एनएसएलको नयाँ मिति प्रस्ताव, एन्फाको निर्णय आउन बाँकी
नेपाल स्पोर्ट्स एण्ड म्यानेजमेन्टले नेपाल सुपर लिग (एनएसल)को नयाँ मिति प्रस्ताव गरेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)सँग सेप्टेम्बरदेखि अक्टोबरसम्मको मिति मागेको नेपाल स्पोर्ट्स एण्ड म्यानेजमेन्टका प्रमुख कार्यकारी अधिकृत सुदीप शर्माले बताए ।
खेलाडी अनुबन्धको विषयमा विवाद हुँदा एनएसएलको टाइसिट ड्र रोक्न एन्फाले निर्देशन दिएको थियो । एनएसएल चैत २६ गतेबाट हुने मिति तय थियो । एनएसएलले भने प्रतियोगिताको तयारी गर्न समय कम भएको बताउँदै नयाँ मितिका लागि प्रस्ताव गर्ने बताएको थियो । नयाँ मितिका लागि एन्फासँग प्रताव भएको र निर्णय आउन बाँकी भएको कार्यकारी अधिकृत शर्माले बताए ।
‘हामीले एन्फासमक्ष नयाँ मितिको विषयमा प्रस्ताव गरेका छौं । एन्फाले अन्तिम निर्णय दिन बाँकी छ । हामीले सेटेम्बरदेखि अक्टोबरसम्मको मिति मागेको छौं । एन्फा पनि यसमा सकरात्मक छ,’ शर्माले रातोपाटीसँगको कुराकानीमा भने ।
यसअघि एन्फाले चैत २५ गते एनएसएल आयोजना गर्न मिति दिएको थियो । तर, योजक र सहभागी टिमले समस्या समाधानका लागि ए डिभिजनका क्लब तयार नहुनु र समस्या समाधानका लागि समिति गठन गरेर अघि बढ्न ढिलाई भएका कारण निर्धारित समयमा प्रतियोगितामा सहभागी हुन नसकिने बताएका थिए ।