स्थानीयको अवरोधसँगै रोकिएको नागढुंगा सुरुङको काम सुरू
स्थानीयको आक्रमणपछि रोकिएको नागढुंगा नौबिसे सुरूङमार्गको काम सुचारू भएको छ । स्थानीयले आफ्ना माग पुरा नगरेको भन्दै आयोजनाको कार्यालयमा आक्रमण गरेसँगै चैत २८ गतेदेखि रोकिएको काम आजदेखि सुरू भएको हो ।
आयोजना प्रमुख नरेश शाक्यले स्थानीयको अवरोध हटेसँगै आजदेखि आयोजनाको काम अघि बढेको रातोपाटीलाई जानकारी दिए । हिजो दिउँसो स्थानीयसँगको वार्ता सफल भएपछि आयोजनाको नियमित काम सुरू भएको उनको भनाइ छ ।
खानेपानीको मुहान सुकेकाले पानीको वैकल्पिक व्यवस्था हुनुपर्ने, सडक कालोपत्रे गर्नुपर्ने, सुरूङमार्ग माथिको जग्गाको मुआब्जा पाउनुपर्ने भन्दै कार्यालयमा भौतिक आक्रमण गरेका थिए । आक्रमणसँगै चैत २८ गतेदेखि हिजोसम्म आयोजनाको काम पूर्णरूपमा ठप्प थियो ।
आयोजना प्रमुख शाक्यले स्थानीयसँग पानीको वैकल्पिक व्यवस्था आयोजनाले गरिदिने सहमती भएको बताए । अब सहमतीअनुसार आोजनाले ट्यांकरमार्फत स्थानीयको घर–घरमा पानी पुर्याउने छ । यस्तै, घर–घरसम्म पानीको पाइप पुर्याएर पानी सप्लाई गर्ने योजना अर्थमन्त्रालयमार्फत बजेट निकासा नहुँदा अघि नबढेको उनको भनाइ छ ।
‘यसअघि नै सुल्झिएको सुरूङमार्ग माथिको जग्गाको मुआब्जाको विषय फेरी उठेको थियो,’ उनले भने, ‘त्यसलाई हामीले सम्बोधन गर्न सक्दैनौं भनेर सम्झायौं ।’ यस्तै, सिचाईको व्यवस्था गरिदिन समेत माग राखेकामा पानीको सप्लाई गर्दा उक्त समस्या समेत समाधान हुने आयोजनाको भनाइ छ । यी लगायत अन्य विषयमा सहमती भएसँगै ५ दिनदेखि रोकिएको आयोजनाको काम आज विहानदेखि सुरू भएको शाक्यले बताए ।
५ दिनसम्म आयोजनाको काम रोकिँदा ५० मिटर सुरूङ खन्ने काम रोकिएको छ । यसअघि, आयोजनाले दैनिक १० मिटर सुरूङ खनिरहेको थियो । यससँगै, आयोजनाले दैनिक १ करोड ५० लाख रुपैयाँ बराबरको काम अघि बढाइरहेकामा ५ दिनसम्म ठप्प भएको थियो । यसबापत, आयोजनाले दैनिक काम नै रोकिएको बताइएको छ । आयोजनाको काममा चन्द्रागिरी नगरपालिका, वडा नम्बर २ का स्थानीयले विभिन्न माग राख्दै अवरोध गरेका थिए ।
सिस्ने खोलादेखि दहचोकसम्म सुरूङको कूल लम्बाई २ दशमलव ६८८ किलोमिटर र ९.५ मिटर चौडाई र १८ मिटर उचाई हुन्छ । यसमध्ये हालसम्म मूख्य र सहायक गरी कूल २८ सय किलोमिटर सुरूङ खनिसकेको आयोजनाले जानकारी दिएको छ । यो सुरूङतर्फ ४८ प्रतिशत कार्यप्रगति हो । यसैगरी, आयोजनाको सम्पूर्ण कार्यप्रगति ३६ प्रतिशत सकिएको प्रमुख शाक्यले रातोपाटीलाई बताए ।
आयोजना निर्माणको काम जापानी कम्पनी हाज्मा–आन्द्रो जेभीले गरिरहेको छ । ४२ महिनाभित्र सम्पन्न गर्नुपर्ने आयोजनाको ठेक्का कम्पनीले १३ अर्बमा पाएको थियो । स्थानीयको अवरोध हटेसँगै कामदारहरू फर्कने क्रममा रहेको र अबको एक÷दुई दिनभित्र आयोजनामा आइसक्ने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जाजरकोटमा भूकम्पबाट क्षतिग्रस्त ४२ वटा स्वास्थ्य संस्था र विद्यालय पुनर्निर्माण गर्दै प्रदेश सरकार
-
सुपर–४ चरणमा आज श्रीलङ्कासँग भिड्दै नेपाल
-
आज पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
मनाङको नेस्याङ केन्द्र बनाएर भूकम्पको धक्का
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार