शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

तनहुँका पाँच मतदानस्थल अति संवेदनशील

सोमबार, ०५ वैशाख २०७९, १६ : ००
सोमबार, ०५ वैशाख २०७९

स्थानीय तह निर्वाचनका लागि तनहुँका पाँच मतदानस्थल अति संवेदनशील मानिएको छ । जिल्ला निर्वाचन सुरक्षा समन्वय समितिले गरेको वर्गीकरणमा एक सय ३६ मध्ये पाँच मतदानस्थल सुरक्षाको दृष्टिले अतिसंवेदनशील मानिएको हो । 

प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालका अनुसार ३८ मतदानस्थल संवेदनशील र ९३ मतदानस्थल सामान्य छन् । ‘भौगोलिक विकटता, सुरक्षा निकायको युनिट टाढा भएको र  यातायातको सजिलै पहुँच नभएको आधारमा वर्गीकरण गरेका छौँ,’ अर्यालले भने ।  अति संवेदनशील मतदानस्थलमा कडा सुरक्षा निगरानी हुने उनले बताए । तीन घेरामा सुरक्षाकर्मी हुने उनको भनाइ छ । ‘संवेदनशील मतदानस्थलमा खटिने नेपाल प्रहरीको संख्या अन्तको तुलनामा बढी नै हुनेछ । बाहिरी घेरामा सशस्त्र प्रहरी हुनेछ । नेपाली सेनाले पनि निगरानी गर्नेछ,’ प्रमुख जिल्ला अधिकारी अर्यालले बताए । 

जिल्ला निर्वाचन सुरक्षा समन्वय समितिले मतदानस्थलको स्थलगत निरीक्षण गरिरहेको छ । निर्वाचन अधिकृत स्थानीय तहमा खटिएपछि उनीहरूले समेत मतदानस्थलको निरीक्षण गर्ने छन् ।  जिल्लामा यसपालि एक सय ३६ मतदानस्थलमा दुई सय ९७ मतदान केन्द्र कायम गरिएको छ । अघिल्लो निर्वाचनको तुलनामा ४५ मतदान केन्द्र थप भएका हुन् ।

जिल्लामा २३ दलले स्थानीय तहको निर्वाचनमा प्रतिष्पर्धा गर्न दल दर्ता गराएको निर्वाचन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद ढकालले बताए । राष्ट्रिय मान्यताप्राप्त ६ र जिल्लामा क्रियाशिल १७ गरी कूल २३ दलले निर्वाचनमा भाग लिन दल दर्ता गराएको उनले जानकारी दिए । दुई लाख ४४ हजार तीन सय ४० मतदाताको बिचमा २३ दलका उम्मेदवार चुनावी मैदानमा प्रतिष्पर्धा गर्दैछन् । 

जिल्ला निर्वाचन कार्यालयले स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय खोल्ने तयारी गरेको ढकालले बताए । बिहीबारसम्म जिल्लाका १० वटै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने उनको भनाइ छ । कार्यालयले यतिबेला निर्वाचनमा खटिने कर्मचारीको टुंगो समेत लगाउँदैछ ।
  
राजनीतिक दलहरू यतिबेला उम्मेदवारको नामावली टुंग्याउने कसरतमा छन् । हालसम्म जिल्लामा नेकपा एमाले र नेपाली कांग्रेसको साधारण सदस्य समेत नरहने गरेर कारबाहीमा परेका पूर्व सहमहामन्त्री गोविन्दराज जोशी समूहले गठबन्धन गर्ने प्रारम्भिक सहमति भएको छ । गठबन्धन दलबीच भने दुरी बढ्दै छ । तर, हालसम्म गठबन्धन तोडिएको अवस्था छैन् । हालसम्मको स्थितिलाई विश्लेषण गर्दा भागबण्डा नमिलेर जिल्लामा गठबन्धन तोडिने प्रवल सम्भावना छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप