शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

केन्द्रको गठबन्धनपछि इटहरी र धरानमा खुसीयाली, विराटनगरमा असन्तुष्टि

बुधबार, ०७ वैशाख २०७९, २१ : १०
बुधबार, ०७ वैशाख २०७९

केन्द्रबाटै गठबन्धनमा आबद्ध ५ दलबीच विराटनगर महानगरपालिका तथा धरान र इटहरी उपमहानगरपालिकाको भागबण्डा गरिएपछि यहाँ विभिन्न प्रतिक्रिया सुरु भएको छ । धरानमा प्रमुखमा दाबी गरेको नेपाली काँग्रेसले सोहीअनुसार पाउने र उपमेयर दाबी गर्दै गरेको माओवादी केन्द्रले पनि सोहीअनुसार पाउने भएपछि त्यहाँ धेरै समस्या नरहेको नेताहरुले बताएका हुन् ।

‘हामीले यही ढंगले गठबन्धन होस् भन्ने चाहेका थियौं, यो स्वागत योग्य छ,’ माओवादी केन्द्रका नेता अइन्द्र विक्रम बेघाले भने, ‘अब वडाको विभाजनका लागि हामी छलफल गर्छौं ।’ धरानका काँग्रेस सभापति श्याम पोखरेलले पनि केन्द्रको निर्णयलाई काँग्रेसले कार्यान्वयन गरेर जाने बताए । वडाको भागबण्डामा केही  समस्या देखिएको पनि उनले सुनाए । ‘प्रमुख र उपप्रमुखको विषयमा समस्या भएन । तर, वडाको भागबण्डामा चाहिं तलबाटै साथीहरुले असन्तुष्टी व्यक्त गरिरहेका छन्,’ उनले भने, ‘हामी सकेसम्म मिलाउने प्रयासमा छौं ।’ धरानमा जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीले पनि केही वडामा दाबी गरेका छन् । उनीहरुलाई पनि मिलाएर लैजाने तयारी भइरहेको काँग्रेस र माओवादी नेता बताउँछन् । 

यता, सुनसरीको इटहरी नगरपालिकामा पनि काँग्रेसले प्रमुख पाउने सहमति भएको छ । सहमतिको काँग्रेसले स्वागत गर्ने बताएको छ । प्रमुख आफूले पाउनुपर्ने दाबी गरिरहेको एकीकृत समाजवादीले पनि केन्द्रको निर्णय मान्ने बताएको छ । एकीकृत समाजवादीका प्रदेश सचिव महेश रेग्मीले विराटनगरमा उपप्रमुख र इटहरीमा प्रमुखको माग गरिहेको सन्दर्भमा केन्द्रबाट भएको निर्णय चित्त बुझ्दो नभएपनि निर्णयलाई कार्यान्वयन गरेर जाने बताए । ‘हामीले इटहरीको प्रमुख माग गरेका थियौं,’ उनले भने, ‘हामीले भने जस्तो भएन, तर, निर्णय कार्यान्वयन गरेर जान्छौं ।’

इटहरीका माओवादी केन्द्रका नेता तथा प्रदेशका प्रचार विभाग उपप्रमुख राजन केडीले केन्द्रको निर्णयबारे आफ्नो पार्टीमा छलफल नभएको बताए । यद्यपि निर्णयलाई कार्यान्वयन गरेर जानुपर्ने आफ्नो धारणा रहेको उनले बताए । उनले उप्रमुख र उपप्रमुख अरु पार्टीले पाएपछि आफ्नो पार्टीले धेरै वडा पाउनुपर्नेमा जोड दिए । काँग्रेस इटहरीका नेता पवन अधिकारीले निर्णय स्वागत योग्य नै भएको बताए । यता विराटनगरका नेताहरुले भने गठबन्धनमा भएको भागबण्डाको विषयमा यहाँका स्थानीय नेताहरुले आंशिक असन्तुष्टि जनाएका छन् । 

यसअघि नै नेपाली काँग्रेसले विराटनगर महानगरपालिकामा गठबन्धन गर्न आवश्यक नभएको र एक्लै लड्ने निर्णय गरिसकेको थियो । पालिका समितिले गरेको उक्त निर्णय विपरीत केन्द्रले पाँच दलबीच गठबन्धन गर्ने र प्रमुख काँग्रेस तथा उप प्रमुख जनता समाजवादी पार्टीले लिने सहमति गरेपछि असन्तुष्टि चुलिएको हो । काँग्रेस मोरङका उपसभापति तथा विराट नगरका प्रमुखको आकांक्षी नागेश कोइरालाले आफूहरु गठबन्धनको विरुद्धमा रहेको बताए । यद्यपि काँग्रेसले आधिकारिक निर्णय गरेर पत्र पठाएको खण्डमा आफूहरुले मानेर जाने उनले बताए । ‘म गठबन्धनको विरोधी हुँ,’उनले भने, ‘यद्यपि पार्टीले शीर्ष नेताहरुबीचमा भएको सहमतिलाई केन्द्रीय कार्यसम्पादन समितिबाट पारित गरेर लागू गर्न पत्राचार गरेको खण्डमा निर्णयलाई मान्नुपर्छ ।’

यता प्रमुख पदको दाबी गर्दै आएको जनता समाजवादी पार्टीले पनि आफू पूर्ण सन्तुष्ट हुने अवस्था नरहेको बताएको छ । सो पार्टीका नेता तथा विराटनगरको प्रमुखका आकांक्षी रहेका उमेश यादवले पार्टीको निर्णय भने मान्ने र आफू उपप्रमुख पदमा नजाने स्पष्ट पारेका छन् । ‘हाम्रो माग भनेको मेयर पाउनुपर्छ भन्ने हो,’ उनले भने, ‘हामी पूर्ण रुपमा सन्तुष्ट छैनौं, अब वडा कसरी विभाजन हुन्छ हेरौं ।’माओवादी केन्द्रले पनि गठबन्धन हुँदा आफूले उपप्रमुख पाउनु पर्ने माग गर्दै आएको थियो । तर, सहमति गर्दा नेताहरुले उपप्रमुख पद पनि छोडेपछि पार्टी केन्द्रले आफूहरुलाई हेपेको हो कि भन्ने महसुस भएको माओवादी केन्द्रका विराटनगर महानगरपालिका अध्यक्ष नविन पौडेलले बताए ।

‘हामीलाई केन्द्रले हेपेको हो कि जस्तो लागेको छ, हामी अपमानित भएका छौं,’ उनले भने, ‘पार्टी केन्द्रले सहमति गरेको गठबन्धनको निर्णयलाई हामी मान्छौं, तर वडामा एक्लाएक्लै जाने तयारी गरिरहेका छौं ।’ एकीकृत समाजवादी विराटनगरका अध्यक्ष पारुल क्षेत्रीले भने गठबन्धन दलहरुबीच भएको सहमति अपेक्षित रहेको बताएका छन् । ‘ओलीले गरेको प्रतिगामी कदमका विरुद्धमा उभिएका पार्टीहरूबीच तालमेल गर्नैपर्छ,’ उनले भने, ‘वडा तहसम्म पनि सहमति गरेर जानुपर्छ भन्ने हाम्रो पार्टीको मान्यता हो ।’ २०७४ सालको निर्वाचनमा विराटनगरमा काँग्रेसले ७ वटा वडा जितेको थियो भने संघीय समाजवादी फोरमले ६, एमालेले ३, माओवादीले १ र स्वतन्त्र उम्मेदवार २ जनाले निर्वाचन जितेका थिए । अघिल्लो पटक काँग्रेस र राप्रपा एक्लै चुनावमा होमिएका थिए भने एमाले र फोरम लोकतान्त्रिक तथा माओवादी र संघीय समाजवादीबीच गठबन्धन बनेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप