बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

वैशाख ३० गते चुनाव हुनेमा एमालेको आशंका, बैठकले गर्यो यस्तो निर्णय

सोमबार, ०५ वैशाख २०७९, २२ : ३८
सोमबार, ०५ वैशाख २०७९

स्थानीय तह निर्वाचन आउन २५ दिनमात्रै बाँकी रहँदा प्रमुख प्रतिपक्षी दल एमालेले चुनाव सार्ने षड्यन्त्र भएको जिकिर गरेको छ । उसले तोकिएको मितिमा चुनाव हुनेमा आशंका व्यक्त गर्दै निर्वाचन हुन नदिन सत्तारुढ गठबन्धन लागिपरेको आरोप लगाएको हो । 

एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा सोमबार बसेको सचिवालय बैठकले गठबन्धनलाई दोष थोपर्दै तोकिएको मितिमा चुनाव हुनेमा आशंका व्यक्त गरेको हो । बैठकले चुनाव हुन नदिने विरुद्ध पार्टी पंक्ति एकढिक्का भएर लाग्ने निर्णय भएको बैठकपछि प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । गठबन्धनले वैशाख ३० गतेका लागि तय भएको स्थानीय तह निर्वाचन सार्ने षड्यन्त्र गरेको बैठकको ठहर रहेको उनको भनाइ छ । 

‘वैशाख ३० गतेको चुनाव सार्ने जुन खालको षड्यन्त्र भइराखेको छ । त्यसको हामी कडा प्रतिवाद र विरोध गर्छौँ’, गुरुङले भने, ‘कुनै हालतमा हामी चुनाव रोक्ने षडयन्त्रलाई निस्तेज पार्छौँ ।’ उनले सम्पूर्ण पार्टी पङ्क्तिलाई चुनावको तयारीमा लाग्न निर्देशन दिने निर्णय भएको पनि बताए । 

एमालेका नेता हरुले चुनाव सार्ने षड्यन्त्र हुँदै आएको जिकिर गर्दै आएका छन् । तर निर्वाचन आयोगले तोकिएको मितिमै चुनाव हुने स्पष्ट गर्दै आएको छ भने त्यसका लागि तयारी तीव्र गतिमा भइरहेको आजैको पत्रकार सम्मेलन पनि जानकारी दिइएको थियो । 

यस्तै सत्ता घटकका एक दल माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पनि आजको पत्रकार सम्मेलनमा तोकिएकै मितिमा चुनाव हुने बताएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप