जन गर्ने बैंकका सिइओ छन् । महिलाहरूले मात्र सञ्चालन गरेका बैंक शाखाहरू छन् ।  महिलाहरू राजदूतमा नियुक्त भएका छन्  र विदेशी नियोगमा पदस्थ थुप्रै महिला अफिसरहरूले आफ्नो दायित्व कुशलतापूर्वक निर्वाह गरिरहेका छन् । केही दशक पहिलेसम्म कसैले पनि कल्पना गरेको थिएन कि महिलाहरू ठुलो सङ्ख्यामा सांसद, मन्त्री बन्ने छन् । 



हरूवा, चरुवा र कमलरी भएर काम गर्न बाध्य पारिएका सीमान्तकृत समुदायबाट ठुलो सङ्ख्यामा प्रतिनिधिहरू राज्यको महत्त्वपूर्ण ओहदामा पुग्नेछन् भनेर पनि मानिसहरूले कल्पना गरेका थिएनन् । यी सबैबाट स्पष्ट हुन्छ कि  महिला अधिकार र महिला जागरणको क्षेत्रमा नेपाल विश्वमै अब्बल छ । थप अधिकार प्राप्तिको लागि र राज्यका विभिन्न निकायमा ५० प्रतिशत महिला आरक्षणका लागि महिलाहरूको संघर्ष जारी छ । 



 पञ्चायत कालमा मात्रै होइन, बहुदल कालमा पनि मधेसलाई नेपाल नै नठान्ने र मधेसवासीहरूलाई नेपाली नै नमान्ने प्रवृत्ति जब्बर थियो । अब त्यो स्थितिको अन्त भएको छ । मधेसीलाई नेपाली नठान्ने प्रवृत्तिमाथि जबरजस्त प्रहार भएको छ । इतिहासमा पहिलो पटक मधेसपुत्र डा रामवरण यादव राष्ट्रपति बन्न पुगे  । आज मधेस राज्य र समाजको मूलधारमा आएको छ । त्यसै गरी आदिवासी जनजाति र अन्य सीमान्तकृत जातिहरू राज्यको नीति निर्माण गर्ने थलोमा पुगेका छन् ।  नेपालको इतिहासमा पहिलो पटक जनजाति पुत्र छत्रमात्र गुरुङ प्रधान सेनापति बने । 



गणतन्त्रमा  दलितहरू मन्त्री र प्रदेशका प्रमुख बनेका छन् ।  सचिव र सिडियो जस्ता ठुला ठुला ओहदामा दलितहरूको पहुँच सम्भव भएको छ  । पञ्चायत र बहुदल कालमा अपवादस्वरुप मात्र केही दलितहरू राज्यका ओहदामा पुग्ने गर्दथे । अछुत ठानिएको दलित समुदाय अब समाज र राज्यको मूलधारमा आएको छ । तर पनि दलितहरूलाई पूर्ण अधिकार प्रदान गर्ने काम, छुवाछुतको पूर्ण समाप्ति र विभेदको अन्त गर्नका लागि अझ धेरै कामहरू हुन बाँकी छ ।



मुलुकले लोडसेडिङबाट मुक्ति पाएको छ । अन्तरराष्ट्रिय एअरपोर्टलगायत अनेकौं राष्ट्रिय गौरवका विकास आयोजनाहरू अगाडि बढेका छन् । गणतन्त्रको अर्को एउटा महत्त्वपूर्ण उपलब्धि यो हो कि आज  के हिमाल, के तराई, के पूर्व, के पश्चिम सबै तह र तप्काका जनतामा अभूतपूर्व जागरण आएको छ । उनीहरू आफ्ना हक अधिकारका लागि सजग र सचेत बनेका छन् । जनतामा मुलुकको विकास किन हुन सकेन भन्ने पिरलो र चेतनाको जबरजस्त विकास भएको छ । यो सबै गणतन्त्रको देन हो । 

पञ्चायतकालमा देशको विकास गर्ने ठेक्का केन्द्रमा राजा र मुठ्ठीभर दरवारिया, अञ्चलमा अञ्चलाधीश, जिल्लामा सिडिओ र गाउँमा पञ्चहरूले मात्र लिएका थिए । आज आम जनताका हजारौं हजार जनप्रतिनिधिहरू मुलुकको विकास र समृद्धिका लागि अहोरात्र खटिएका छन् । जनताको पक्षमा काम नगर्ने वा भ्रष्टाचारमा लिप्त जनप्रतिनिधिहरूलाई जनताले चुनावमार्फत् सहजै फेर्न सक्ने लोकतान्त्रिक  व्यवस्था विद्यमान छ । 

कुनै पनि मुलुकको समग्र विकास तबमात्र सम्भव हुन्छ, जब मुलुकको राजनैतिक, आर्थिक, सामाजिक र सांस्कृतिक रुपमा रुपान्तरण हुन्छ । माथि उल्लेख भएअनुसार गणतन्त्रमा दबिएका जनता अधिकारसम्पन्न भएका छन् । तर यो परिवर्तन राज्यको उपरी संरचनाको अर्थात् ‘सुपरस्ट्रक्चर’को मात्र परिवर्तन हो । राज्य र समाजको आधार परिवर्तन विना सुपरस्ट्रक्चरको परिवर्तन अधुरो रहन्छ । यही कारण हो कि आज मुलुकमा बेरोजगारी, विदेश पलायन र व्यापार घाटा बढ्दो छ । यी सबै समस्याहरूको समाधान नगरी मुलुकको उपरी संरचनाको परिवर्तन अधुरो रहन्छ । उपरी संरचनामा परिवर्तन गर्ने काम भएपछि अब आधार बदल्ने काम मुख्य हुन आउँछ  । आधारमै परिवर्तन ल्याउनु भनेको उत्पादक शक्तिहरूको विकास गर्नु र उत्पादन सम्बन्धलाई आवश्यकतानुसार बदल्नु हो । अर्थात् कृषि, उद्योग, व्यापार, पर्यटन आदि क्षेत्रको विकासबाट स्वदेशमा रोजगारी सिर्जना गरेर विदेश पलायन भइरहेको जनशक्तिलाई स्वदेशमै रोजगारी प्रदान गर्नु हो । ‘बेस’मा परिवर्तन ल्याउनु भनेको नेपाललाई समृद्ध र सबल बनाउनु हो । 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।