शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

जसपाको घोषणापत्रः भारत र चीनसँग आर्थिक मूल्य शृङ्खलामा अधिकतम लाभ लिने (पूर्णपाठ)

मङ्गलबार, ०६ वैशाख २०७९, २० : ४६
मङ्गलबार, ०६ वैशाख २०७९

जनता समाजवादी पार्टी नेपालले देशको तीव्र आर्थिक विकासका लागि पञ्च तत्त्वको तारतम्य मिलाउनुपर्ने जनाएको छ । जसपाले आज स्थानीय तह निर्वाचन २०७९ घोषणापत्र जारी गर्दै मुलुकमा उपलब्ध प्राकृतिक स्रोतसाधन, यातायात, सञ्चार र ऊर्जा जस्ता पूर्वाधार, आधुनिक र प्रभावकारी प्रविधि, श्रमशील प्रवृत्ति र विकास कार्यलाई अभिप्रेरित गर्ने राजनीतिक नेतृत्व एवं सहजीकरण गर्ने प्रशासनिक संयन्त्रहरूको बीच तारतम्य हुनुपर्ने जनाएको छ । 

यी पञ्च तत्त्वको तारतम्य मिलाएर समाजवाद–उन्मुख राष्ट्रिय औद्योगिक अर्थतन्त्रको निर्माण गर्ने नीति अङ्गीकार गर्ने जसपाले जनाएको छ । राज्यको सामाजिक उत्तरदायित्व सहितको समाजवादी बजार अर्थतन्त्रको आर्थिक मोडेल अवलम्बन गर्ने उल्लेख गर्दै जसपाले सो मोडेलमा सरकारी, निजी, सहकारी र सामुदायिक स्वामित्वबीच गतिशील सन्तुलन, सहकार्य र प्रतिस्पर्धा हुने घोषणापत्रमा उल्लेख गरेको छ । भारत तथा चीन जस्ता ठूला अर्थतन्त्रको बीचमा रहेको विशिष्ट भू–राजनीतिक स्थितिलाई मध्यनजर गर्दै सबै देशका अर्थतन्त्रसँग सम्भव र आपसी हितको सम्बन्ध राख्ने र भारत र चीनका अर्थतन्त्रको मूल्य शृङ्खलासँग जोडिएर अधिकतम लाभ लिने नीति अनुसरण गरिने घोषणापत्रमा उल्लेख गरेको छ ।

आर्थिक क्षेत्रगत हिसाबले सुरुको चरणमा कृषिको तीव्र रूपान्तरण र आन्तरिक तथा बाह्य बजारसँग जोड्ने ठूला भौतिक पूर्वाधार, ऊर्जा, प्राविधिक शिक्षा आदिमा विशेष जोड र उद्योग तथा पर्यटनमा ध्यान दिने नीति लिने जसपाले जनाएको छ । शिक्षा क्षेत्रमा आमूल परिवर्तन गरी दक्ष र उद्यमशील जनशक्ति निर्माण गर्ने, देशभित्रै रोजगारी सिर्जना गर्न स्वदेशी तथा विदेशी पुँजी तथा प्रविधि लगानीमैत्री वातावरण बनाउने जसपा नेपालले नीति लिएको छ । 

अर्थतन्त्रमा महान् फड्को हान्नको निम्ति अति आवश्यक संस्थागत र संरचनात्मक परिवर्तन गरिने उल्लेख गर्दै जसपाले त्यसका निम्ति सोपानक्रममा आधारित अनावश्यक प्रक्रियामुखी कर्मचारीतन्त्रलाई कार्यगत इकाई प्रणालीमा रूपान्तरण गर्ने घोषणापत्रमा उल्लेख गरेको छ । जमिनको सही उपयोग निम्ति वैज्ञानिक भूमिसुधारको कार्यान्वयन, सरकारी फजुल खर्चको अन्त्य गर्न सार्वजनिक खर्च पुनरावलोकन आयोगको प्रतिवेदनको कार्यान्वयन, सार्वजनिक खरिद ऐन लगायतका विकास विरोधी ऐन नियमहरूको परिवर्तनमा जोड दिइने घोषणापत्रमा उल्लेख छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप