शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

वीरगञ्ज जसपाले पाएपछि काँग्रेस नेता भन्छन्, ‘बागी उम्मेदवारी दिनेबारे छलफल गर्छौँ’

गठबन्धनबिनै काँग्रेसले जित्छ : जिल्ला सभापति क्षेत्री
बुधबार, ०७ वैशाख २०७९, १८ : ०८
बुधबार, ०७ वैशाख २०७९

सत्तारुढ गठबन्धनमा वीरगञ्ज महानगरपालिका जनता समाजवादी पार्टी (जसपा) लाई दिने निर्णयसँगै नेपाली काँग्रेसका वीरगञ्ज महानगर प्रमुखका दाबेदारहरूले असन्तुष्टि जनाएका छन् ।

२०७४ को निर्वाचनमा करिब २ हजार मतान्तरले नगरप्रमुखमा पछि परेको काँग्रेस यसपटक मुख्य दाबेदार मानिएको थियो । नेपाली काँग्रेसका वीरगञ्ज महानगर प्रमुखका दाबेदार कञ्चन झा अन्तिम समयसम्म वीरगञ्ज महानगर प्रमुखमा काँग्रेसको दाबी रहने बताउँछन् ।

‘केन्द्रले स्थानीय तहको भू–सतह नबुझेर गठबन्धन गरेजस्तो लागिरहेको छ, पार्टीको खुलेर विरोध गर्न नसके पनि केन्द्रसँग हाम्रो अन्तरविरोध भइरहेको छ,’ उनले भने । एक लाख २४ हजार ६७४ मतदाता रहेको वीरगञ्ज महानगरमा ३२ वडा छन् । २०७४ को निर्वाचनमा उपप्रमुखसहित १० वटा वडा जितेको काँग्रेसले यसपटक नगरप्रमुख जसपालाई छोड्नुपरे उपप्रमुखसहित कम्तीमा २५ वटा वडा पाउनुपर्ने माग गर्दै आएको थियो ।

‘यो गठबन्धनले वीरगञ्जमा काँग्रेसलाई ठुलो धक्का लागेको छ, हामीले आफ्ना मतदातालाई जसपालाई भोट देऊ भनेर कसरी भन्ने ?’ तराई मधेस समन्वय विभागका सदस्यसमेत रहेका झाले भने ।

काँग्रेसका नेता अजय द्विवेदीले गठबन्धनले गरेको निर्णय आफूहरूलाई स्वीकार नरहेको बताएका छन् । रातोपाटीसँग कुरा गर्दै उनले भने, ‘जिल्ला तथा महानगर कमिटीले समेत केन्द्रलाई काँग्रेसले एक्लै चुनाव लड्न तयार छ, र चुनाव जित्छ भन्ने जानकारी गराएको थियो । तर यस्तो निर्णय आएको छ, यसले हामीलाई मर्माहत बनाएको छ ।’

यो निर्णयले वीरगञ्ज महानगरपालिकामा रहेको काँग्रेसका मतदाताको अपमान भएको भन्दै आफूहरू चाँडै बसेर यसको बारेमा कुनै निर्णय लिने उनले बताए । काँग्रेसले छुट्टै उम्मेदवारी दिन सक्छ वा अरू कुनै निर्णय हुनसक्छ भन्दै उनले पार्टीले यो निर्णयलाई सच्याउनुपर्ने माग गरे । 

यसअघि जसपाका जिल्ला अध्यक्ष र काँग्रेसका सभापतिबीच मित्रवत् प्रतिस्पर्धा गर्ने सहमति भइसकेको थियो । गठबन्धनले त्यो सहमतिलाई नमानेको उनले गुनासो गरे । उनले भने, ‘दुईटा दलले छुट्टा छुट्टै चुनाव लड्ने निर्णय गरिसकेको अवस्थामा गठबन्धनले यस्तो निर्णय गर्न आवश्यकता नै थिएन ।’

मधेस प्रदेशको एकमात्रै महानगरका रुपमा रहेको वीरगञ्ज मुलुकको आर्थिक तथा औद्योगिक नगरीको रुपमा पनि चिनिन्छ । नेपाल–भारत मुख्य भन्सार नाका, भारतबाट नेपाल प्रवेश गर्ने मुख्य प्रवेशद्वार, नेपालको आयात–निर्यात व्यापारमा ६० प्रतिशत साझेदारी क्षेत्र भएका कारण पनि वीरगञ्ज महानगरको प्रमुखका लागि ठुला–साना सबै दलले आंकाक्षा देखाएका छन् ।

महानगर प्रमुखमा काँग्रेसका अर्का दाबेदार प्रकाश उपाध्यायले केन्द्रको निर्णयका विषयमा समर्थन वा विरोध के गर्ने भन्ने विषयमा जिल्ला तहमा कुनै निर्णय नभएको बताए । ‘हामी असन्तुष्ट छौं तर अब समर्थन वा विरोध के गर्ने भन्ने विषयमा छलफल चलिरहेको छ,’ उपाध्यायले भने ।

गठबन्धनको केन्द्रीय बैठकले वीरगञ्ज महानगर जसपाको भागमा पर्ने निर्णय गरेसँगै स्थानीय तहमा काँग्रेसका आधा दर्जन आकांक्षी अन्योलमा देखिएका छन् । महानगर प्रमुखका अर्का दाबेदार श्याम पोखरेलले केन्द्रले निर्णय गरे पनि काँग्रेस कार्यकर्ताले रुखबाहेक अन्त भोट नहाल्ने बताए । ‘हामी केन्द्रको निर्णय विपरीत बागी उम्मेदवार उठाउँदैनौं तर, रुख बाहेक अन्त भोट पनि हाल्दैनौं,’ उनले भने, ‘यो गठबन्धन सफल हुँदैन, साथीहरु जसपालाई भोट नहाल्ने भनिरहनु भएको छ ।’

वीरगञ्ज महानगरमा गठबन्धन बिनै काँग्रेसले जित्छ : जिल्ला सभापति

नेपाली काँग्रेसका पर्सा जिल्ला सभापति जनार्दन सिंह क्षेत्रीले गठबन्धनबाट छुट्टिएर पनि वीरगञ्ज महानगर प्रमुखमा काँग्रेसले जित्ने दाबी गरेका छन् । ‘जसपाको अध्यक्ष र म दुईजना बसेर मैत्रीपूर्ण प्रतिस्पर्धा गर्ने भनेर निर्णय नै गरेका छौं, जसपाले पनि भनिसक्यो गठबन्धन आवश्यक छैन, हामी अलगअलग चुनाव लड्छौं भनेर,’ सभापति क्षेत्रीले भने, ‘गठबन्धन बिना हामी जित्न सक्छौं भने त्यही अनुसार हामी जान्छौं ।’

पछिल्लो समय मधेसवादी दलहरुप्रति मधेसी जनताको आकर्षण घटेको र काँग्रेसको संगठन बलियो हुँदै गएकाले आफ्नै बलबुतामा निर्वाचन लड्ने र जित्न सक्ने काँग्रेसको दाबी छ । ‘विगतमा हाम्रो आन्तरिक कमजोरीले गर्दा झिनो मतले हारेका हौं, अहिले संगठनको हिसावले काँग्रेस बलियो छ, यसपटक वीरगञ्जको मेयर काँग्रेसले जित्छ,’ उनले भने ।

सभापति क्षेत्रीले गठबन्धनको विषयमा केन्द्रबाट आधिकारिक निर्णय सार्वजनिक भइनसकेको उल्लेख गर्दै जसपाको पक्षमा निर्णय भए आफूहरुलाई स्वीकार्य नहुने टिप्पणी गरेका छन् ।

हाल नेकपा एमालेमा प्रवेश गरेका वीरगञ्ज महानगर प्रमुख विजय सरावगी २०७४ को निर्वाचनमा तत्कालीन संघीय समाजवादी पार्टीबाट महानगर प्रमुखमा विजयी भएका थिए । पछिल्लो समय जसपा नेपालमा रहेका उनी हाल एमालेमा प्रवेश गरेका छन् । उनी एमालेबाट मेयरको उम्मेदवार बन्ने निश्चित छ ।

गठबन्धनका सबै दललाई मिलाएर लैजान्छु : सिंह

जनता समाजवादी पार्टीबाट महानगर प्रमुखका दावेदार राजेशमान सिंह छन् । सरावगी एमालेमा प्रवेश गरेसँगै सिंह एमाले छाडेर जसपा नेपालमा फर्किएका थिए । उनी जसपा विभाजनपछि जसपा छाडेर लोसपा नेपालमा सामेल भएका थिए ।

सिंह जसपाबाटै मेयरको उम्मेदवार बन्ने सुनिश्चित भएपछि एमाले छाडेर जसपामा आएका हुन् । उनले गठबन्धनका सबै दलबीच सहमति जुटाएर आफू अघि बढ्ने बताएका छन् ।

‘स्थानीय तहमा गठबन्धनका नेताहरु एकठाउँमा बसेर छलफल गरेपछि सबै विवाद सहमतिमा टुङ्गिन्छ,’ सिंहले भने, ‘माथिबाट निर्णय आउनासाथ काँग्रेसलाई सम्मानजनक ढंगले समेटेर लैजान्छौं ।’

सिंहले केन्द्रमा महानगर र उपमहानगर प्रमुख÷उपप्रमुखको बाँडफाँट भइसकेको भनिए पनि स्थानीय तहमा त्यसबारे कुनै निर्देशन नआएको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शारदा पोखरेल
शारदा पोखरेल
लेखकबाट थप