जडीबुटी र घाँसखेतीबाट जीविकोपार्जन
मकवानपुरको मनहरी गाउँपालिकास्थित पशुपति सामुदायिक वन उपभोक्त समूहद्वारा बिजुलीको तार बिछ्याएको स्थानमा सामूहिकरुपमा गरिएको जडीबुटी र घाँसखेतीबाट आयआर्जन गर्न थालिएको छ । उक्त समूहका विपन्न, दलित र जनजाति महिलाले आयआर्जनका लागि उपसमूह बनाएर सामूहिक खेती गर्दै आएका छन् ।
समूहकी अध्यक्ष चम्पामाया परियारले सामूहिकरुपमा जडीबुटी खेती र घाँसको बिरुवा रोपेर बाख्रापालन गरी आम्दानी गर्न सहयोग पुगेको बताइन्। उनले भनिन्, “यसरी आम्दानी गर्न सकिन्छ जस्तो लागेको थिएन, गरे नहुने केही रहेनछ ।”
बिजुलीको तार तानेको स्थानमा रुख काटेपछि खाली रहेको जग्गामा उत्पादन गरेर स्वरोजगार तथा उद्यमशीलताको विकास गर्ने सोचसहित थालिएको जडीबुटी खेतीले आम्दानी हुन थालेपछि अहिले सबै उत्साहित छन् । थप मेहनत गर्न ऊर्जा मिलेको परियारले बताइन् । जडीबुटी गोडमेल गर्ने र घर फर्कदा घाँस लिएर जानु आफूहरुको दैनिकी बनेको उल्लेख गर्दै उनले समूहले यस वर्ष अदुवा खेती समेत गरेको बताइन् ।
अदुवा खेती सप्रिए पनि बजार व्यवस्थापनका लागि भने सहयोग चाएिको उपसमूहकी कोषाध्यक्ष सानुमाया मोक्तान बताउछिन् । तीन वर्ष अघि जडीबुटी खेती थाल्दा आम्दानी गर्न सकिएला जस्तो उनीहरुलाई लागेको थिएन । कोषाध्यक्ष मोक्तान जडीबुटी रोपिएको स्थान वरपर घाँस लगाउँदा घरमा पशुपालन गर्न सहज भएको बताउँछिन् । उपसमूहमार्फत आर्थिक सहयोग र बाख्रा सापटी कार्यक्रम लागू गरेर थप आम्दानी भएको उनले बताइन् ।
हाल जडीबुटी, अदुवा, अम्रिसोसँगै बाख्रापालन गर्दै आएको मोक्तानको भनाइ छ । उनी भन्छिन्, “अहिले यहाँको घाँसले बाख्रा र गाई पाल्न थालेकी छु ।” जग्गा जमिन थोरै, पढाइ नभएको कारण उक्त समूहमा रहेका विपन्न, दलित र जनजाति महिलाले रोजगारीको स्रोत खोज्दा वन समूहले यस्तो उपयुक्त योजना ल्याएर जीवन परिवर्तनमा सघाउ गरेको मोक्तानको बुझाइ छ ।
हाल उक्त उपसमूहका महिलाले सर्पगन्धाको बीउसमेत उत्पादन गरेर बिक्री वितरण गरिरहेका छन् । सामूहिक जडीबुटी खेतीबाट जीवन परिवर्तन हुनसक्नेमा उनीहरुको आशा पलाएको छ । बिहान बेलुका जसोतसो छाक टार्ने र दिनभर सुतेर समय बिताउने महिला अहिले सक्षम र व्यस्त हुन थालेको उपसमूहकी सदस्य देवकी विष्ट बताउँछिन् । उनी भन्छिन्, “खेती गरौँ जमिन छैन, अरु काम गर्न लगानी छैन, यस्तो अवस्थमा सामुदायिक वन उपभोक्ता महासङ्घले ल्याएको यो एउटा कार्यक्रमबाट परिवर्तन गरिदिएको छ ।”
सानो लगानीबाट बाख्रापालन सुरु गरिएको र घाँसको लागि टाढा जान नपरेको उनी बताउँछिन् । दुई हेक्टर जमिनमा सामूहिकरुपमा खेती गरिँदै आएको छ । हाल सर्पगन्धा, अम्रेसो र अदुवाको साथमा घाँस खेती भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती
-
सहकारीको पैसामा मिटरब्याजको धन्दा, खाली चेक लिँदै, मुद्दा हाल्दै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
-
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख