बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

इटहरीमा काँग्रेस भारी, गठबन्धनबारे केन्द्रको निर्णय पर्खिँदै

सोमबार, ०५ वैशाख २०७९, २३ : ०५
सोमबार, ०५ वैशाख २०७९

स्थानीय तह निर्वाचन अन्तर्गत सुनसरीको इटहरी उपमहानगरपालिकाको सम्भावित परिणामबारे अनेक अड्कल भइरहेको छ । केन्द्रमा पाँच दलीय गठबन्धन रहे पनि यो पालिकामा गठबन्धन घटक राष्ट्रिय जनमोर्चाको खासै प्रभाव देखिँदैन । गठबन्धनमा रहेका बाँकी चार दलबीच सहमति हुँदा र नहुँदाको अवस्थामा इटहरीमा कस्तो परिणाम आउला भन्नेमा धेरैको चासो छ ।

अघिल्लो निर्वाचनमा एमाले द्वारिकलाल चौधरी २२ हजार ६८९ मत ल्याउँदै मेयरमा विजयी बनेका थिए । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका रोहितप्रसाद प्रसाईंले १९ हजार ९८५ मत ल्याएका थिए । क्रमशः तेस्रो र चौथो नम्बरमा रहेका राप्रपा र माओवादी केन्द्रको भने निकै कम मत आएको थियो ।

राप्रपाका रोहितबहादुर कार्कीले ३ हजार ७१५ र माओवादी केन्द्रकी हरिमाया जिमीले ३ हजार ३६४ मत पाएकी थिइन् । पाँचौं स्थानमा रहेको मधेसी जनअधिकार फोरम लोकतान्त्रिकको मत एक हजार ४३७ थियो ।

०७४ सालको निर्वाचनलाई मात्रै आधार बनाएर चुनाव परिणामको आकलन गर्न निकै गाह्रो छ । यो पाँच वर्षको अवधिमा एमाले र माओवादीबीचको एकता, फुट, पुनः एमालेको विभाजन तथा काँग्रेस र लोकतान्त्रिक फोरमको एकताले जोडघटाउमा निकै तलमाथि भइसकेको छ ।

वडागत मतका आधारमा इटहरीमा नेकपा एमालेले २१ हजार २११ मत पाएको थियो भने काँग्रेसको २० हजार ३१५ मत थियो । माओवादी केन्द्रको मत ४ हजार ३३९ हुँदा राप्रपाको ३ हजार १८८ मत थियो । फोरम लोकतान्त्रिकको मत भने एक हजार ९३६ थियो । फोरम लोकतान्त्रिकले काँग्रेससँग एकता गरिसकेका कारण उक्त मत काँग्रेसलाई जाँदा काँग्रेसको मत २२ हजार २५५ पुग्छ ।

इटहरीको ११ वटा वडा अर्थात् १, ३, ६, ७, ८, ११, १२, १५, १६, १७ र २० नम्बर वडामा काँग्रेसले जितेको छ । एमालेले २, ४, ५, ९, १३, १४, १८ र १९ नम्बरमा जित निकालेको छ । फोरम लोकतान्त्रिकले भने १० नम्बर वडामा जितेको थियो ।

एमाले विभाजनको असर

प्रदेश १ मा एमाले विभाजनको असर व्यापक देखिएको छ । त्यसमा पनि सुनसरीमा सबैभन्दा बढी असर परेको विश्लेषण गरिएको छ । एमालेका तत्कालीन जिल्ला इन्चार्ज धर्म निरौला, राखेपका पूर्व सदस्यसचिव केशब विष्टलगायत थुप्रै एमाले कार्यकर्ता नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।

नेकपा एकीकृत समाजवादीले त इटहरी उपमहानगरपालिकाको प्रमुख पद नै गठबन्धन बैठकमा दाबी गरिरहेको छ । यसअर्थ नेकपा एमालेको मत २० प्रतिशतमात्रै कटौती हुँदा पनि काँग्रेस एक्लैलाई जित निकाल्न सहज देखिन्छ ।

गठबन्धनबारे केन्द्रको मुख ताक्दै नेताहरू

इटहरीमा गठबन्धन गर्ने कि नगर्ने भन्ने विषयमा सहमति जुट्न नसकेपछि दुई दिनदेखि स्थानीयस्तरमा छलफल हुन सकेको छैन । जसका कारण केन्द्रले कसरी टुङ्गो लगाउँछ, त्यही अनुसार जाने तयारी गरिरहेको नेकपा एकीकृत समाजवादीका नेता केशव विष्टले बताए ।

उनका अनुसार नेकपा एकीकृत समाजवादीले इटहरीमा ७ वटा वडामा दाबी गरेको छ । यस्तै, माओवादी केन्द्रले ५ र जनता समाजवादीले १ वटा वडामा दाबी गरेको छ । कतिपय काँग्रेस नेताले भने आफू सबै वडा जित्ने दाबी गर्दै तालमेलको आवश्यकता नरहेको बताइरहेका छन् । यद्यपि काँग्रेसका नेता हेमकर्ण पौडेलले केन्द्रले सहमति गरेर पठाएको अवस्थामा आफूहरुलाई जुनसुकै निर्णय स्वीकार हुने बताए ।

‘केन्द्रमै गठबन्धनको सरकार छ, यहाँ पनि गठबन्धन हुँदैन भन्ने छैन, केन्द्रले मिलाएर पठाएको खण्डमा हामी सोही अनुसार गर्न तयार छौं,’ कर्णले भने । उनले दलहरुबीच भागबण्डामा हानथाप भइरहे पनि गठबन्धनको सम्भावना नसकिएको प्रस्ट पारे ।

माओवादी केन्द्रका नेता शिवकुमार डाँगीले पनि वडाको विषयमा टुङ्गो लगाउन जिल्लास्तरीय संयन्त्रले छलफल गरिहेको बताए । ‘आवश्यकता र औचित्यकै आधारमा कुन वडा कसले लिने भन्ने विषयमा कुरा मिल्छ,’ डाँगीले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप