साझाको तीन वटा बिजुली बस तातोपानी भन्सारमा, थप ३७ वटा साउन मसान्तभित्र आउने
साझा यातायातका तीन वटा विद्युतीय बस तातोपानी भन्सारमा आइपुगेको छ । हालैमात्र कम्पनीले सार्वजनिक टेन्डरमार्फत खरिद गर्न लागेको कुल ४० वटा विद्युतीय बसमध्ये पहिलो चरणमा तीन वटा बस आएको हो । थप ३७ वटा बस भने यही साउन मसान्तभित्र नेपाल आइसक्ने साझा यातायातका महानिर्देशक महेन्द्राराज पाण्डेले रातोपाटीलाई जानकारी दिए ।
गत वैशाख २०७८ मा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले तत्काल विद्युतीय बस खरिद प्रक्रिया अघि बढाउन साझालाई परिपत्र गरेको थियो । यसलगत्तै पहिलो चरणमा ४० वटा बस खरिदका लागि सार्वजनिक टेन्डर गरेको साझाले चैतभित्रै तीन वटा बस ल्याएको छ ।
गाडीको क्षमता, स्पेसिफिकेशन तथा तोकिएको मापदण्ड बमोजिम गरिएको टेन्डरमा चिनियाँ अटोमोबाइल्स कम्पनी ‘सीएचटीसी नान्जिङ अटोमोटिभ कम्पनी, चाइना छनोटमा परेको थियो । सोही कम्पनीले निर्माण गरेको तीन वटा विद्युतीय बस अहिले तातोपानी भन्सार कार्यालय आइपुगेको महानिर्देशक पाण्डेले बताए ।
‘कुल ४० वटा विद्युतीय बस मध्ये तीन वटा बस तातोपानी बोर्डमा आइसकेको छ । भन्सारीकरणकै चरणमा रहेका उक्त बस अबको केही दिनभित्रै काठमाडौं आइपुग्नेछ,’ पाण्डेले भने, ‘बाँकी ३७ वटा बस पनि आउँदो साउनभित्र नेपाल आइसक्नेछ ।’
महानिर्देशक पाण्डेका अनुसार आउँदै गरेको तीन वटा विद्युतीय बस पूर्ण अपाङ्गमैत्रीसहित २५ सिट क्षमताका छन् भने बसमा १६० किलोवाट क्षमताको ब्याट्री प्रयोग गरिएको छ । दुईवटा ढोका र सीसीटीभीयुक्त विद्युतीय बस निकै आरामदायी समेत छ ।
तातोपानी नाकामा आइसकेका तीन वटासहित बाँकी आउँदै गरेको ३७ वटा बसको स्पेसिफिकेशन समेत सोही परिमाणमा हुने पाण्डेले बताए ।
चिनियाँ कम्पनी ‘सीएचटीसी नान्जिङ अटोमोटिभले बनाउँदै गरेको बसको लागत बोर्डरसम्म प्रतिबस एक करोड १५ लाख रुपैयाँ छ । त्यसमा भन्सार शुल्क, दर्ता, सडक दस्तुर तथा बीमा गरी बसको अन्तिम मूल्य निर्धारण हुनेछ । कुल ४० वटा विद्युतीय बस खरिदका लागि साझाले एक अर्ब रुपैयाँ छुट्याएको छ ।
यसअघि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मार्फत सरकारले ३०० वटा विद्युतीय बस खरिद गर्नका लागि साझालाई सेयर लगानी स्वरुप ३ अर्ब रुपैयाँ उपलब्ध गराएको थियो । बीचमा विभिन्न कारण देखाएर विद्युतीय बस खरिद प्रक्रिया साझासँग खोसेर होल्ड गरेको सरकारले पुनः सो जिम्मेवारी साझालाई नै दिएको हो ।
आउँदै गरेको विद्युतीय बसको बागमती अञ्चल, यातायात कार्यालय, एकान्तकुनाका प्राविधिक टोलीबाट परिक्षण गरिने र सबै ठीक भए तत्काल दर्ता गरेर सञ्चालन गरिने पाण्डेले जानकारी दिए ।