ad
x

प्रेरक प्रसङ्ग : बालक ऐतरेयको विद्वता

person explore access_timeबैशाख ८, २०७९ chat_bubble_outline0

ऋग्वेदीय ऐतरेय ब्राह्मण गन्थको वैदिक साहित्यमा उच्चतम स्थान छ । आत्मा र परामात्मा तथा जीवन र जगतलाई राम्ररी बुझाउन सक्ने यस ग्रन्थमा ४० अध्याय छ । यसै ग्रन्थको आरण्यक भागका केही अध्यायलाई ऐतरेयोपनिषद् भनिन्छ तर त्यही ग्रन्थका लेखक ऐतरेय भने सानामा मन्द बुद्धिका थिए । उनका बाबुको नाम माण्डुकि थियो भने आमालाई इतरा भनिन्थ्यो ।


सायद तत्कालीन समाज मातृप्रधान थियो । सन्तानका नाम प्रायः आमाकै नामबाट राख्ने गरिन्थ्यो । पुरुष प्रधान समाजमा सन्तानको नाम बाबुको नामको आधारमा राखिन्छ । अहिलेसम्म पनि उपनाम बाबुसितै सम्बन्धित छ । कतैकतै नाममै पनि तीन पुस्तासम्मका  नाम जोडिने गरेको पाइन्छ ।  



जे होस् मातृप्रधान समाजमा सन्तानको नाममा आमाको नाम जोडिने गथ्र्यो । ऐतरेयको नाममा पनि यस्तै भएको छ । आमाको नाम इतरा भएकाले यसैको आधारमा उनको नाम ऐतरेय रहेको हो । व्याकरणशास्त्रको सिद्धान्त अनुसार इतराका सन्तान ऐतरेय कहलाउँछन् ।

बाबु माण्डुकि लामो समयसम्म सन्तान नभएर चिन्तित थिए । यस निम्ति निकै जपपूजा तथा यज्ञ अनुष्ठान पनि नगरेका होइनन् । तथापि केही नलागेपछि अन्त्यमा कठिन तपस्याको बाटो अप्नाए । प्रारब्धकै खेल मान्नुपर्छ तपस्याका बलमा उनलाई सन्तान प्राप्ति त भयो तर बले ‘वासुदेव’ बाहेक अर्को शब्द उच्चारण गर्नै सकेनन् ।

आठवर्षको उमेरमा बाबु माण्डुकिले व्रतबन्ध गरी वेद पढाउन सुरू गरे तर ऐतरेयले भने सोही वासुदेव बाहेक अर्को शब्द बोल्नै सकेनन् । जति प्रयास गर्दा पनि केही नलागेपछि दिक्क भएर बाबुले असल सन्तान खातिर अर्को विवाह गरे । अर्की पत्नीबाट जायजन्म भएपछि बिस्तारै ऐतरेय परिवारबाट तिरस्कृत हुन थाले । बाबु जीवित छउन्जेल जेनतेन चलेको थियो तर उनको शेषपछि भने घरबाटै निकालिए ।

त्यसपछि उनी कुनै एक मन्दिरमा गएर रहन लागे । दिनभर मन्दिरमा बसेर वासुदेव नामको जप गर्थे, दयाले कसैले केही दिए खान्थे नभए भोकै बस्थे । उनलाई न कसैसँग केही भन्नु थियो, न गुनासो नै गर्नु थियो । छोराको दुःख इतराले सहन सकिनन् र आफूसमेत त्यहीँ आएर बस्न लागिन् तर उनलाई भने त्यसले समेत कुनै प्रभाव पारेन । छोराको एकोरो स्वभाव देखेर एक दिन इतराले सम्झाउँदै भनिन्–

‘बाबु ऐतरेय ! घरपरिवार तथा समाज सबैतिरबाट अपहेलित छौ । तिम्रै कारणले मैले समेत अपहेलत हुनुपरेको छ । न बोल्छौ, न कुनै कामधन्दा सोच्छौ । यसरी कति दिन चल्छ ? जीवन बिताउने कुनै बाटो खोज्नु पर्दैन ? जिवित छउन्जेल त जेनतेन हेरचाह गरुँली । डाँडँमाथिको घाम कति टिकौँली र ।  मेरो शेषपछि के होला भन्ने चिन्ताले खाइरहेको छ । विन्ती छ बाबु ! कुनै कमाइ धमाइको बाटो समाऊ । विवाह गरी घरजम गर ।’

आमाको कुराले उनलाई छायो, टाउको उठाएर हेरे । आँखाबाट आसु बगिरहेको रहेछ । त्यसपछि आपूmलाई समाल्न सकेनन् र सम्झाउँदै भने–

‘माताजी ! मेरो चिन्ता छाड्नुस् । संसार यस्तै हो । कसको कुरा काटिएको छैन र कहिले कुरा काटिएको छैन । कुरा काट्नकै लागि संसार हो । कसले के भन्यो भन्नेतिरभन्दा आफूले के भनिएको छ भन्नेतिर ध्यान दिनु बुद्धिमानी हुन्छ । संसारमा मान पनि छ, अपमान पनि छ । त्यसको पछि लाग्न थाले त्यतै हराइन्छ । मानको पछि लाग्दा राग बढ्छ, अपमानको पछि लाग्दा द्वेष । यी दुवै दुःखका बाटा हुन् । यी दुवैबाट पर हटेर भगवान्को भक्तिमा लाग्नु नै सुखको बाटो हो । म आफैँमा बहिरो छैन, जस्तो तपाईँहरूले सोच्नुभएको छ । सांसारिक दुःखबाट बच्नकै लागि यस्तो नाटक गरेको हुँ । को–सले के–के भनेका छन् त्यो पनि थाहा छ, को–कसले के–के गरेका छन् पनि थाहा छ तर मैले त्यतातिर ध्यानै दिएको छैन । सुन्यानसुन्यै गरी र देख्यानदेख्यै गरी टारिदिएको छु । 

संसार भगवान्का लीला हुन् । बनाउने पनि उनै हुन्, बिगार्ने पनि उनै हुन् । कहिले हसाउँछन् कहिले रुवाउँछन् पत्तै हुँदैन तर उनको पछि लाग्ने हो भने, उनले देखाएको बाटोमा हिँड्ने हो भने पार लगाउन पनि उनैलाई कर लाग्छ । जन्म दिनेले कर्म पनि दिएकै हुन्छन् । मेरो बिन्ती लाग्छ भने तपाईँ पनि यही हरिभजनको बाटोमा आउनुस् ।’

आमाछोराबीच यस्तै वार्ता चलिरहेको बेला अकस्मात् भगवान् प्रकट भई भन्न लागे–

‘बाबु ऐतरेय ! तिम्री आमाले ठीकै भनेकी छिन् । विवाह पनि गर्नुपर्छ, घरजम पनि गर्नुपर्छ । भक्ति मात्र गरेर पुग्दैन, कर्म पनि गर्नुपर्छ । कर्म मात्र गरेर पनि पुग्दैन भक्ति पनि गर्नुपर्छ ।  यही नै जीवन जिउने कला हो । अनि यही नै स्वधर्म पनि हो, स्वकर्म पनि हो । बाँच्नका  लागि यी दुवै चाहिन्छ ।

स्वधर्म भनेको सेवा हो, जसमा बाबुआमा, बन्धुवान्धव, बालक, वृद्ध, रोगी, दीनदुःखीका साथै देवता, पितृ, अतिथि, योगी, सन्यासी, पशुपक्षी, कीराकमिला, रुखबिरुवा, वनस्पति आदिका सेवा पर्छन् । कर्म भनेको सेवाका लागि चाहिने चीज प्राप्त गर्ने कार्यमा लाग्नु हो । सेवाका लागि स्वस्थ्य पनि चाहिन्छ, सम्पत्ति पनि चाहिन्छ, संस्कार पनि चाहिन्छ, सहयोग पनि चाहिन्छ । यिनै चीज प्राप्त गर्ने कार्यमा लाग्नु नै स्वकर्म हो ।

तत्कालै कोटितीर्थमा जाऊ, जहाँ हरिमेधा नामक यज्ञ भइरहेको छ । त्यहीँ तिमीलाई कर्म पनि मिल्नेछ धर्म पनि मिल्नेछ । हो, तिमीले वेद पढेका छैनौ तर चिन्ता नगर मेरो आशीर्वाद छ चाँडै नै विद्या र बुद्धिमा पारङ्गत हुनेछौ ।’

यति भनेर भगवान् अन्तर ध्यान भए । उनीहरूले कोटितीर्थमा पुगेर ऋषिहरूको वन्दना गरे । ऐतरेयको विनय र बौद्धिक चातुर्य देखेर ऋषिहरू प्रभावित भए । श्रद्धापूर्वक स्वागत सत्कार गर्दै हरिमेधा ऋषिले आफ्नी छोरी कन्यादान गरी गृहस्थाश्रममा प्रवेश गराए । त्यसपछि उनीहरूले त्यतै बसेर स्वकर्म र स्वधर्मद्वारा लोकको सेवा गरी सुखपूर्वकले जीवन व्यतीत गरे । यिनै सेवाधर्मले गर्दा पछि गएर ऐतरेय ब्राह्मणजस्तो बेजोड आध्यात्मिक ग्रन्थ रचना गर्न सफल भए ।

स्कन्दपुराणमा आएको यस प्रसङ्गमा केकति सत्यता छ त्यो त थाहा छैन तर स्वकर्म र स्वधर्ममा विश्वास गर्नेहरूको दुर्गति हुँदैन भन्ने कुरा भने राम्रैसँग छर्लङ्ग्याएको छ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।