बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

स्थानीयवासीले अवरुद्ध गरेको बिपी राजमार्ग खुल्यो, झडपमा चौध प्रहरी घाइते

बुधबार, ०७ वैशाख २०७९, २२ : ११
बुधबार, ०७ वैशाख २०७९

बिहानैदेखि अवरुद्ध भएको बिपी राजमार्ग सञ्चालनमा आएको छ । स्थानीय ३९ वर्षीय विजय मुक्तानको मृत्युका विषयलाई लिएर आफन्त र स्थानीयले राजमार्ग अवरुद्ध गरेका थिए । 

मङ्गलबार कमलामाई नगरपालिका–२ निवासी विजयलाई निबुवाटारमा प्रदेश ३–०१–०३६ प १४१९ नम्बरको बोलेरोले ठक्कर दिएको थियो । घाइते भएका विजयलाई सिन्धुली अस्पतालमा ल्याउँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक विमलराज कँडेलले जानकारी दिए ।

प्रहरीले मृतकका आफन्तलाई छलफलमा आउन आग्रह गरेकामा छलफलमा नआई बिपी राजमार्गअन्तर्गत कमलामाई नगरपालिका–२ पीपल भञ्ज्याङमा राजमार्ग अवरुद्ध गरेपछि घटनास्थलमा गएको प्रहरी टोलीलाई स्थानीयले आक्रमण गरेको उनले बताए ।

स्थानीयको आक्रमणबाट १४ जना प्रहरी घाइते भएका छन् । घाइतेमध्ये एक जनालाई प्रहरी अस्पताल काठमाडौँमा पठाइएको र ११ जना उपचारपछि घर पर्किएका छन् भने दुई जनाको सिन्धुली अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए ।

स्थानीयको ढुङ्गा, सिसाका बोतल प्रहारबाट वरिष्ठ प्रहरी हवल्दार विजयकुमार यादव, प्रहरी जवान जोसना श्रेष्ठ, लीला खत्री, कर्णबहादुर मुग्राती, घनश्याम चौधरी, रमेश लामा र गोपाल थारु घाइते भएका छन् । यस्तै प्रहरी हबल्दार भोला राउत, निजामुदी मिह, प्रहरी जवान विमला श्रेष्ठ, सञ्जित श्रेष्ठ, भूपेन्द्र रावत, रामनारायण राउत र ईश्वरकुमार बास्तोला घाइते भएका छन् । घाइतेमध्ये जोसना श्रेष्ठको उपचारका लागि प्रहरी अस्पताल काठमाडौँ पठाइएको र अरु १० जना डिस्चार्ज भएको प्रहरी उपरीक्षक कँडेलले जानकारी दिए । 

अस्पतालमा भूपेन्द्र रावत, रामनारायण राउत र ईश्वरकुमार बास्तोलाको उपचार भइरहेको र उनीहरूको अवस्था सामान्य नै रहेकाले केही समयपछि घर पठाइएको जानकारी दिए । घाइतेको टाउको, कुम र खुट्टामा सिसाका बोतलले काटेको चोट लागेको छ । प्रहरीले आत्मरक्षाका लागि हवाई फायर गरेको र प्रहरीको संयमताले घटनामा मानवीय क्षति भने हुन नपाएको कँडेलले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप