शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

बन्यो तीनमुखे पुल, बढ्यो जश लिनेहरूको हुल

सोमबार, ०५ वैशाख २०७९, १८ : ०७
सोमबार, ०५ वैशाख २०७९

गुल्मी, पाल्पा र स्याङ्गजाको संगमस्थल कालीगण्डकी नदीमा  तीनवटै जिल्ला जोड्ने गरी बनाइएको तीनमुखे पुल लाईटिङ्गबाहेक अन्य सम्पूर्ण कार्य सम्पन्न भएको छ ।  २०७१ मंसिर १५ मा तत्कालीन सांसद तथा काँग्रेस नेता चन्द्र भण्डारी र तत्कालीन मुख्यसचिव लीलामणि पौड्यालद्वारा  संयुक्त रुपमा शिलान्यास गरिएको उक्त पुल झण्डै चार बर्ष सम्म अलपत्र  परेको थियो । त्यसरी  पुल निर्माण कार्य अलपत्र हुँदाको अपजश कुनै दलका नेताले लिएनन् । बरु एकले अर्कोलाई अपजसको शब्द बाण हान्न लजाएनन् । यतिबेला भने उक्त  पुल निर्माण कार्य सम्पन हुनै लाग्दा  सामाजिक सञ्जालदेखि चुनावी भाषणसम्म जश लिन खोज्ने  दलका नेता र कार्यकर्ताहरुको तँछाड मछाड छ  ।

तिनमुखे पुलको परिकल्पनाकार भने यति बेला ओझेलमा छन् । उनी हुन्, रिडी नजिकै बलेटक्सार घर भएका पूर्व मुख्य सचिव लीलामणि पौड्याल । उनले बाल्यकालमा  पाल्पामा पढ्न जाँदा  रिडीमा काठको फ्ड्केबाट  वारपार गर्दा कैयौ मानिस चिप्लिएर लडेको र खोलाले बगाएको देखेका थिए । उनी स्वयम् पनि २०३१ साल तिर लडेर केही तलसम्म खोलाले बगाएको संझिन्छन् ।

 चीनका लागि पूर्वराजदुत समेत रहेका पौड्याल भन्छन्, ‘मुख्य सचिव  भएपछि  तीनवटै जिल्ला जोड्ने गरी पुल  निर्माण गरौं भन्ने सोच आयो ।  डिजाईन गर्न केही ईन्जिनियरहरुलाई भने । कोही फेल नपर्दा निर्माणको जिम्मा लिने कम्पनीलाई नै डिजाईनको जिम्मा दिने गरी टेण्डर आह्वान गरिएको थियो ।’

नयाँबाटो रुबिना मना जेभीले ९ करोड ८८ लाख २६ हजार ३३२ रुपैयाँमा उक्त पुलको ठेक्का सम्झौता गरेको थियो । जेभीले कामको जिम्मा जलप नेपाललाई २०७५ सालमा  दिएको थियो ।  जलप नेपालका साईड इन्चार्ज करन बर्माका अनुसार  लाईटिङ्ग जडानका लागि बुटवलबाट प्राविधिकहरु यसै साता आइपुग्ने छन् ।

समुद्री सतहदेखि १२  मिटर ईचाईमा पुल बनेको छ  । २५ मिटर  उचाई सम्म पिलर पुुगेको छ भने त्यसको दुुई मिटर उचाईमा अर्थात्  २७ मिटर उचाईमा भ्यूटावर बनाईएको छ । तीन जिल्लाको तीनैतिर १७७ मिटर लम्बाई छ । पुलको दुबैतिर जाली, लाईटिङ्ग, टपमा सोलर, भर्याङ्ग र आकर्षक रेलिङ्ग निर्माण गरिदै छ ।

  भ्यूटार बीचमा  रष्ट्रिय झण्डा गाडिने भएको छ ।  गुुल्मीको रुरुक्षेत्र गाउँपालिका–१ का वडाध्यक्ष रामलाल विकका अनुुसार पुल हेर्न आउनेहरुको भीड दिनहँु बढ्न थालेको छ । तीनैतर्फ लाईटिङ्ग जडानपछि रिडी बजार झिलिमिली हुनेछ । 
पूर्व मुख्य सचिव पौड्यालका अनुसार रिडीको तीनमुखे पुल नेपालकै पहिलो तीनमुखे पुल हो । पुलबाट गुल्मीतर्फ रिडी बजार, पाल्पातर्फ तानसेन नगरपालिका–१४  अर्गली र  स्याङ्गजातर्फ कालीगण्डकी गाउँपालिका–१ चण्डीभञ्ज्याङ्ग जोडिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप