शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

घोराही उपमहानगरपालिका मेयरमा गठबन्धनबाट शर्मा र एमालेबाट चौधरी उठ्ने तयारी

बुधबार, ०७ वैशाख २०७९, ११ : ३९
बुधबार, ०७ वैशाख २०७९

दाङको घोराही उपमहानगरपालिका मेयरमा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य हेमराज शर्मा उठ्ने  तयारी गरेका छन् । सत्ता गठबन्धनबाट घोराही उपमहानगरपालिका माओवादीको भागमा परेपछि शर्मालाई उठाउने तयारी गरिएको हो । उपमेयर काँग्रेस भागबण्डामा परेकाले भुपबहादुर डाँगीलाई उठाउने तयारी गरिएको छ । यद्यपि मेयर र उपमेयरको नाम आधिकारिक रुपमा पार्टीले भने निर्णय गरिसकेका छैनन् ।

गठबन्धनबाट घोराही मेयरमा शर्मालाई उठाउने निर्णय गर्ने माओवादी केन्द्रका केन्द्रीय सदस्य निर्मल आचार्यले बताए । ‘घोराही मेयर माओवादी भागमा परेको भन्ने मिडियाबाट थाहा पाएको छौं । आधिकारिक सर्कुलर आइसकेको छैन । पक्कै पनि घोराही माओवादीको भागमा पर्ने निश्चित छ’ रातोपाटीसँग कुरा गर्दै आचार्यले भने, ‘हामीले पहिलेदेखि मेयरमा एक मात्र उम्मेदवार हेमराज शर्मालाई उठाउने तयारी गरेका छौ । औपचारिक बैठक १२ बजे बस्दै छ । यो बैठकले शर्मालाई मेयर उठाउने निर्णय गर्ने छ ।’

यसअघि माओवादीबाट जीवन गौतमले मेयरको आकांक्षा राखेका थिए । उनले टिकट नपाउने स्थिति देखिएपछि पार्टी छोडेको बताएको. छ । तर, गौतमले माओवादीको नीति, विचार कार्यशैली कम्युनिस्ट नभएकाले पार्टी छोडेको बताएका छन् । 

उपमेयर काँग्रेसको भागमा परेकाले काँग्रेसले आफु अनुकूल सिफारिस गर्ने आचार्यले बताए । ‘आमजनताको धारणा माओवादी र काँग्रेस मिलेर जाने कुरा सहर्ष स्वीकार गरेका छन् । गठबन्धनको पक्षमा राम्रो माहोल बन्दै गएको छ’ आचार्यले भने, ‘मलाई लाग्छ गठबन्धनबाट मेयर उप मेयरको जित सुनिश्चित छ ।’ काँग्रेसबाट उप मेयरमा बालिका लम्साल, जनका केसी, पुष्पा श्रेष्ठको नाम सिफारिस भएको छ । यद्यपि, काँग्रेसले भुपबहादुर डाँगीलाई उपमेयर उठाउने तयारी गरेको छ । तर, पार्टी कमिटीबाट भने आधिकारिक निर्णय भइसकेको छैन ।

 एमालेबाट चौधरी र सिग्देलको नाम सिफारिस 
यस्तै नेकपा एमालेबाट घोराही मेयरमा नरुलाल चौधरी र सीता सिग्देल न्यौपानेको नाम सिफारिस भएको छ। हाल घोराहीका मेयर चौधरी उपमेयर सिग्देल दुबैको मेयरमा नाम सिफारिस भएको चौधरीले बताए ।

‘हालका मेयर र उपमेयर दुबै जनाको नाम मेयरमा सिफारिस भएको छ’ चौधरीले भने, ‘पार्टीले जसलाई टिकट दिन्छ उहीँ उठ्ने स्थिति बन्छ ।’

तर, एमालेले चौधरीलाई नै उठाउने सम्भावना बलियो छ ।  तुलनात्मक रुपमा चौधरीले मेयर हुँदा राम्रो काम गरेकाले उनी नै उठ्ने सम्भावना बलियो देखिएको छ ।  चौधरी एमालेको पोलिटब्युरो सदस्य हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप