शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

‘प्रेमगीत ३’ देखि ‘झिँगे दाउ’सम्म, यस्ता छन् २०७९ मा रिलिज हुने फिल्म

बिहीबार, ०८ वैशाख २०७९, ०६ : ३८
बिहीबार, ०८ वैशाख २०७९

कोरोना कहर कम भएसँगै फिल्म क्षेत्र पुरानै लयमा फर्किन थालेको छ । पछिल्लो समय देशमा आर्थिक संकेत निम्तिने खतरा देखिएको चर्चा भएपनि दर्शकहरु मनोरञ्जनका लागि फिल्म हलसम्म पुग्न थालिसकेका छन्, जसको जल्दोबल्दो उदाहरण पछिल्लो समय प्रदर्शनमा आएको साउथ (दक्षिण भारतीय¬) फिल्म ‘एजीएफ च्याप्टर २’ लाई लिन सकिन्छ । ‘एजीएफ च्याप्टर २’ ले हलमा दर्शक डोर्याएको मात्र हैन, नेपाली बक्सअफिसमा सुनामी नै ल्याएको छ । यस फिल्मले हललाई बिहानको १ बजेदेखि रातको ११ बजेसम्मका शो राख्न समेत बाध्य गराएको छ ।

यस अगाडि आएका बलिउड फिल्म ‘द कश्मिर फाइल्स’, साउथको  ‘आरआरआर’ ले समेत राम्रो ब्यवसाय गरेको रेकर्ड छ । नयाँ वर्षसँगै प्रदर्शनमा आएको नेपाली फिल्म ‘ए मेरो हजुर ४’ ले पनि राम्रो ब्यवसाय गरेको निर्माण पक्षको दाबी छ । ‘ए मेरो हजुर ४’ ले ब्यवसाय गर्यो गरेन, बक्सअफिसको रिपोर्ट र निर्माताले तिर्ने करले केही समयपछि प्रमाणित गर्नेछ । यद्यपी हलमा हिन्दी फिल्ममा देखिएको दर्शकले नेपाली फिल्मका निर्मातामा पनि उत्साह थपेको छ । त्यसैले पनि उनीहरु निर्माण सम्पन्न भएका र सम्पन्न हुने तरखरमा रहेका फिल्मको प्रदर्शन मिति धमाधम घोषणा गरिरहेका छन् । 

तोकियो रिलिज डेट

नयाँ वर्ष लागेसँगै दर्शकमा यो वर्ष के कस्ता र कुन स्टारका फिल्म हेर्न पाइन्छ भन्ने चासो सुरु भएको छ । यो वर्षको सुरुवात अर्थात् १ वैशाखमा अनमोल केसी र सुहाना थापा अभिनित प्रेमकथामा आधारित फिल्म ‘ए मेरो हजुर ४’बाट भयो । वैशाखमै अन्य तीन फिल्म ‘मन्त्र’, ‘षट्कोण’ र ‘लक्का जवान’ रिलिज हुँदैछ । 

‘मन्त्र’ अगामी १६ वैशाखदेखि प्रदर्शनमा आउन लागेको हो भने ‘लक्का जवान’ले २५ वैशाखलाई रिलिज मिति बताएको छ । हिमाली भेगको प्रेमकथामा आधारित फिल्म ‘मन्त्र’मा सौगात मल्ल, दीया पुन, बुद्धि तामाङ, नमिता घिसिङ, वीरबहादुर लामा, पासाङ टी शेर्पालगायत कलाकारको अभिनय छ । । खिलबहादुर गुरुङ निर्देशित फिल्मका निर्माता देवेन्द्र मानन्धर, रविराज कार्की, सुरेश कार्की र शुभ श्रेष्ठ हुन् ।

‘लक्का जवान’ हाँस्य कलाकार शिवहरि पौडेलको निर्देशनमा तयार भएको हो । दिलिप रायमाझी, प्रियंका कार्की, सलोन बस्नेत, वर्षा सिवाकोटी, किरण केसी, शिवहरि पौडेल, राजाराम पौडेल, सुशील पोखरेल, सरोज खनाल लगायतको कलाकारको अभिनय रहेको छ । कमेडी कथामा बनेको फिलम किरण केसी, दिलिप रायमाझी र शिवहरि पौडेलले बनाएका हुन् ।

२५ वैशाखमै रिलिज हुन थालेको ‘षट्कोण’ साइकोलोजिकल थ्रिलर फिल्म हो । क्लेमेन्टाइन प्रोडक्सन र ट्राभलर्स क्रिउ फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्मका निर्देशक मिलन डी काप्री हुन् । फिल्ममा कर्मा, भोलाराज सापकोटा, लोकेन्द्र लेखक, सुयशा अधिकारी, विराज कडरिया, शिशिर लिम्बू वानेमको अभिनय छ । 

त्यस्तै जेठमा ‘कबड्डी ४ः द फाइनल म्याच’ र ‘कौसीद’ रिलिज हँुदैछ । ‘कबड्डी ४ः द फाइनल म्याच’ १३ जेठमा रिलिज हुँदैछ भने ‘कौसीद’  २७ जेठमा । रामबाबु गुरुङ निर्देशित ‘कबड्डी ४ः द फाइनल म्याच’ दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर, गौमाया गुरुङ, बुद्धि तामाङ, विजय बराल, कमलमणि नेपाल, पुष्कर गुरुङ, कविता आले, जयनन्द लामा, प्रकाश घिमिरे, माओत्से गुरुङ, शरद अधिकारी स्टारर फिल्म हो । 

‘कौसीद’ अभिनेत्री ऋचा शर्माले बनाएकी हुन् । वित्तीय ऋणको प्रभावमा परेको परिवारको कथा बोल्ने फिल्ममा कुमार भाष्करको निर्देशन छ । फिल्ममा ऋचा शर्मा, भोलाराज सापकोटा, रूपेश दाहाल, परिक्षितविक्रम राणा, सदीक्षा गौतम लगायतको अभिनय देख्न सकिन्छ । 

असारमा पनि दुई फिल्म ‘चिसो मान्छे’ र ‘सिल्ली फो’ आउने देखिएको छ । निर्देशक दीपेन्द्र के खनालको ‘चिसो मान्छे’ असार ३ मा रिलिज हुनेछ भने ‘सिल्ली फो’ ३१ असारमा । बाजुरासम्म पुगेर छायाङ्कन गरिएको ‘चिसो मान्छे’मा स्वस्तिमा खड्का, अर्पण थापा, देशभक्त खनाल आदि कलाकारको अभिनय  छ । खनालले निर्देशनसँगै लेखन र छायाङ्कनको जिम्मेवारी समेत निर्वाह गरेका छन् । ‘सिल्ली फो’ मा केकी अधिकारीको मुख्य भूमिका  छ ।

अहिलेसम्म साउन महिना खाली देखिएपनि भदौमा भने ६ फिल्म रिलिजको तरखरमा छन् । यी फिल्म हुन्, ‘कृष्ण–लीला’, ‘लाखे’, झिँगे दाउ’, ‘बाबरी’, ‘प्रेमगञ्ज’, ‘द सिक्रेट अफ राधा’, ‘प्रकाश’ र ‘पानीफोटो’ ।

प्रेमकथामा आधारित फिल्म ‘कृष्ण–लीला’ ३ भदौमा प्रदर्शनमा आउँदैछ । अभिनेता पुष्प खड्का र अभिनेत्री श्रद्धा क्षेत्री स्टारर फिल्म ‘कृष्ण–लीला’ दीपक ओलीले निर्देशन गरेका हुन् । ‘प्रेमगञ्ज’ पनि ३ भदौमै आउने तरखरमा छ । परिच्छेद सेनको लेखन तथा निर्देशन रहेको फिल्ममा बेनिशा हमाल, तेज गिरी, सम्पदा बानियाँ, पवन भट्टराई, सुप्रिया खनाल, राइडर प्रशान्त, सिमरन खड्का, नरेश पौडेल, रश्मी भट्ट, सञ्जोग रसाइली, गीता अधिकारी लगायतको अभिनय छ । 

‘पानीफोटो’ अभिनेता खगेन्द्र लामिछानेको निर्देशनमा डेब्यु फिल्म हो । १० भदौमा आउने बताइएको फिल्ममा माओवादी जनयुद्धको समयमा झन्डै डेढ दशक अगाडि बेपत्ता भएको छोराको पर्खाइमा बसेको बा–आमाको कथा समेटिएको छ । फिल्ममा खगेन्द्रसँगै अनुप बराल, मेनुका प्रधान, प्रकाश घिमिरे, माओत्से गुरुङ, बुद्धि तामाङ, कमलमणि नेपाल, अशान्त शर्मा, मलिका महत, प्रकाश घिमिरे, राधा श्रेष्ठ लगायतको अभिनय छ ।

‘प्रकाश’ युवा स्टार प्रदीप खड्का अभिनित फिल्म हो । १० भदौमा प्रदर्शन हुने फिल्म ‘प्रकाश’ दिनेश राउतले निर्देशन गरेका हुन् । फिल्ममा प्रदीपसँगै दीया मास्के, रेनु योगी, प्रकाश घिमिरे, रामबाबु रेग्मी, पवित्रा खड्का, प्रशान्त श्रेष्ठ, निरज पन्थी, गोविन्द सुनुवार, लोकेन्द्र लेखक, दीपेन्द्र शाहीलगायतका कलाकारको अभिनय छ ।

‘द सिक्रेट अफ राधा’ सुवर्ण थापा निर्देशित फिल्म हो । २४ भदौमा आउने फिल्ममा सौगात मल्ल, सृष्टि श्रेष्ठ, खगेन्द्र लामिछाने, मेनुका प्रधानलगायतको अभिनय छ ।

फिल्म ‘बाबरी’, ‘लाखे’ र ‘झिँगे दाउ’ गरी तीन फिल्म ३१ भदौमै आउँदैछ । ‘बाबरी’ धिरज मगर, अदिती बुढाथोकीको मुख्य भूमिका रहेको फिल्म हो भने ‘लाखे’मा सौगात मल्ल, अनुपविक्रम शाही, आर्यन अधिकारी, सुशील सिटौला, रोहित रुम्बा, वर्षा राउत, अर्पण थापा, प्रशान्त ताम्रकार, संजोक राणा र कालु रानालगायतको अभिनय छ । सम्राट बस्नेतको निर्देशक रहेको ‘लाखे’ मल्टिस्टार फिल्म कार्यकारी निर्माता हरि मल्ल ठकुरी हुन् ।

‘झिँगे दाउ’ ज्ञानेन्द्र देउजाको निर्देशन तथा निर्माणमा तयार भएको फिल्म हो । मुकुन भुसाल, केकी अधिकारी, आँचल शर्मा लगायतको अभिनय रहेको फिल्म साहित्यकार भीमनिधि तिवारीको कालजयी कथा ‘झिँगे दाउ’मा आधारित छ । 

अहिलेसम्म असोज महिनामा कुनै फिल्मले रिलिज मिति नतोकेपनि कात्तिकमा भने ‘२ नम्बरी’ र ‘परस्त्री’ आउनेछन् । फिल्म ‘२ नम्बरी’ ले ४ कात्तिकमा रिलिज घोषणा गर्दा ‘परस्त्री’ले भने ६ कात्तिक रिलिज मिति बताएको छ ।

दयाहाङ राई, उगेन छोदेन, सौगात मल्ल, उपासना सिंह ठकुरीलगायतको अभिनय रहेको ‘२ नम्बरी’ दीपेन्द्र लामाले निर्देशन गरेका हुन् । उता ‘परस्त्री’का निर्देशक सुरज पाण्डे हुन् भने फिल्ममा कोशिस क्षेत्री, शिल्पा मास्के, गौरव विष्ट, अलिशा क्षेत्री, अशान्त शर्मालगायतको मुख्य भूमिका छ ।

यी हुन् अन्य सम्भावित फिल्म

रिलिज मिति तोकिएका माथिका फिल्म मात्र होइन, केही अगाडि छायाङ्कन सकिएका ‘म’, ‘गाउँ आएको बाटो’, ‘गोर्खा वारियर २’ जस्ता केही फिल्म समेत यस बीचमा रिलिज हुन सक्छ । फिल्मको प्राविधिक काम सकियो भने यो वर्ष नै रिलिज गर्ने यसका निर्माताहरुको योजना छ ।

त्यस्तै २०७८ मै चलचित्र विकास बोर्डबाट सेन्सर सिफारिस लिएर पनि प्रदर्शनमा नआएका ‘वीर योद्धा’, ‘आसकुति’, ‘चोर पुलिस’, ‘टुल्की’, ‘बषन्ज’, ‘एक ढाक्रे दाई’, ‘लुङ्गा’, ‘निरमाया’, ‘थर्ड आइ’ लगायत फिल्म समेत यो वर्ष आउन सक्छन् ।

यस्तै प्रपन्च, बुलाकी, गुण्डा, इगो, अस्तित्वको लडाई, मुस्कान, रोधी घर, पृथ्वीनारायण शाह, ऋण, प्रेमा, पाइला, सेतो घोडा, घनचक्कर, झुपडी, फूलबारी, द माफिया, दौड, द प्रेम पूजा, जुनेली, आँधी तुफान,  उठीबास, जुना, सिन्धुली गढी, डोरी, सरी मम, मिटर ब्याज लगायत वर्ष २०७८ मा दर्ता भएका ८० फिल्म मध्ये करिब ५० प्रतिसत फिल्म छायाङ्कन भएका छन् । ती फिल्म पनि यसै वर्ष रिलिज हुने सम्भावना रहेको बितरक रोहित कट्टेलले बताए ।

हुन त केही वर्षदेखि विभिन्न कारणले रिलिज मिति सर्दै आएको ‘प्रेम गीत ३’, ‘नालापानी’ जस्ता फिल्म छन्, जो उचित समयको पर्खाइमा  छन् । साउथ फिल्म ‘एजीएफ च्याप्टर २’ ले दर्शक पाएजस्तै नेपाली फिल्मले पाउन थाल्यो भने यी फिल्म रिलिज गर्ने निर्माता निर्देशकहरूको सोच छ । 

त्यस्तै नारायण रायमाझीको निर्देशन रहेको फिल्म ‘परदेशी– २’ पनि यो वर्षको दशैमा रिलिज हुने बताइएको छ । सन् २०१५ मा प्रदर्शनमा आएको ‘परदेशी’ को सिक्वेलको रुपमा निर्माण भएको यो फिल्ममा प्रकाश सपुत, केकी अधिकारी, दिलीप रायमाझी, वर्षा सिवाकोटी लगायतका कलाकारको मुख्य भूमिका छ । निर्देशक रायमाझीकै लगानीमा फिल्म बनेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप