शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

जसले पाश्चात्य साहित्यको सिद्धान्त सामग्रीलाई नेपाली पाठकमाझ ल्याए

बुधबार, ०७ वैशाख २०७९, १३ : ००
बुधबार, ०७ वैशाख २०७९

साहित्यकार पोषण पाण्डेको नाम आधुनिक नेपाली साहित्यको इतिहासमा मनोवैज्ञानिक कथाकार एवं प्रतीकवादी कविको परिचयमा स्थापित छ । उनको ‘भिनाजुको स्विटर’, ‘कृष्णदासको भित्तेघडी’, ‘राघेश्यामको साइकल’, लगायत कैयौँ कथा सदाबहार चर्चित छन् । वि.सं. १९८९ माघ १ गते काठमाडौँको इन्द्रचोकमा जन्मिएका पाण्डे नेपाली साहित्यमा पहिलोचोटि २००५ सालमा शारदा पत्रिकामा ‘जलन’ शीर्षकको कविता प्रकाशित गरी अवतरित भएका हुन् । पाण्डेका ‘आँखीझ्याल’ (२०२१), ‘मानस’ (२०२५), ‘हिउँमा परेका डोबहरू’ (२०३२) जस्ता प्रसिद्ध कथासङ्ग्रह प्रकाशित छन् । यसैगरी कविता विधामा ‘वटवृक्षको उद्घाटन’ (२०२५) र ‘मनसा’ (२०५२) कृति चर्चित कविता सङ्ग्रहहरू हुन् । वि.स. २०१२ सालदेखि कथालेखनतर्फ लागेका पाण्डेको नाम नेपाली साहित्यमा उत्कृष्ट कथाकारकै रूपमा स्थापित छ । उनले रत्नश्री स्वर्ण पदक, प्रबल गोरखा दक्षिण बाहु (२०२६), सिद्धिचरण पुरस्कार (२०४८), महेन्द्र प्रज्ञा पुरस्कार प्राप्त गरेका थिए । साहित्यमा निरन्तर साधनारत रहँदा रहँदै विसं २०४९ वैशाख ७ गते ५९ वर्षको उमेरमा काठमाडौँमा उनको निधन भयो ।

उनको परिवारले २०७७ सालमा ‘पोषण पाण्डे– तीर्थ सदन’ नामक सामाजिक संस्था स्थापना गरेको छ भने उहाँका अप्रकाशित कविता सङ्ग्रह ‘मेरी नैनी’ प्रकाशनमा ल्याएको छ । आज पोषण पाण्डेको स्मृति दिवसको अवसर पारेर उनैकी छोरी साहित्यकार डा. ज्ञानू पाण्डेसँग रातोपाटीका लागि शिखर मोहनले गरेको कुराकानी :

–तपाईं त पोषण पाण्डेकी छोरी पनि हुनुहुन्छ, बाल्यकालमा बुबासँग बिताएका बिर्सनै नसकिने क्षणहरू केही छन् ?

बुवासँग विताएका अविस्मरणीय क्षण धेरै छन् । साहित्यसित सम्बन्धित एउटा अविस्मरणीय सन्दर्भ तपाईंलाई बताउँछु । त्यतिबेला म त्यस्तै ९–१० वर्षकी थिएँ, बुबाले मलाई रेडियो नेपालको बाल कार्यक्रममा कविता वाचन गर्नलाई लिएर जानुभएको थियो । इन्द्रचोकको घरदेखि सिंहदरबारसम्म बुवाको औँला समातेर खुसी हुँदै उफ्रिँदै उफ्रिँदै पुगेको कुरा मेरो स्मृतिमा अझै ताजै छ । त्यो बेला म एकदमै उत्साहित भएर रेडियो नेपालमा के गर्न जाँदैछु भन्ने पनि बिर्सिंदै हिँडेकी थिएँ । बालकार्यक्रमका सञ्चालक वासुदेव मुनाल हुनुहुन्थ्यो क्यार त्यतिबेला । त्यहाँ पुगेर कविता वाचन गरेको, त्यसपछि फर्केर उत्साहित हुँदै घरमा आउँदा सबैबाट स्याबासी पाएको कुरा मेरो जीवनकोे एउटा बिर्सी नसक्नुको क्षण हो ।

यो घटना मैले साहित्य भनेको के हो भन्ने कुरा पनि नजान्दै मलाई बुवाले दिएको साहित्यिक आशिष थियो सायद । त्यतिबेला ‘बालक’ भन्ने बालपत्रिका निस्किन्थ्यो । मैले रेडियो नेपालमा वाचन गरेको कविता बुवाले त्यो पत्रिकामा छपाइ दिनुभएको रहेछ । उहाँले त्यतिबेला मलाई त्यो पत्रिका सँगसँगै एउटा कलम पनि उपहार भनेर दिनुभएको म सम्झन्छु अझै ।

निकै पछि गएर मात्र बल्ल मलाई थाहा भयो बुबाले दिनुभएको त्यो उपहार कति साङ्केतिक रहेछ भन्ने कुरा । मलाई साहित्यिक कर्ममा लाग्न प्रोत्साहित गर्न त्यो कलम दिनुभएको हो रहेछ । म ठान्छु, साहित्यिक क्षेत्रमा मेरो यो संलग्नता बुवाकै प्रेरणाको प्राप्ति हो मलाई ।

–उहाँको रुचिका क्षेत्र चाहिँ के–के थिए ?

उहाँको रुचिको मूल क्षेत्र त साहित्य नै हो । सिर्जनाका साथसाथै साहित्यक जमघटको आयोजना गर्नुमा पनि उहाँ विशेष रुचि राख्नुहुन्थ्यो भन्ने बुझिन्छ । बुबाको साहित्यिक यात्रा हामी नजन्मीकन सुरुवात भएकाले कतिपय कुरा उहाँबारे भएगरेका अध्ययन तथा विभिन्न व्यक्तिहरूले भनेका कुराका आधारमा हामीले थाहा पाएको हौँ । हाम्रो इन्द्रचोकको घरमा एउटा ठूलो बैठक कोठा थियो तल तल्लामा । २०११–१२ सालतिको कुरा हो रे । त्यो कोठामा हरेक महिना बुवाको संयोजकत्वमा साहित्यिक जमघट हुन्थ्यो रे । भवानी भिक्षु, बालकृष्ण सम, केदारमान व्यथित, विजयबहादुर मल्ल, गोविन्द बहादुर गोठाले, दौलत विक्रम विष्ट, गोविन्दप्रसाद लोहनी जस्ता साहित्यिक व्यक्तित्वहरूको त्यहाँ उपस्थिति रहन्थ्यो ।

बुवाका अन्य रुचिहरूबारे कुरा गर्नु पर्दा गीत गजलप्रतिको उहाँका लगाव पनि म सम्झन्छु । उहाँ गीत गुनगुनाइ रहनुहुन्थ्यो । अफिस जानेबेलामा पनि गीत गुनगुनाउँदै लुगा लगाउनु हुन्थ्यो । महेन्द्र कपुर, गुलाम अली, जगजित सिंह आदि बुबाका प्रिय गायक हुन् । हामी तिनैका गीत र गजल सुन्दै हुर्किएका हौँ । बुबाकै रुचिको प्रभाव हुनसक्छ हामी छोराछोरीहरू सबै पनि गीत गजल सुन्न खुब मन पराउँछौँ ।

गीतको रुचिकै कारण बुबाले टेप रेकर्ड घरमा ल्याउनुभएको थियो । त्यसमा गीत भरेर बुबाले सुन्नुभएको एकदमै सम्झन्छु ।

बुवा मासु माछाको पनि सौखिन हुनु हुन्थ्यो । कहिलेकाहीँ मुड चल्दा आफैँ पकाउन पनि अघिसर्नु हुन्थ्यो । खुब मिठो पकाउनु हुन्थ्यो । बुवालाई तरकारी केलाउने काममा पनि रुचि थियो । डुकुको साग केलाउँदा रेसा–रेसाको अवलोकन गर्नुहुन्थ्यो, केके केके सोच्दै एक्लै आफैभित्र कुरा गरिरहेको जस्तो देखिनुहुन्थ्यो कहिलेकाहीँ । त्यो त मनमनै उहाँले कथा बुनिरहनु भएको हो रहेछ भन्ने कुरा धेरै पछि मात्र मैले बुझ्न सकेकी हुँ । उहाँ अत्यन्तै सरल स्वभावका हुनुहुन्थ्यो । कम बोल्नु हुन्थ्यो । कसैलाई आफ्नो कारणले दुःख नहोस् भन्ने भाव उहाँमा देखिन्थ्यो । बुवाका साहित्यिक मित्रहरूले पनि उहाँबारे यस्तै धारणा र दृष्टिकोणहरू व्यक्त गरेका मैले पढेकी छु, सुनेकी छु ।

–उहाँले साहित्य लेखनको प्रेरणा चाहिँ कसबाट प्राप्त गर्नुभएको थियो ? यसबारे तपाईंलाई केही थाहा छ कि ?

बुबाका बारेमा शोध गर्ने विद्यार्थीलाई उहाँले आफू आमा भगवतकुमारी पाण्डेको प्रेरणाबाट साहित्यमा लागेको हो भन्ने कुरा बताउनु भएको थियो । भगवतकुमारी पाण्डे जो स्वयंमा एक स्रष्टा हुनुहुन्थ्यो । उहाँले कविता लेख्दाखेरी त्यो बेलाको समाजले महिलाहरूले कलम समाउनु, चलाउनु भनेको चरित्रमा प्रश्न आउने कुरा हो भन्यो । यस्तो कुरा सुनेपछि बुबालाई नराम्रो लाग्यो । त्यही घटनाले उहाँका मनमा आफू साहित्यमै लाग्छु भन्ने अठोट जन्मियो । यिनै कुरा उक्त शोधार्थीलाई बुबा स्वयंले बताउनु भएको म सम्झन्छु । अरू कतिपय अन्तरवार्ताहरूमा पनि बुबाले आफ्नो साहित्यिक प्रेरणाको स्रोतबारे भन्नुपर्दा आमा भगवतकुमारीको नाम सम्झनु भएको पढ्न पाइन्छ ।

–तपाईंले नेपाली साहित्यमा नै विद्यावारिधि गर्नुभएको हो तर बुबाकै बारेमा चाहिँ किन गर्नुभएन ?

मैले बुवाको बारेमा विद्यावारिधि गरेर विशेषज्ञ बनेर बोल्नुभन्दा अर्को मान्छेले उहाँबारे विशेषज्ञ भएर बोल्नु राम्रो हुन्छ । बुवाका बारेमा अध्ययन अनुसन्धान गर्न खोज्ने व्यक्तिलाई मैले साधन, स्रोत र सामग्री तथा जानकारी दिई अरूमार्फत भन्न लगाउनु चाहिँ राम्रो हुन्छ नि, होइन र ? बुबा सधैँ भन्नुहुन्थ्यो मलाई, “आफ्नो बारेमा आफैँ प्रचार गर्न कहिल्यै अघि नसर्नू । अरूलाई बोल्न दिनू, अरूलाई भन्नु दिनू ।” उसै पनि गर्छु भन्दैमा कहाँ सक्थेँ हुँला र मैले बुबाको साहित्यबारे विद्यावारिधि तहको अनुसन्धानकार्य गर्न । बुवाका साहित्यिकताबारे मैले अनुसन्धान र समालोचना गर्न खोजे त ती विधाप्रति नै अन्याय हुने देख्छु म । किनकि अनुसन्धान र समालोचना विधा भनेको जहिले पनि तटस्थ दृष्टिको माग गर्ने विधा हुन् । अनि बुवाका रचनालाई तटस्थ दृष्टिले नियाल्न सक्ने बौद्धिक कठोरता ममा कसरी होस् र ?

–उहाँको व्यक्तिगत स्वभाव र साहित्यिक अभिव्यक्तिमा कतिको समानता थियो अर्थात् साहित्यमा व्यक्त गर्ने र आफ्नो व्यवहारमा लागू गर्ने कुरामा कतिको समानाता थियो ?

मैले भन्नुभन्दा अरूले हाम्रा बुवाका बारेमा के भन्छन् भन्ने कुरालाई म बढी ध्यान दिएर सुन्ने गर्छु सधैँ । कवि मञ्जु काँचुलीले एक सन्दर्भमा भन्नु भएको थियो “पोषण पाण्डे एकदमै शालीन स्वभावका व्यक्ति हुनुहुन्थ्यो । जस्तो खालको स्वभाव र व्यवहार हो त्यस्तै खालको चिन्तन र अभिव्यक्ति उहाँका साहित्यमा पाइन्छ ।” काँचुली भीमनिधि तिवारीकी सुपुत्री हुनुहुन्छ । भीमनिधि तिवारीले उहाँलाई पनि कविगोष्ठीहरूमा लिएर जानुहुन्थ्यो रे । ती कवि गोष्ठीहरूमा हाम्रा बुवाले पनि कविता वाचन गर्ने गर्नुभएको उहाँले कैयौँ पटक देख्नुभएको थियो रे । त्यतिबेलादेखि नै उहाँलाई हाम्रा बुवा एकदम शालीन र भलाद्मी व्यक्ति लाग्नु हुन्थ्यो रे । मेरो आफ्नै अनुभवमा पनि बुबा त्यस्तै लाग्नु हुन्थ्यो । उहाँ भनाइ र गराइ दुवै पत्रमा उस्तै हुनुहुन्थ्यो । जे बोल्नुहुन्थ्यो, त्यही गर्नुहुन्थ्यो ।

–उहाँको भिनाजुको स्विटर कथाजस्तो गरी अन्य रचना चर्चित भएको पाइन्न, किन होला ?

अध्ययनको कमी हो यो धारणा । नत्र त नेपाली साहित्यको इतिहासमा उहाँका अन्य पनि कति रचनाहरू मास्टर पिस रचनाका रूपमा उल्लेखित छन् । तपाईंलाई थाहै छ, डा. दयाराम श्रेष्ठ आधुुनिक नेपाली कथासाहित्यका गहिरा अध्येता हुनुहुन्छ । उहाँले आधुनिक नेपाली कथामै विद्यावारिधि गर्नुभएको हो । उहाँका अध्ययनमा बुवाका कथाहरू ‘भिनाजुको स्विटर’ मात्र होइन, ‘हर्के तामाङको संस्मरण’, ‘राधेश्यामको साइकल’ ‘निषेधका फूलहरू’, ‘हिउँमा परेका डोबहरू’, ‘खाली मेच ः भिन्न भिन्न हरिदास’ लगायतका कथाहरू त्यो समयका मास्टर पिस रचना हुन् । एउटै स्रष्टाका कलमबाट मास्टर पिसका रूपमा यतिका रचना आउनु ठूलो कार्य हो भनेर उहाँले मूल्याङ्कन गर्नुभएको छ । नेपाली साहित्यका एक इतिहासकारको पोषण पाण्डेका कृतिबारेको मूल्याङ्कन हो यो ।

–नेपाली साहित्यिक क्षेत्रमा यत्रो योगदान गर्ने व्यक्तित्वलाई राज्यले केही सहयोग गर्यो कि गरेन ?

बुवाको साहित्यिक जीवन र जागिरे जीवनबीचको तनावपूर्ण अवस्थाका बारेमा साहित्यिक पत्रकार रोचक घिमिरेले पनि लेख्नुभएको छ । उतिबेला आरएनएसीमा स्थायी बरिष्ठ अधिकृत जागिर भएको बुबालाई प्रज्ञा प्रतिष्ठानमा राजा महेन्द्रले ल्याए । ४ वर्ष उहाँ त्यहाँ प्राज्ञपरिषद् सदस्यका रूपमा रहनुभयो । त्यो समयमा उहाँले कतिपय महत्त्वपूर्ण कामहरू पनि गर्नुभयो । पाश्चात्य साहित्यको सिद्धान्तका सामग्रीलाई नेपाली पाठकमाझ ल्याउनमा पनि उहाँको योगदान देखिन्छ । डा. अभि सुवेदी जस्तो बौद्धिक व्यक्तित्वले त्यो किताब तयार पारेर त्यतिबेला उहाँको योजनालाई सफल पार्न सहयोग गर्नु भएको हो ।

तर एकेडेमीमा ४ वर्ष काम गरेपछि उहाँको त्यो पदको नवीकरण भएन । आरएनएसीको स्थायी जागिर पनि छुटाइयो । भर्खर भर्खर एकेडेमी खुलेको, केही नीतिनियम बनेको थिएन, पञ्चायती राज थियो, दरबारको आदेशको भरमा काम हुन्थ्यो । राजा महेन्द्रले त्यसरी नियुक्त गरेपछि जागिर जान्छ होला भन्ने उहाँमा हेक्का पनि भएन सायद । अनि उहाँमा त्यस्तो बठ्याइँको स्वभाव पनि थिएन । त्यसरी उहाँको स्थायी जागिर त्यत्तिकै मारमा पर्यो ।

बुवाका कथाहरूमा जीवनका विसङ्गति बारेमा, बिनाअपराध दण्ड भोग्न विवश मानिसको नियतिपीडा पनि गहिराइमा खोतलिएको हुन्छ । उहाँका साहित्यमा देखिने यस विशेषताका पछाडि सम्भवतः उहाँको आफ्नै पीडाको प्रभाव पनि परेको हुनसक्छ । त्यो उहाँको व्यक्तिगत जीवनमा परेका आघातहरूको प्रभाव पनि हुनसक्छ भन्ने मेरो अनुमान हो । स्वाभाविक हो, हामी जुन परिस्थितिबाट गुज्रिन्छौँ, त्योबाट हामी धेरथोर प्रभावित हुन्छौँ नै ।

खासगरी बुबालाई यौनवादी कथाकार भनेर चिनाउने गरिएको पाइन्छ । २०११÷१२ सालबाट उहाँको कथा लेखन यात्राको सुरुवात भएको हो । २०२१ मा उहाँको आँखीझ्याल भन्ने पहिलो कथा सङ्ग्रह प्रकाशित भयो । यस सङ्ग्रह आउनेबेलासम्म चाहिँ उहाँका कथामा मूलतः व्यक्तिभित्रको यौन आचरणबारेका सूक्ष्म विश्लेषणको अभिव्यक्ति भएको पाइन्छ । तर आँखीझ्यालपछि आएका कथाकृतिहरूभित्र सङ्कलित कथाहरूमा चाहिँ व्यक्ति मनभित्रको यौन मनोवैज्ञानिक पक्षहरूको सूक्ष्म निरीक्षणका साथसाथै जीवनका विसङ्गतिहरू पनि उधिनिएको पाइन्छ । मानस, हिउँमा परेका डोबहरू कथासङ्ग्रहरूमा भने यौनका कथ्यहरूमा नभई जीवनका विसङ्गतिहरूबारे पनि एकदमै धेरै चित्रण भएको पाउँछौँ । यस पक्षबाट उहाँका कथाहरू उति अध्ययन हन नसकेको अवस्था देख्छु म ।

बुवालाई २०४९ साल वैशाख ७ गते अचानक हृदयाघात भयो । त्यो बेला मेरो सानो छोरो जन्मिएको थियो, त्यसैले सुत्केरी स्याहारिन म माइतीमै बसिररहेकी थिएँ दुई महिना पहिलेदेखि । बुवाको त्यो अन्तिम घडीको परिस्थिति म सम्झन्छु, एकैछिन अघिसम्म उहाँ गफ गरिरहनु भएको थियो हामीसित । अचानक ‘छाती दुख्यो’ भन्नुभयो । डा. टीएन भट्टराईलाई तुरुन्तै बोलायौँ । टीएन भट्टराईलाई ठूलो दिदीले तुरुन्तै ट्याक्सीमा लिएर आउनुभयो । उनी आएर बुवालाई जाँच्न के खोज्दै थिए बुबाको अन्तिम अवस्था भैसकेको रहेछ । डाक्टरले उहाँलाई तल सार्नुस् भनिहाले । त्यसरी उहाँ छिनको छिनमै अचानक बित्नुभयो ।

बुवालाई अलिअलि दमको समस्या थियो । जाडो महिनामा केही समस्या हुन्थ्यो तर त्यस्तो धेरै गाह्रो थिएन । कतिपयले दमको दीर्घ रोग थियो र त्यही कारणले बित्नु भयो भनेको पनि सुनियो । तर यथार्थ त्यो होइन । उहाँ हृदयाघातले बित्नुभएको हो ।

बुवाको भौतिक अवसानपछि धेरैले उहाँका बारेमा कुरा सोध्थे । म साहित्य क्षेत्रमा संलग्न रहेकी हुनाले पनि उहाँका बारेमा धेरैले धेरै प्रश्नहरू गर्थे । त्योबेला बुवाबारे सोधिने हरेक प्रश्नले मलाई पीडा हुन्थ्यो । प्रश्नले घाउमा नुन हालेझैँ हुन्थ्यो । किनकि बुवा भौतिक रूपमा हुनुहुन्न भन्ने तीतो सत्यलाई म स्वीकार्नै चाहन्नथे कति पछिसम्म पनि । त्यसैले बुबाबारे कुरा कोट्याइदिँदा मलाई पीडा हुन्थ्यो ।

–अहिले उहाँका नाममा परिवारबाट संस्था पनि खोलिएको छ ? के काम गर्छ यसले ?

कोरोना महामारीको लकडाउनमा हामीले बुबाका सिर्जनाको खोजी गर्ने काम गर्यौँ । यो क्रममा एउटा संस्थाको आवश्यकता महसुस भयो अनि पोषण पाण्डे–तीर्थ सदन भनेर आमा र बुवाको नाममा एउटा संस्था खोलिएको हो । यस काममा बहिनी रञ्जुको सक्रियता विशेष रहेको छ । बुबाआमाको सम्झनामा विभिन्न सेवाका कामहरु गर्ने उद्देश्य यसको रहेको छ । बुवाको साहित्यिक क्षेत्र भएको हुनाले त्यो क्षेत्रमा पनि काम गर्नेछ । बालबालिकाप्रति बुवाको एकदमै धेरै लगाव भएकाले यो क्षेत्रमा पनि काम गर्ने यसको उद्देश्य रहेको छ र अरू पनि कतिपय काम गर्ने यसको अठोट छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शिखर मोहन
शिखर मोहन
लेखकबाट थप