बुधबार, २४ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

डेढ दशकपछि धनगढी-दिपायल द्रुतमार्गको ट्रयाक खुल्यो

मङ्गलबार, ०६ वैशाख २०७९, ०८ : ५२
मङ्गलबार, ०६ वैशाख २०७९

धनगढी–दिपायल द्रुतमार्ग बनाउनका लागि प्रक्रिया सुरु गरिएको डेढ दशकपछि ट्रयाक खुलेको छ । कैलालीको चुरे गाउँपालिका–१ बबैना–ओजेना तीन किलोमिटर सडकखण्डको ट्रयाक खुलेसँगै खुटिया–दिपायल दु्रतमार्गको ट्रयाक पूरा भएको हो । धनगढी–दिपायल द्रुतमार्ग निर्माण आयोजना कार्यालयका अनुसार कैलाली र डोटी खण्डमा ट्रयाक खोल्ने काम सकिएको बताउँदै गाडी सञ्चालनका लागि ग्रेडिङ गर्न बाँकी छ । कैलाली खण्डमा पर्ने बबैना–ओजेनामा तीन किलोमिटरमा ट्रयाक खोल्ने काम भएसँगै अब ग्रेडिङ गर्ने कार्य अघि बढाइने आयोजनाका इञ्जीनियर दिनेश रैखोलाले जानकारी दिए ।

विसं २०६४ मा खुटिया–दिपायल द्रुतमार्गको औपचारिकरूपमा सर्भे गरी ट्रयाक खोल्ने कार्य थालिएको थियो । त्यसबेला खुटियाबाट दिपायलसम्म ८२ किलोमिटर सडक सर्भे भए पनि पछि कैलालीको स्याउलेबाट धनगढीसम्मको १० किलोमिटर सडक पनि थपेर ९२ किलोमिटरको धनगढी–दिपायल द्रुतमार्ग बनाउने निर्णय भएको थियो ।

अहिले सो सडकको धनगढी–स्याउले खण्डमा कालोपत्र निर्माणका लागि काम सुरु भएको छ । खड्का कृष्ण नारायणम् जेभीले भ्याटबाहेक रु १६ करोड ४० लाखमा ठेक्का पाएपछि धनगढीको पिपलचौताराबाट स्याउलेसम्मको १३.४ किलोमिटरमा कालोपत्र गर्नका लागि काम सुरु भएको हो ।

ठेक्का सम्झौताअनुसार धनगढी उपमहानगरपालिका–५ हसनपुरस्थित पिपलचौताराको सामुदायिक प्रहरी कार्यालयबाट स्याउलेमा पर्ने पूर्वपश्चिम राजमार्गभन्दा केही माथिसम्म कालोपत्र गरिने इञ्जीनियर रैखोलाले बताए । उनले गत आर्थिक वर्षको असार २० गते आउँदो ३० महिनामा कालोपत्र गरिसक्ने गरी ठेक्का सम्झौता भएको बताए ।

धनगढी–दिपायल द्रुतमार्ग आयोजना कार्यालयका अनुसार चालु आवमा धनगढीबाट १३.४ किलोमिटर र डोटीको दिपायलबाट ९.५ किलोमिटर सडकमा कालोपत्र गर्ने सम्झौता भएको आयोजना कार्यालयले जनाएको छ । आयोजनाका इञ्जीनियर रैखोलाका अनुसार धनगढी–स्याउ सडकखण्ड कालोपत्रका लागि अहिले सो सडकखण्डको दायाँबायाँ दुवैतर्फ नाली निर्माण गरी सडकको तह मिलाउने काम भइरहेको छ ।

यसैगरी सुदूरपश्चिमका मुख्यमन्त्री चिलोचन भट्टले सोमबार सो सडकखण्डको स्थलगत अनुगमन गरेका छन् । अनुगमनका क्रममा सो दु्रतमार्गको ट्रयाक खोल्ने काम सम्पन्न भएपछि थप स्त्तरोन्नतिको कार्यले गति लिने उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप