बिहीबार, १३ मङ्सिर २०८१
ताजा लोकप्रिय

वनकरिया बालबालिकाले पढ्ने विद्यालयले पायो सुविधासम्पन्न भवन

सोमबार, ०५ वैशाख २०७९, २१ : २६
सोमबार, ०५ वैशाख २०७९

लोपउन्मुख वनकरिया जातिका बालबालिकाले अध्ययन गर्ने जिल्लाकै एक मात्र माध्यमिक विद्यालयको नवनिर्मित सुविधा सम्पन्न भवन हस्तान्तरण गरिएको छ । विभिन्न तहमा गरी हाल १५ जना वनकरिया समुदायका बालबालिका अध्ययन गरिरहेको मनहरी गाउँपालिका वडा नम्बर–४ मसिनेस्थित पशुपति माध्यमिक विद्यालयको नवनिर्मित ३ तले भवन सोमबार एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको हो ।

२०७२ को विनाशकारी भूकम्पका कारण क्षति पुगेको सो विद्यालयको भवन नेपाल सरकारले दातृ निकाय एसियाली विकास बैंकको ऋण सहयोगमा निर्माण गरेको हो । ९ वटा कक्षा कोठा भएको सो भवन ३ करोड ८ लाख रुपैयाँमा लागतमा निर्माण गरिएको विद्यालयका प्रधानाध्यापक भानुभक्त आचार्यले जानकारी दिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष माधव गौतमको सभाध्यक्षतामा भएको कार्यक्रममा निर्माण कम्पनीका तर्फबाट विद्यालय भवन सम्पन्न प्रमाणपत्रसहित शिक्षा विकास तथा समन्वय इकाई प्रमुख दिनानाथ गौतमलाई हस्तान्तरण गरिएको थियो ।

इकाई प्रमुख गौतमले स्थानीय सरकारको रुपमा रहेको मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेतीलाई र पालिका अध्यक्ष उप्रेतीले विद्यालय व्यवस्थापन समिति अध्यक्ष गौतमलाई हस्तान्तरण गरेका थिए । कार्यक्रममा गाउँपालिका अध्यक्ष उप्रेतीले सो विद्यालयले भौतिक पूर्वाधारमा राम्रो काम गरेको बताउँदै आगामी दिनमा गुणस्तरीय शिक्षामा जोड दिन आग्रह गरे ।

त्यस्तै इकाई प्रमुख गौतमले भूकम्प प्रतिरोधी भवन निर्माण सम्पन्न भएसँगै विद्यालयको अर्को १३ वटा कक्षा कोठालाई १ करोड ७५ लाख रुपैयाँको लागतमा प्रबलीकरण गर्ने कार्य जारी रहेको बताए ।

कार्यक्रममा वडाअध्यक्ष ध्रुव खड्काले विगतमा छाप्रोमा सञ्चालनमा आएको विद्यालयको भौतिक संरचनामा निकै सुधार आएको र आगामी दिनमा बालबालिका निर्भयका साथ अध्ययन गर्न पाउने बताए ।

सो हालसम्म ३ जना वनकरिया समुदायका विद्यार्थीहरुले प्रवेशिका परीक्षा (एसएलसी) उत्तिर्ण गरिसकेका छन् भने यसवर्ष ३ जना एसइइको तयारीमा रहेका छन् । उक्त विद्यालयमा करिव १०० जना चेपाङ समुदायका बालबालिकाहरुसहित ५०० जना विद्यार्थी अध्ययनरत छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप