राखेप बोर्ड बैठक : पदमुक्त गरिएका बोर्ड सदस्यहरु अदालतको फैसला कुर्दै
राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बोर्ड बैठक करिव दुई वर्षपछि शुक्रबार बस्दैछ । युवा तथा खेलकुद मन्त्री महेश्वरजङ्ग गहतराजको अध्यक्षतामा बस्ने बैठकले नवौं खेलकुदको विषयमा छलफल गर्नेछ ।
छलफलमा खेलकुद मन्त्रीले हटाएका ९ जना बोर्ड सदस्यलाई बोलाइएको छैन । तर, मन्त्री गहतराजले नियुक्त गरेका बोर्ड सदस्य भने बैठकमा सहभागी हुनेछन् । गहतराजले आठ जना बोर्ड सदस्य नियुक्त गरेका थिए । केपी शर्मा ओली प्रधानमन्त्री रहेको समयमा राष्ट्रिय खेलकुद परिषद्को बोर्ड सदस्यमा नियुक्त भएकामध्ये ९ जनालाई खेलकुद मन्त्रालयले पदमुक्त गरेको थियो ।
शेरबहादुर देउवा नेतृत्वको सरकार आएपछि राखेप सदस्यसचिव रमेश सिलवालसहित ९ जना बोर्ड सदस्यलाई सरकारले पदमुक्त गरेकोमा उनीहरुले अदालतमा रिट निवेदन दायर गरेका छन् । उनीहरु ९ जनाको सम्बन्धमा सर्वोच्च अदालतले ७ गतेका लागि अन्तिम फैसलाको मिति राखेको छ । राखेप सदस्यसचिव टंकलाल घिसिङको निर्णयमा खेलकुद मन्त्रालयलाई बोर्ड बैठक आह्वानका लागि आग्रह गरिएको थियो । मन्त्री गहतराजले मन्त्रालयमार्फत सबै सदस्यलाई बैठकमा बोलाएका छन् । पदमुक्त भएका सदस्यहरूका बारेमा अदालतमा मुद्दा विचाराधीन रहेकाले बैठकमा बोलाइएको छैन ।
यस्तो समयमा पदमुक्त भएका बोर्ड सदस्यहरु अदालतको फैसलाको प्रतिक्षामा छन् । उनीहरुको पक्षमा फैसला आएको अवस्थामा ९ गतेको बोर्ड बैठकमा उनीहरु सहभागी हुन सक्नेछन् । तत्कालीन बोर्ड सदस्य सुवास श्रेष्ठले आफूहरुलाई खेलकुद मन्त्रालयले नबोलाएको बताए । ‘मन्त्रीले पदमुक्त गराएका हामी ९ जनालाई बोर्ड बैठकमा बोलाइएको छैन । हामी अदालतको फैसला पर्खेर बसेका छौं,’ श्रेष्ठले रातोपाटीसँग भने । केपी ओली नेतृत्वको सरकारका खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले राखेपको अध्यक्षको हैसियतमा नियुक्त गरेका ९ जना बोर्ड सदस्यलाई मन्त्री गहतराजले पदमुक्त गरेका थिए । सोही समय मन्त्री गहतराजले राखेप अध्यक्षको हैसियतमा ८ जना नयाँ बोर्ड सदस्य नियुक्त गरेका थिए ।
अदालतबाट सदस्यसचिवमा टंकलाल घिसिङको पुनर्बहाली भएसँगै खेलकुद मन्त्री गहतराजले बोर्ड बैठकको तयारी थालेका थिए । गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुद जेठमा आयोजना गर्ने निर्णय गराएका मन्त्री गहतराजले दुई वर्षदेखि बस्न नसकेको बोर्ड बैठक आह्वान गरेका हुन् । बैठक युवा तथा खेलकुद मन्त्रालयको सभाहलमा बिहान ११ बजे राखिएको छ । बैठकको एजेण्डा तय गर्न सोमबार राखेपको कार्यकारी समितिको बैठक बस्दैछ । राखेपको कार्यकारी समितिमा सदस्य सचिव घिसिङसहित एकेन्द्र कुँवर, नन्दा बस्याल र पदेन सदस्यको रुपमा राखेपका प्रशासनिक विभाग प्रमुख रहनेछन् । बोर्ड बैठकमा नवौं खेलकुद र खेलकुद प्रतियोगिताका लागि बजेटको विषयमा छलफल हुने सदस्यसचिव घिसिङले रातोपाटीलाई बताए ।
बोर्ड बैठकको निणय कुर्दै प्रदेश खेलकुद परिषद्हरु
नवौं खेलकुद र त्यसको तयारीका विषयमा यतिबेला प्रदेश खेलकुद परिषद्हरु अन्योलमा छन् । जिल्ला र प्रदेश छनोटका लागि बजेट सिलिङको आधार बोर्ड बैठकले तय गर्नेछ । यता नवौं खेलकुद प्रतियोगिताको आयोजक गण्डकी प्रदेश खेलकुद परिषद्ले पनि बजेटको विषयमा हालसम्म कुनै निर्णय पाएको छैन ।
खेलकुद पूर्वाधार र खेलाडी व्यवस्थापनदेखि लिएर सबै विषयको तयारीका लागि बोर्ड बैठकले बजेट तय गर्नेछ । प्रदेश खेलकुद परिषद् गण्डकी प्रदेशका सदस्यसचिव तेजबहादुर गुरुङले बोर्ड बैठकबाट बजेट पारित हुने बित्तिकै तयारीलाई झनै तीव्र पार्ने बताए । ‘बोर्ड बैठकमा नवौं खेलकुदका लागि बजेटदेखि भौतिक पूर्वाधारको विषयमा छलफल हुनेछ । त्यसपछि हामी अघि बढ्ने छौं,’ उनले रातोपाटीसँग भने । यता कर्णाली प्रदेश खेलकुद परिषद्का सदस्यसचिव बीएम संज्यालले बोर्ड बैठकबाट बजेट र बजेटको सिलिङ तयार हुने बित्तिकै जिल्लादेखि छनोट प्रकृया थाल्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पानीजहाज सञ्चालन तथा व्यवस्थापन सम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयक राष्ट्रिय सभामा दर्ता
-
लुम्बिनीमा पाँच वर्षदेखि थन्किएका बस आजदेखि सञ्चालन
-
घान्द्रुकमा स्कारपियो दुर्घटना स् एक जनाको मृत्यु, ४ गम्भीर घाइते
-
बागमती सीटीईभीटीको निर्देशकका लागि ३ जनाको नाम सिफारिस
-
सचिव सरुवाले हैरान सांसद : 'नम्बर सेभ गर्दा एउटा मन्त्रालयमा‚ फोन गर्दा अर्कै मन्त्रालयमा'
-
असदलाई छिट्टै भेट्नेछु : पुटिन