शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

रसुवामा काँग्रेस २ पालिकामा मात्र गठबन्धन गर्ने पक्षमा

बुधबार, ०७ वैशाख २०७९, १४ : १५
बुधबार, ०७ वैशाख २०७९

रसुवा जिल्लामा नेपाली काँग्रेसले दुई वटा पालिकामा मात्र सत्तारुढ गठबन्धनबीच चुनावी तालमेल गर्ने पक्षमा देखिएको छ । जिल्लाको कुल ५ वटा पालिकामध्ये काँग्रेसले आफू कमजोर रहेको २ वटा पालिकामा मात्र तालमेल गर्ने इच्छा व्यक्त गर्दै आएको छ ।

पछिल्लो समय काँग्रेसको अवस्थामा निकै सुधार आएकाले जिल्लाका सबै पालिकामा गठबन्धन गर्न नपर्ने नेपाली काँग्रेस रसुवाका सभापति पेम्बा छिरिङ तामाङले रातोपाटीलाई बताए । रसुवामा गाउँपालिकामात्र छन् । ती पालिकामा विगतको निर्वाचनको तुलनामा अहिले काँग्रेसको सांगठनिक अवस्थामा निकै नै सुधार आएको भन्दै उनले आफू केही कमजोर रहेको दुई वटा पालिकामा मात्र गठबन्धन गर्न तयार रहेको बताए ।

जिल्लाको कालिका गाउँपालिका र आमाछोदिङ्मो गाउँपालिकामा मात्र गठबन्धन गर्ने सोचमा रहेको सभापति तामाङको भनाइ छ । विगतको निर्वाचनमा ती दुई गाउँपालिकाको अध्यक्षमा क्रमशः एमाले र नयाँ शक्ति नेपालले चुनाव जितेका थिए ।

ती दुई गाउँपालिकामा काँग्रेसको अवस्था सुधारोन्मुख रहे पनि आसन्न स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर जान काँग्रेस तयार रहेको सभापति तामाङले बताए । ती गाउँपालिकाको नेतृत्वसहित ६ वटा वडामा माओवादी केन्द्रले दाबी गरेको उनले बताए । त्यस विषयमा हालसम्म पनि सहमति जुट्न नसकेको उनको भनाइ छ ।

रसुवामा सत्तारुढ गठबन्धनका जसपा र जनमोर्चाको उपस्थिति न्यून छ भने एमाले विभाजनको असर पनि निकै कमजोर रहेकाले एकीकृत समाजवादी पार्टीको पनि खासै प्रभाव नरहेको उनले बताए ।

विगतमा रसुवामा डा.बाबुराम भट्टराई नेतृत्वको तत्कालीन नयाँ शक्ति नेपालको उपस्थिति राम्रो भए पनि हाल सो पार्टीका अधिकांश नेता तथा कार्यकर्ताहरु काँग्रेसमा प्रवेश गरिसकेको उनले बताए ।

सबै पालिकामा गठबन्धन गर्ने माओवादी केन्द्रको चाहना

यता गठबन्धनको दोस्रो ठुलो दल माओवादी केन्द्र जिल्लाका सबै पालिकामा गठबन्धन गर्ने सोचमा छ । अघिल्लो निर्वाचनमा जिल्लाका ५ वटै पालिकामा तेस्रो वरियतामा रहेको माओवादी केन्द्र ५ मध्ये २ वटा पालिकाको नेतृत्व लिएर गठबन्धन गर्ने सोचमा छ ।

मााओवादी केन्द्रले रसुवाको आमाछेदुङ्मो र कालिका गाउँपालिकाको प्रमुखसहित ६ वटा वडा तथा अन्य पालिकामा उपाध्यक्ष र केही वडा अध्यक्ष लिने गरी गठबन्धनको प्रस्ताव गरेको माओवादी केन्द्रका अध्यक्ष प्रभाकर घिमिरेले जानकारी दिए ।

उनले जिल्लामा गठबन्धन गरेर आगामी निर्वाचनमा जाने योजना अनुसार भागबण्डाको बारेमा छलफल जारी रहेको बताए । रसुवाको सबै पालिकामा गठबन्धनलाई कायम राखेर आगामी निर्वाचनमा जाने निर्णय अनुसार केही दिनमै भागबण्डाको विषय टुङ्ग्याउने उनको भनाइ छ ।

यस्तो छ २०७४ को निर्वाचन परिणाम

गोसाईकुण्ड गाउँपालिका

२०७४ को स्थानीय तहको निर्वाचनमा रसुवाको ५ मध्ये २ वटामा काँग्रेसका उम्मेदवारले अध्यक्ष पदमा जितेका थिए भने २ वटामा एमाले र एउटामा नयाँ शक्तिले जितेको थियो ।

रसुवाको गोसाईकुण्ड र कालिका गाउँपालिकामा एमालेले नेतृत्व लिँदा काँग्रेसले उत्तरगया र नौकुण्ड गाउँपालिकामा नेतृत्व पाएको थियो । यता आमाछोदुङ्मो गाउँपालिकामा भने नयाँ शक्तिले निर्वाचन जितेको थियो ।

गोसाईकुण्ड गाउँपालिकाको अध्यक्षमा एमालेका कैसाङ नुर्पु तामाङले १ हजार ८२८ मतसहित काँग्रेसका सभापति पेम्बा छिरिङ तामाङलाई हराएका थिए । पेम्बाले १ हजार ५०५ मत पाउँदा नयाँ शक्ति नेपालकी कामी बुटी तामाङले १६२ मत पाइन् ।

पालिका उपाध्यक्षमा पनि एमालेकी कार ग्याल्मु तामाङले १ हजार ७४० मतसहित काँग्रेसकी देवी तामाङलाई पराजित गरिन् । काँग्रेसकी तामाङले १ हजार १४९ मत पाउँदा नयाँ शक्तिकी नुर्पु सिंगी तामाङले ३५० मत पाइन् ।

कुल ६ वटा वडा रहेको सो पालिकामा एमालेले ४ वटा र काँग्रेसले २ वटा वडामा जितेको थियो ।

नौकुण्ड गाउँपालिका

२०७४ को निर्वाचनमा रसुवाको नौकुण्ड गाउँपालिकाको अध्यक्षमा काँग्रेसका नुर्वु स्याङवो घलेले २ हजार ३०१ मतसहित चुनाव जितेका थिए । उनले एमालेका म्लाङ दुङ मुक्तानलाई १ हजार ७१७ मतमा सीमित पारेका थिए भने नयाँ शक्तिका भुमे लामाले १ हजार ४४८ मत पाए ।

पालिका उपाध्यक्षमा भने एमालेकी सिर्जना तामाङले १ हजार ६०९ मतसहित जितिन् । नयाँ शक्तिकी युही लामिनी १ हजार ५२६ मतमा सीमित भइन् भने माओवादी केन्द्रका केशवप्रसाद पौडेलले १ हजार १० मत पाए ।

कुल ६ वटा वडा रहेको सो पालिकामा काँग्रेस, एमाले र नयाँ शक्तिले २÷२ वडामा जितेका थिए ।

उत्तरगया गाउँपालिका

२०७४ को निर्वाचनमा उत्तरगया गाउँपालिकाको अध्यक्षमा एमालेका अशोक कुमार घिमिरेलाई हराउँदै काँग्रेसका उपेन्द्र लम्सालले चुनाव जिते । लम्सालले १ हजार ६३० मत पाउँदा घिमिरेले १ हजार ४९३ मत पाए । त्यस्तै माओवादी केन्द्रका मेघनाथ घिमिरे र नयाँ शक्तिका इन्द्रप्रसाद सापकोटाले समान ६९७ मत पाए ।

पालिका उपाध्यक्षमा भने एमालेकी चमेली गुरुङले १ हजार ८७८ मत सहित चुनाव जितिन् । काँग्रेसकी शैपकुमारी अधिकारी १ हजार २८५ मतमा सीमित भइन् । माओवादी केन्द्रकी रेनुमाया गुरुङ र नयाँ शक्तिकी चमेली विश्वकर्मा सुनुवारले क्रमशः ६२८ र ६०६ मत पाए ।

कुल ५ वटा वडा रहेको सो पालिकाको २÷२ वटामा एमाले र काँग्रेस तथा एउटामा नयाँ शक्तिले चुनाव जितेका थिए ।

आमाछोदोङमो गाउँपालिका

२०७४ को निर्वाचनमा रसुवाको आमाछोदोङमो गाउँपालिकाको अध्यक्षमा नयाँ शक्ति नेपालका उम्मेदवारले चुनाव जितेका थिए । नयाँ शक्तिका बुचुङ तामाङले ९६४ मतसहित चुनाव जित्दा एमालेका ल्हाक्पा गोङ्मु तामाङ ६४३ मत, माओवादी केन्द्रका फुर्वा तेन्जेन तामाङ ६२८ र काँग्रेसका अविनाश तामाङ ४६९ मतमा सीमित भए ।

पालिका उपाध्यक्षमा एमालेकी नविना तामाङले ६६८ मतले चुनाव जित्दा नयाँ शक्तिकी संगिता तामाङ ६६३ मत, माओवादी केन्द्रकी तारा तामाङ ६३२ र काँग्रेसकी छेन जाृन तामाङ ४६ मतमा सीमित भए ।

कुल ५ वटा वडा रहेको सो पालिकाको २÷२ वटामा एमाले र नयाँ शक्तिले जितेका थिए भने एउटामा माओवादी केन्द्रले जितेको थियो ।

कालिका गाउँपालिका

२०७४ को निर्वाचनमा एमालेकी सीताकुमारी (पौडेल) अधिकारीले नेपाली काँग्रेसका साधुराम पौडेल र माओवादी केन्द्रका उद्धवप्रसाद रिजाललाई पराजित गर्दै निर्वाचन जितेकी थिइन् । उनले काँग्रेसका पौडेललाई २३३ मतान्तरले पालिका अध्यक्ष पदमा पराजित गरेकी हुन् । उक्त निर्वाचनमा अधिकारीले १ हजार ४५८ मत पाएकी थिइन् भने काँग्रेसका पौडेलले १ हजार २२५ मत पाएका थिए । त्यस्तै माओवादी केन्द्रका रिजालले १ हजार १८७ मत पाएका थिए ।

यता पालिका उपाध्यक्षमा माओवादी केन्द्रकी शिला मरगलाई १ हजार ४११ मतमा सीमित राख्दै एमालेका भवानीप्रसाद न्यौपानेले चुनाव जिते । उनले १ हजार ७०२ मत पाएका थिए । त्यस्तै उपाध्यक्ष पदमा काँग्रेसबाट उम्मेदवार बनेकी सावित्रीदेवी केसीले ७६४ मत पाइन् भने नयाँ शक्तिकी सरिता न्यौपानेले ७९८ मत पाइन् ।

कुल ५ वटा वडा रहेको सो पालिकाको १÷१ वटा वडामा माओवादी केन्द्र र काँग्रेसले जितेको थियो भने ३ वटा वडामा एमालेले जितेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप