बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

धामीझाँक्रीको कुटाइबाट मृत्यु भएकी महिलाको शव फरेन्सिक परीक्षणपछि अन्त्येष्टि

सोमबार, ०५ वैशाख २०७९, २२ : २०
सोमबार, ०५ वैशाख २०७९

धामीझाँक्रीको कुटाइबाट मृत्यु भएकी कञ्चनपुरकी रन्चुला साउदको अन्त्येष्टि गरिएको छ । गत शनिबार मृत अवस्थामा भेटिएकी साउदको शव सोमबार फरेन्सिक विज्ञको टोलीले परीक्षण गरेपछि अन्त्येष्टि गरिएको हो । सामान्य बिरामी भएकी साउद चैत ३० गते जेठानी नाता पर्ने कमला साउदको घरमा गएकी थिइन् । परिवारका अनुसार धामीसँग झारफुक गराइरहेकी उनी वैशाख १ मा बेहोस भएकी थिइन् ।

३ दिनसम्म पनि होस नआएपछि शनिबार आफन्त तथा छिमेकीले हेर्दा उनी मृत अवस्थामा फेला परेकी हुन् । यसबीचमा धामीले परिवारका सदस्यलाई समेत उनको नजिक जान नदिएको पीडित पक्षको भनाइ छ । बिरामी बेहोस अवस्थामा रहेको र धामीले परिवारका सदस्यलाई समेत नजिक जान नदिएपछि सशंकित बनेका आफन्त तथा छिमेकीले प्रहरीलाई खबर गरेपछि घटना सार्वजनिक भएको हो ।

मृतककी छोरी सरिताका अनुसार झारफुकका नाममा धामीले तीन दिनसम्म ढाँटेर राखेका थिए । आमा बेहोस भएकोबारे अरुलाई भने आफूलाई पनि बिरामी पार्ने धम्की धामीले दिएपछि घटनाबारे कसैलाई भन्न नसकेको उनको भनाइ छ ।

शनिबार मृत अवस्थामा भेटिएकी साउदको शव कुहिएको अवस्थामा थियो । परिवारका सदस्यले उनीमाथि झारफुकका नाममा शारीरिक तथा यौनहिंसा भएको आरोप लगाएका छन् ।

रन्चुलाको मृत्युबारे सत्यतथ्य पत्ता लगाउनकै लागि प्रहरीले फरेन्सिक विज्ञमार्फत शव परीक्षण गर्नुपरेको जनाएको छ । मृतकका परिवारले झारफुकमा संलग्न धर्मानन्द भट्ट, नारायण भट्ट, कुवेर सिंह साउद, कमला साउद, गौरी साउद लगायतविरुद्ध किटानी जाहेरी दिएका छन् । प्रहरीले फरेन्सिक परीक्षणको रिपोर्ट आएपछि मृत्युको कारण पत्ता लाग्ने जनाएको छ । हाल घटनाबारे विभिन्न कोणबाट अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप