आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

इमान्दारीतालाई कमजोरी ठाने एक्लैपनि निर्वाचन लड्न तयार : एकीकृत समाजवादी

मङ्गलबार, ०६ वैशाख २०७९, १५ : ५५
मङ्गलबार, ०६ वैशाख २०७९

नेकपा एकीकृत समाजवादीले वर्तमान गठबन्धनलाई संसदीय चुनावसम्म लैजाने तर आफ्नो इमान्दारीतालाई कमजोरी ठाने एक्लै भए पनि निर्वाचन लड्न तयार रहेको जनाएको छ । मंगलबार चुनावी घोषणापत्र सार्वजनिक गर्दै सो पार्टीले आकाशमा प्रतिगमनको कालो छाया पुनः आउन सक्ने संभावनाका कारण मात्र गठबन्धनलाई जोड दिइरहेको दावी गरेको छ । ‘नेपाली जनताले सात दशक लामो सङ्घर्षबाट संविधानसभामार्फत घोषणा गरेको समाजवाद उन्मुख प्रावधानसहितको संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको रक्षाका लागि नै यो गठबन्धन बनाइएको हो’, घोषणापत्रमा भनिएको छ, ‘यो गठबन्धन निर्माणमा हाम्रो निर्णायक भूमिका रहेको छ ।’

राष्ट्रियता, संविधान र लोकतन्त्रमाथि आक्रमणको खतरा अझै पनि कायमै रहेको भन्दै घोषणापत्रमा एकपटकका लागि तीनओटै तहका निर्वाचनमा सँगै मिलेर जानुपर्दछ भन्ने विश्लेषणका आधारमा नै हामी वर्तमान गठबन्धनलाई अझै बलियो बनाउन चाहेको जनाइएको छ । ‘गठबन्धनलाई बलियो बनाएर लैजानका लागि हाम्रो अधिकतम प्रयास रहने छ । वर्तमान गठबन्धनलाई आगामी संसदीय निर्वाचनमा समेत सँगै लैजानका लागि हाम्रो पार्टी पूर्णतः इमान्दार छ’, समाजवादीले भनेको छ,  ‘हाम्रो इमान्दारीलाई कसैले कमजोरी ठान्छ भने हामी गठबन्धनको सहयात्रालाई सम्मान गर्दै एक्लै चुनावमा जान पनि तयार छौँ ।’

देशको आकाशमा प्रतिगमनको कालो छायाँ पुनः आउन सक्ने सम्भावनाका कारणले मात्रै गठबन्धन सहितको चुनावी अभियानलाई जोड दिइरहेका भन्दै समाजवादीले जस्तोसुकै परिस्थिति आइलागे पनि लोकतन्त्र, राष्ट्रियता र जनजीविकाको अभियानमा निरन्तर अगाडि बढ्न प्रतिबद्ध रहेको उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप