शनिबार, ०६ पुस २०८१
ताजा लोकप्रिय

लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा मित्रवत् प्रतिस्पर्धा गर्ने गठबन्धनको तयारी

आफूले नै जित्ने आत्मविश्वासमा दलहरु
मङ्गलबार, ०६ वैशाख २०७९, ११ : ४३
मङ्गलबार, ०६ वैशाख २०७९

केन्द्रीय सत्तारुढ गठबन्धनले आपसमा तालमेलसहित स्थानीय तहको निर्वाचनमा जान निर्देशन दिए पनि गठबन्धनमा आवद्ध दलहरु लुम्बिनी प्रदेशका केही जिल्लामा मित्रवत् प्रतिस्पर्धा गर्ने सहमतिमा पुगेका छन् । १०९ स्थानीय तह रहेको लुम्बिनी प्रदेशमा रुपन्देही, बाँके, रोल्पा, कपिलवस्तु, नवलपरासी, प्युठानका केही स्थानीय तहमा गठबन्धन दलहरुबीच मित्रवत् प्रतिस्पर्धासहित चुनावमा जाने सहमति भएको हो । गठबन्धन घटकबीच आफू बलियो रहेको भन्दै पालिका प्रमुख पदका लागि आपसमै हानथाप भएपछि यस्तो सहमति गरिएको हो ।

रुपन्देहीमा १६ स्थानीय तहमध्ये लुम्बिनी सांस्कृतिक नगरपालिका, मर्चवारी गाउँपालिका, सम्मरीमाई गाउँपालिका, कोटहीमाई गाउँपालिका, मायादेवी गाउँपालिका र गैडहवा गाउँपालिकामा गठबन्धन घटकहरु छुट्टाछुट्टै चुनाव लड्ने सहमति भएको हो ।

यस्तै, बाँके जिल्लामा नेपालगन्ज उपमहानगरपालिका र केही स्थानीय तहमा जसपाले गठबन्धनबीच तालमेल बिना नै प्रतिस्पर्धामा जाने निर्णय गरेको छ । रोल्पा जिल्लामा पनि गठबन्धन घटक मित्रवत् प्रतिस्पर्धामा जाने तयारी भएको छ ।

नेपाली काँग्रेसले रोल्पामा तालमेल नभए पनि आफूले ५ भन्दा धेरै स्थानीय तह जित्ने दाबी गरेको छ । यहाँ माओवादी केन्द्रले अघिल्लो निर्वाचनमा ७ वटा स्थानीय तह जितेको थियो । अहिले त्योभन्दा धेरै जित्ने उसको दाबी छ । दुवै दलले आफू शक्तिशाली रहेको भन्दै पालिका प्रमुखमा दाबी गरेपछि तालमेलमा समस्या भएको हो ।

नेपाली काँग्रेस रोल्पाका सभापति किशोर आचार्यले यहाँ नेपाली काँग्रेस र माओवादी केन्द्रको मात्र पकड रहेकाले आफूहरु मित्रवत् रुपमा प्रतिस्पर्धामा उत्रने तयारी भएको रातोपाटीलाई बताए । उनले भने, ‘यहाँ गठबन्धन घटकबीच नै प्रतिस्पर्धा हुँदासमेत एमाले निकै कमजोर देखिन्छ, त्यसैले हामीले मित्रवत् रुपमा चुनावमा जान्छौँ भनेर त्यही अनुसारको सिफारिस पठाएका छौँ ।’

यस्तै कपिलवस्तु र नवलपरासीका केही स्थानीय तहमा पनि गठबन्धन घटकबीच तालमेल नहुने भएको छ । यहाँ पनि धेरै ठाउँमा गठबन्धनभित्रै मित्रवत् प्रतिस्पर्धा हुने जनाइएको छ । खासगरी एमाले कमजोर भएको र गठबन्धनभित्रकै दलहरुको बलियो पकड रहेका पालिकामा गठबन्धन घटकबीच तालमेल बिना नै प्रतिस्पर्धा हुने भएको हो ।

गठबन्धनभित्र पनि अर्को गठबन्धन

सत्तारुढ ५ दलीय गठबन्धनभित्र पनि अर्को गठबन्धन गरेर कतिपय स्थानीय तहमा चुनावी प्रतिस्पर्धा गर्ने तयारी भइरहेको छ । खासगरी एमालेले नजित्ने ठाउँहरुमा नेपाली काँग्रेस, माओवादी, जसपाले यस्तो रणनीति ल्याएका छन् । प्युठानको झिमरुक गाउँपालिकामा माओवादी र काँग्रेसबीच तालमेल हुने भएको छ ।

यसअघि राष्ट्रिय जनमोर्चाले जितेको गाउँपालिकामा दुई दलमात्रै मिलेर लड्ने समझदारी गरेपछि यहाँ गठबन्धनभित्र अर्को गठबन्धन बनेको हो । पाँच दलीय गठबन्धनबाट राष्ट्रिय जनमोर्चा, एकीकृत समाजवादी र जनता समाजवादीलाई पन्छाएर दुई दलमात्रै मिलेर लड्ने समझदारी गरेका छन् ।

बाँकेमा पनि जसपाले पाँच दलीय गठबन्धनमा तालमेलका लागि इच्छा नगरेपछि गठबन्धनभित्रका अन्य दलले तालमेलको तयारी गरेका छन् । माओवादी केन्द्रका बाँके जिल्ला इन्चार्ज अक्कल बहादुर बमका अनुसार केन्द्रको नीति अनुसार सहमतिको प्रयास भए पनि केही ठाउँमा एक्लाएक्लै लड्ने तयारी भइरहेको छ । ‘गठबन्धनभित्रका सबै दल नभए पनि केही दलबीच तालमेल गरेर मैदानमा जाने तयारीमा छौं,’ उनले भने ।

यस्तै कपिलवस्तु र नवलपरासीका केही ठाउँमा पनि गठबन्धनभित्रै दुई दलीय गठबन्धन हुने देखिएको छ । एमाले कमजोर भएका स्थानीय तहमा गठबन्धनभित्रका दलहरुले प्रमुख पदका लागि हानथाप गरेपछि गठबन्धन घटकबीच स्वच्छ प्रतिस्पर्धा गर्ने र केही पालिकामा दुई वा तीन दलीय तालमेलको तयारी भएको नेपाली काँग्रेस लुम्बिनी प्रदेश सभापति अम्मर पुनले रातोपाटीलाई बताए ।

प्रदेश तहमा के भइरहेको छ ?

केन्द्रले दिएको निर्देशन अनुसार प्रदेश गठबन्धनको बैठक पटकपटक बसेको छ । गठबन्धनको प्रदेशस्तरीय बैठकले स्थानीय तहबाट मिलेर आएका सिफारिसलाई अनुमोदन गर्ने तथा नमिलेका ठाउँमा पनि मिलाउन प्रयास गर्ने निर्णय भएको थियो । तर गठबन्धनभित्रका दलबाहेक अन्यले जित्ने सम्भावना कम रहेका पालिकामा भने आपसमै मित्रवत् प्रतिस्पर्धा गर्दा पनि समस्या नहुने भन्दै एक प्रकारको सहमति गरिएको छ । यसमा प्रदेशले समन्वय गरिरहेको नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले बताए ।

जसपा नेपालका लुम्बिनी प्रदेश अध्यक्ष अशोक यादव पनि सकभर गठबन्धनबीच तालमेल गर्ने, नभए पनि गठबन्धनबाहेकका दलले जित्ने सम्भावना नरहेका पालिकामा मित्रवत् प्रतिस्पर्धा गर्ने तयारी भइरहेको बताउँछन् । यस आधारमा कतिपय पालिकामा जसपा र माओवादी, कतै नेपाली काँग्रेस र माओवादीबीच तालमेल हुने सम्भावना पनि छ ।

प्रदेशका १०९ वटा स्थानीय तहमध्ये नेपाली काँग्रेसले ७५ वटा स्थानीय तह आफूले पाउनुपर्ने दाबी गरेको छ । नेकपा माओवादी केन्द्रले यसअघि आफूले जितका १९ वटा र दोश्रो स्थानमा रहेका पालिकाको नेतृत्व आफूले पाउनु पर्ने दाबी गरेको छ । जसका आधारमा उसले ३५ देखि ४० सिटमा दाबी गर्दै आएको छ ।

जसपा र जनमोर्चाले पनि पहिला आफूले जितेका र दोश्रो स्थानमा रहेका पालिका दाबी गरेका छन् । नेकपा एकीकृत समाजवादीले २२ वटा पालिका पाउनुपर्ने माग गरेको छ । नेपाली काँग्रेस लुम्बिनी प्रदेश सभापति पुनले अझै कतिपय जिल्लाबाट रिपोर्ट आउँदै गरेको भन्दै अन्तिम अवस्थासम्म पनि आफूहरुले तालमेलका लागि प्रयास गर्ने रातोपाटीलाई बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप