सोमबार, ०८ पुस २०८१
ताजा लोकप्रिय

सशस्त्रमा च्याप्टर क्लोज, नेपाल प्रहरीमा को बन्ला नयाँ आईजीपी ?

बुधबार, ०७ वैशाख २०७९, १५ : ००
बुधबार, ०७ वैशाख २०७९

काठमाडौँ । २०७९ वैशाख ३० मा स्थानीय तहको निर्वाचन हुँदैछ । निर्वाचनको सुरक्षाका लागी नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले आफ्नो तयारी गरिरहेका छन् । चुनावी सुरक्षाको मुख्य जिम्मेवार निकाय नेपाल प्रहरी र सशस्त्र प्रहरीको नेतृत्व सो निर्वाचन भन्दा अघि परिवर्तन हुँदै छ ।

नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्री ३० वर्षे सेवा अवधि पुरा गरेर २०७९ वैशाख १८ मा मा अवकाश जाँदैछन् । उनी २०७७ असार २३ मा प्रहरी महानिरीक्षक नियुक्त भएका थिए । सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसी पनि वैशाख १८ मा अवकाशमा जान्छन् । उनी २०७८ चैत ३० मा आईजीपीमा नियुक्त भएका हुन् ।

४ एआईजी प्रतिस्पर्धामा

नेपाल प्रहरीको कमाण्ड समाल्न ४ जना अतिरिक्त महानिरीक्षक (एआईजी) प्रतिस्पर्धामा छन् । २०४९ चैत ११ मा इन्स्पेक्टरमा भर्ना भएका विश्वराज पोखरेल, सहकुल बहादुर थापा, धिरज प्रताप सिंह र रवीन्द्र बहादुर धानुक आईजीपी बन्ने प्रतिस्पर्धामा छन् ।

आईजीपीका प्रतिस्पर्धीहरु एउटै मितिमा प्रहरीमा भर्ना भए पनि फरक समयमा एआईजीमा बढुवा भएका थिए । विश्वराज पोखरेललाई २०७७ मङ्सिर २५ मा केपी शर्मा ओली नेतृत्वको सरकारले एआईजीमा बढुवा गरेको थियो । सहकुल थापा २०७८ असार २४ मा एआईजी भएका हुन् ।

२०७८ चैत १७ मा धिरज प्रताप सिंह र रवीन्द्र बहादुर धानुकलाई वर्तमान मन्त्रिपरिषद्ले एआईजीको दरबन्दी थपेर बढुवा गरेको थियो । एआईजीको वरीयता अनुसार विश्वराज अरू प्रतिस्पर्धी भन्दा १६ महिना सिनियर छन् । सहकुल बहादुर थापा एआईजी भएको ९ महिना पुरा भएको छ । सिंह र धानुक एआईजीमा बढुवा भएको १ महिना पुग्दैछ ।

चुनाव भन्दा १० दिनअघि सरकारले कसलाई आईजीपी नियुक्त गर्छ भन्नेबारे आम चासो छ । सरकारसँग दुईवटा विकल्प छ । वरीयताको आधारमा नियुक्त गर्ने वा नेतृत्व प्रदान गर्ने कुशलता र आफूभन्दा मुनिका प्रहरीलाई प्रोत्साहन र परिचालन गर्न सक्ने व्यक्तिलाई प्रहरीको कमाण्ड सुम्पिने ।

प्रहरी नियमावली–२०७१ को नियम ४१ ले आईजीपीबारे ज्येष्ठता, वरीयता र कार्यसम्पादनलाई मूर्त रूपमा व्याख्या गरेको छ  । तर, नेतृत्व क्षमता, मातहतलाई प्रोत्साहन र परिचालन गर्न सक्ने क्षमताको आधारमा सरकारले उपयुक्त देखेको उम्मेदवारलाई नियुक्त गर्न सक्ने व्यवस्था अमूर्त रहेको बताउँछन् पूर्व एआईजी राजेन्द्र सिंह भण्डारी । रातोपाटीसँग कुरा गर्दै भण्डारीले भने–‘अमूर्त कुरालाई टेकेर आफूले चाहेको मन्छेलाई अगाडी ल्याउने प्रवृत्ति यदाकदा देखिन्छ तर, त्यसमा सर्वोच्च अदालतको फैसलाले बन्देज गरेको छ ।’ नियमावली टेकेर जाँदा स्वाभाविक बढुवा हुने तर, निश्चित व्यक्तिलाई पत्याउने र राजनैतिक दलको ट्याग लगाउने कुरा डरलाग्दो गरी विकास भएको बताउँछन् पूर्व एआईजी भण्डारी । 

तत्कालीन प्रहरी वरिष्ठ उपरीक्षक रविप्रताप राणा सहित ६ जनाले दायर गरेको रिटमा सर्वोच्च अदालतले ज्येष्ठता मात्र बढुवाको मुख्य आधार नभएको फैसला गरेको थियो । त्यस्तै, २०७३ मा तत्कालीन डिआईजी नवराज सिलवालले दायर गरेको रिटमा सर्वोच्च अदालतको वृहद पूर्ण इजलासले आईजीपी नियुक्तिमा ज्येष्ठता र वरिष्ठताको खास महत्त्व हुने र त्यसलाई प्राथमिकताका साथ महत्त्व दिनुपर्ने फैसला गरेको थियो ।  २०७३ चैत ८ मा सर्वोच्चले गरेको फैसलामा भनिएको छ–‘वरिष्ठतालाई स्थान दिनु प्रहरी संगठनको चेन अफ कमाण्ड कायम राख्न पनि आवश्यक हुन्छ ।’  

सशस्त्र प्रहरी बलबाट अवकाश पाएका पूर्व डिआईजी माधव थापा सिनियारिटीको आधारमा प्रहरी प्रमुख नियुक्त गर्नुपर्ने बताउँछन् । रातोपाटीसँग कुरा गर्दै थापाले भने–‘सिनियारिटी र कार्यक्षमता भएको उम्मेदवारलाई आईजीपी नियुक्त गर्नुपर्छ तर, सिनियारिटी भनेर भ्रष्टाचारमा लिप्त व्यक्तिलाई कमाण्ड सुम्पनु हुँदैन ।’

कमाण्ड 

आईजीपीको प्रतिस्पर्धी एआईजीहरूले सबैभन्दा धेरै अपराध हुने काठमाडौँ उपत्यकालाई नजिकबाट बुझेका छन् । विश्वराज पोखरेल र रवीन्द्र बहादुर धानुकले एसएसपी हुँदा जिल्ला प्रहरी परिसर काठमाडौँको कमाण्ड गरेका थिए । 

आईजीपी हुनका लागी कासमु किर्ते गरेको आरोपमा तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले तत्कालीन डिआईजी नवराज सिलवाललाई मुद्दा चलाएको थियो । सो मुद्दाको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाउन आनाकानी गरेपछि धानुकलाई हटाएर उनको ठाउँमा पोखरेललाई सरुवा गरिएको थियो । २०७४ माघ अन्तिम साता धानुकको सङ्घीय प्रहरी इकाई कार्यालय बागलुङमा सरुवा भयो । पोखरेलले सो मुद्दाको अनुसन्धान गरेर राय सहितको प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाए । 

एसपीमा पोखरेलले मोरङ जिल्ला कमाण्ड गरेका थिए । डिआईजीमा उनले काठमाडौँ उपत्यका प्रहरी कार्यालयको कमाण्ड गरे । धानुकले काभ्रे, सर्लाही र रुपन्देही जिल्ला कमाण्ड गरेका थिए । डिआईजी भएर उनले लुम्बिनी प्रदेशको कमाण्ड गरेका छन् । 

वरीयताको दोस्रो नम्बरमा रहेका सहकुल बहादुर थापा र तेस्रो वरीयताका धिरज प्रताप सिंहले तत्कालीन अपराध महाशाखा हाल काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको कमाण्ड गरेका थिए । 

२०७५ साउन २१ मा ११ वर्षीय बालक निशान खड्काको अपहरणपछि हत्यामा संलग्न अजय तामाङ र गोपाल तामाङ प्रहरी इन्काउन्टरमा मारिएका थिए । त्यतिबेला धिरज सिंह महाशाखाको प्रमुख थिए । प्रहरी उपरीक्षक हुँदा सिंहले दाङ जिल्लाको कमाण्ड गरेका थिए । डिआईजी भएर सिंहले मधेस प्रदेश कार्यालय र केन्द्रीय अनुसन्धान ब्युरोको कमाण्ड गरेका छन् । 

सहकुल थापाले सिन्धुपाल्चोक र काभ्रे जिल्लाको कमाण्ड गरेका छन् । महानगरीय अपराध महाशाखामा बस्दा थापाले बैंक ह्याक गरेर चोरीमा संलग्नहरूको जालो तोडेका थिए । डिआईजी भएपछि उनले केन्द्रीय अनुसन्धान ब्युरोमा काम गरेका छन् ।

सशस्त्रमा प्रतिस्पर्धा अन्त्य

वैशाख ५ मा सशस्त्र प्रहरीमा रिक्त अतिरिक्त महानिरीक्षक (एआईजी)मा राजु अर्याललाई बढुवा गर्न सिफारिस गरिएको छ । वरीयता सूचिमा अर्याल १ नम्बरमा थिए । अर्याललाई एआईजीमा बढुवा गर्न सिफारिस गरेसँगै भावी सशस्त्र प्रहरी महानिरीक्षकमा प्रतिस्पर्धाको अन्त्य भएको छ । 

एआईजीमा बढुवाका लागी ४ जना डिआईजीले आवेदन दिएका थिए । डिआईजीहरु राजु अर्याल, नारायणदत्त पौडेल, चन्द्र प्रकाश गौतम र वंशीराज दाहालले बढुवाको लागी आवेदन दिएका थिए । 

वरीयताको दोस्रो नम्बरमा पौडेल, तेस्रो नम्बरमा सिपी गौतम र चौथो नम्बरमा दाहाल थिए । अर्याल र नारायणदत्त पौडेल २०५४ चैतमा प्रहरी निरीक्षकमा भर्ना भएका थिए । गौतम २०५२ वैशाखमा सेनाको सह–सेनानीमा भर्ना भएर सशस्त्र प्रहरीमा आएका हुन् ।

बढुवा समितिको सिफारिस विरुद्ध उजुरी नपरेमा मन्त्रीपरिषद्ले सो सिफारिसलाई सदर गर्नुपर्छ । अर्याल २०७९ वैशाख १८ पछि आईजीपी नियुक्त हुनेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप