बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय

सीएनआई भन्छ – देशको अर्थतन्त्र सुधारिँदै छ, आत्तिनु पर्दैन

मङ्गलबार, ०६ वैशाख २०७९, १८ : २९
मङ्गलबार, ०६ वैशाख २०७९

नेपाल उद्योग परिसंघले देशको अर्थतन्त्र सुधारोन्मुख रहेको बताएको छ । परिसंघले आज पत्रकार सम्मेलन नै गरेर देशको अर्थतन्त्र पूर्णरूपमा नियन्त्रणबाहिर गइनसकेको र सुधार भइरहेको बताएको हो ।

परिसंघले भनेको छ, ‘कोभिड १९ का कारण शिथिल अर्थतन्त्रमा चालु आर्थिक वर्षको सुरुबाटै पुनरोत्थानका संकेतहरू देखिन थाल्दा बजारमा वस्तुको उच्च माग सिर्जना भयो ।’ आर्थिक वर्षको मध्यसम्म अपेक्षाकृत तवरमा पर्यटन र विप्रेषण आय बढ्न नसक्दा केही चाप देखिएपनि हाल सुधार भइरहेको जानकारी परिसंघले दिएको हो ।

साथै अन्तर्राष्ट्रिय बजारमा वस्तुको मूल्यमा भएको अनपेक्षित वृद्धि एवं नेपाली बजारमा विगत दुई वर्ष देखि खुम्चिएको माग बढ्ने अवस्था आउँदा विदेशी विनिमय सञ्चितिमाचाप परेको बताइएको छ । यसैबीचमा नियमनकारी निकायले विदेशी विनिमय सञ्चिति जोगाउन एकपछि अर्को निर्देशन जारी गर्दा बजारमा असहज स्थिती उत्पन्न भएको परिसंघले बताएको छ ।

सरकारको कमजोर पुँजीगत खर्च र बजारमा लगानी योग्य रकमको अभाव रहिरहँदा तरलतामा समेत चाप परेको हो । तर, पछिल्लो समय अर्थतन्त्र निरन्तर सुधारतर्फ अघि बढेको परिसंघले उल्लेख गरेको छ । वैदेशिक व्यापार सुरुवाती पाँच महिनामा औषतमा १ खर्ब ६७ अर्ब बराबरको आयात भइरहेकोमा पछिल्लो तीन महिनामा मासिक औसत १ खर्ब ५६ अर्बको मात्रै आयात भइरहेको परिसंघले जानकारी दिएको छ । 

यस्तै, सुरुवाती ५ महिनामा २० अर्ब ६० करोडको औसत निर्यात रहेकामा पछिल्लो तीन महिनामा औसत निर्यात १५ अर्ब रहेको छ भने कूल विदेशी विनिमय सञ्चिति पहिलो ५ महिनामा ३.२४ प्रतिशतले ऋणात्मक रहेकोमा पछिल्लो तीन महिनामा १.५३ प्रतिशतले मात्रै घटेको देखिएको परिसंघले जनाएको छ । यस्तै, पुँजीगतखर्च सुरुवाती ५ महिनामा २८ अर्ब ४० करोडले खर्च भएकोमा पछिल्लो ३ महिनामा ४८ अर्ब ७० करोड खर्च भएको पहिलो ५ महिनामा विप्रेषण आप्रवाह मासिक औसत ७७ अर्ब ७० करोड रहेकोमा पछिल्लो ३ महिनामा मासिक औसत ८० अर्ब ८० करोड रूपैयाँ पुगेको लगायत कारणले अर्थतन्त्र चापमा नरहेको उसको दाबी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप