‘ठाकुर र महतो ओली नेतृत्वको सरकारमा जान हुने, म एमालेमा जान किन नहुने ?’
स्थानीय चुनावबारे जनकपुरधाम उपमहानगरपालिकामा लोसपा र एमालेबीच चुनावी तालमेल गर्ने विषयमा आन्तरिक छलफल चलिरहेको थियो । सो छलफल चलिरहेकै बेला मेयरका प्रत्याशी लोसपाका नेता जानकी राम साह पार्टी छाडेर आज मंगलबार एमाले प्रवेश गरेका छन् ।
हाल जनकपुरधाम उपमहानगरपालिका–७ का वडाध्यक्ष समेत रहेका उनी आगामी चुनावमा लोसपाबाट मेयरको टिकट नपाउने ‘कन्फर्म’ भएपछि एमालेतिर लागेका हुन् । टिकटका लागि पार्टीमा नाम सिफारिस भएकै थियो, त्यसको टुंगो नलाग्दै उनले किन पार्टी छाडे ? एमाले प्रवेश गर्न काठमाडौं आएका जानकीराम साहसँग रातोपाटीले गरेको छोटो कुराकानीः
पार्टीले तपाईंको नाम मेयरका लागि सिफारिस गरेको थियो । तर अचानक पार्टी छाडेर एमालेमा किन प्रवेश गर्नुभयो ?
पार्टीले म लगायत अन्य पाँच जनाको नाम सिफारिस गरेको छ । त्यसमध्ये प्रमेश्वर साहको हुने लगभग निश्चित भइसकेको छ । लोसपा नेपाल धनुषाका अध्यक्ष रहेका प्रमेश्वर साह मधेस प्रदेशको प्रदेशसभा सदस्य अनि लोसपाको तर्फबाट सचेतक पनि हुनुहुन्छ । सरकारमा जाने कुरा भयो भने मन्त्री पनि बन्ने भन्नुहुन्छ उहाँ । र, अहिले आएर उहाँलाई नै मेयर पनि चाहिन्छ । एक व्यक्तिलाई सबै पद दिएर पार्टी कसरी चल्छ ? यस्तै विविध कारणले लोसपा गम्भीर अवस्थामा पुगेको छ । प्रमेश्वर साहले नै पार्टी चलाऊन्, उहाँले नै सबै थोक लिऊन् भनेर छाडेर हिँडेको हुँ ।
टिकटको फाइनल नै नभएको बेला अहिले नै पार्टी छाडेर किन हिँड्नु भयो त ?
टिकटका लागि जति जनाको नाम सिफारिस भएपनि जसको कन्फर्म हुन्छ, त्यसको नाम पहिलेदेखि आउट हुन्छ । म राजनीति गरिरहेको छु, यति कुरा त म पनि बुझ्छु । प्रमेश्वर साहको हुने निश्चित छ भन्ने बुझेर नै म त्यहाँबाट निस्केको हुँ ।
प्रमेश्वर साहको महत्वाकांक्षा बाहेक पार्टी छाड्नुको अरू पनि कारण छन् कि ?
मुख्य कारण प्रमेश्वर साह नै हुनुहुन्छ, अरू कारण सकेन्ड्री हुन् । प्रमेश्वर साहले पार्टीमा जुन हैकम चलाउनु भएको छ । त्यसप्रतिको मेरो यो विद्रोह हो । म उहाँको हैकम सहेर पार्टीमा बस्न सक्दिन । पार्टीप्रति मेरो कुरा कुनै गुनासो छैन । तर उहाँ पार्टीको अध्यक्ष, प्रदेशसभा सदस्य, प्रमुख सचेतक भएर पार्टीमा जुन हैकम चलाइरहनु भएको छ, त्यो सहेर म बस्न सक्दिन त्यही भएर त्यहाँबाट निस्केको हुँ । चाहिने जति सबै उहाँले पाइसक्नु भयो अहिले आएर उहाँलाई मेयर पनि चाहिन्छ । अनि अरू नेताहरू के घाँस काट्न जाने त ? पार्टीमा अरू पनि नेताहरू छन् । सबैलाई जिम्मेवारी र अवसर दिनुपर्छ ।
यो विषयमा पार्टीभित्र कुरा उठाउनु भएन ?
मैले पटक पटक उठाएको छु । हालै लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोसँग कुरा गरेको थिएँ । उहाँले मसँग यसपटक उहाँलाई हुन दिनुस्, अर्को पटक तपाईंको पनि पालो आउँछ भन्नुभयो । मैले उहाँहरूको पनि सेन्टीमेन्ट बुझिसकें । उहाँहरू पनि प्रमेश्वर साहलाई नै मेयरको टिकट दिने मनस्थितिमा हुनुहुन्छ ।
विगतको आन्दोलनमा तपाईं केपी शर्मा ओलीको विरोध गर्दै पुतला समेत जलाउनु भएको थियो । तर, आज उहाँकै हातबाट टीका लगाएर एमाले पार्टीमा प्रवेश गर्नुभयो । तपाईंलाई द्विविधा भएन ?
केपी शर्मा ओली सरकारको नेतृत्व विरुद्ध म मात्र होइन, पार्टीका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतोलगायत सबै शीर्ष नेताहरुले आन्दोलन गर्नुभएको थियो । तर उहाँहरू केपी ओली नेतृत्वको सरकारमा सहभागी हुनुभयो । गठबन्धनमा अहिले पनि केपी ओली शर्मासँगै हुनुहुन्छ उहाँहरू । अनि अहिले मैले केपी शर्मा ओली नेतृत्वको पार्टी एमालेमा प्रवेश गरे त के गल्ती गरे ? उहाँहरू मधेसको मुद्दाका लागि ओलीसँग मिलेको भन्नुहुन्छ । म अब त्यही मुद्दा लिएर पार्टीमा प्रवेश गरेको छु । म पार्टी भित्रैबाट मधेसको मुद्दा कार्यान्वयनका लागि पहल गर्नेछु ।
एमाले पार्टीमा प्रवेश गर्न लाग्दा ओलीसँग मधेस मुद्दाको विषयमा केही कुराकानी भएको छ कि ?
अहिले भएको छैन । अहिले सिधै प्रवेश गरेको छु । अब यी विषयहरूमा विस्तारै कुरा हुँदै गर्छन् ।
जनकपुरधाम उपमहानगर पालिकाको मेयरका लागि तपाईंको टिकट त कन्फर्म नै भएको होला नि, हैन ?
तपाईंहरुलाई यो थाहा भएकै कुरा हो, यसमा म अहिले केही बोल्दिन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन लाखभन्दा बढीले अवलोकन गरे अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी
-
बुबाआमाले कोठामा थुनेर राखेका बालकसहित चार बेसाहारा बालबालिकाको उद्धार
-
काम सकिएपछि अनिवार्य बत्ती अफ गर्न काठमाडौँ जिल्ला अदालतको आग्रह
-
लोकप्रिय मत ल्याउने पार्टीबाट पाँच वर्षसम्म प्रधानमन्त्री बन्ने गरी संविधान संशोधन आवश्यक : शर्मा
-
भूकम्प र मनसुनजन्य विपद् पश्चातको पुनःनिर्माणमा झण्डै एक खर्ब बजेट लाग्ने अनुमान
-
‘माओवादी केन्द्रीय समिति बैठकमा किचिएर मरिएला कि भन्ने डर भयो’