मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

गर्मीमा छालाको यसरी गरौँ ख्याल

सोमबार, ०५ वैशाख २०७९, १२ : ५४
सोमबार, ०५ वैशाख २०७९

पछिल्लो समय गर्मी ह्वात्तै बढेको छ । गर्मी याममा छालामा छिटै सङ्क्रमण हुने चिकित्सकहरू बताउँछन् । गर्मीसँगै धुवाँ, धुलो अर्थात् बाहिरी वातावरणको ख्याल नगरेमा छालामा प्रत्यक्ष असर पुर्‍याउँछ । गर्मीले साना बालबालिकादेखि सबै उमेर समूहलाई सताउने गर्छ ।

गर्मी मौसममा बाह्य तापक्रमका कारण शरीरमा पसिना आउने गर्छ । यस्तै, गर्मीले प्रायः बालबालिकादेखि सबै उमेर समूहका व्यक्तिलाई घमौराले सताउने गर्छ । गर्मीमा घमौरा आउनुका साथै छाला रातो हुने, चिलाउने, छालामा घाउ हुने, बिमिरा आउने, एलर्जी आउने, डण्डीफोर आदि समस्याले सताउँछ । 

यो मौसममा हेलचेक्रयाइँ गरेमा सौन्दर्यलाई प्रभावित पार्न सक्छ । किनभने गर्मीमा सावधानी नअपनाइ बाहिर बढी  समयका लागि निस्किँदा अनुहारको निखारपन घट्दै जान्छ । यस्तै छालासमेत कालो हुने, बिबिराहरू बढ्ने, चाया, कालोपातो देखिने, पहिलैदेखि अनुहारमा भएको चाया पोतोलाई गर्मी याममा ख्याल नगरेको खण्डमा अनुहार तथा शरीरका अन्य भागका छालामा समस्या देखिन सक्छ ।  

छाला रोग विशेषज्ञका अनुसार गर्मी मौसममा पसिना र चिल्लोका कारण छालामा धुलोधुँवा टाँसिएर बिमिरा, डण्डिफोर आउने सम्भावना धेरै हुन्छ । गर्मीका कारण साना बालबालिकादेखि अन्य उमेर समूहका मानिसहरूमा फरक फरक स्वास्थ्य समस्या देखिन सक्छ । धेरै पसिनाका कारण ग्रन्थिहरू टाँसिन गई छालामा आँखाले देख्न नसकिने ब्याक्टेरियाहरूको सङ्क्रमणका कारण धेरै समस्या देखिन सक्ने चिकित्सकहरू बताउँछन् । 

सामान्यतः सुख्खा, चिल्लो र सामान्य गरी छाला तीन प्रकारको हुन्छ । छाला, कपाल तथा प्रत्यारोपण विशेषज्ञ डा. स्मृति श्रेष्ठका अनुसार शरीरको छालालाई गर्मी मौसममा यसरी जोगाउन सकिन्छ । 
– धेरै तातोपानीमा  ननुहाउने
– प्रशस्त मात्रामा पानी पिउने
– पसिना आउने अंग पुछिराख्ने
– सुतीको पसिना सोस्ने लुगा लगाउने
– हल्का खुकुलो खालको लुगा लगाउने 
– घाममा निस्कँदा लुगाले नछोप्ने भागमा सन्सक्रिम लगाउने 
– खानपानमा ध्यान दिने
– नियमित शारीरिक अभ्यास गर्ने
– सकेसम्म विशेषज्ञको सल्लाहमा सन्सक्रिमहरुको प्रयोग गर्ने
– अनिदो नबस्ने 
– प्रदूषित वातावरणमा नबस्ने
– गर्मीमा हिँड्दा छाता ओढ्ने 
– गर्मीमा बाहिर निस्कँदा क्याप लगाउने 
– चर्को घाममा निस्कँदा सकेसम्म हात खुट्टा छोपिने सुतीका लुगा लगाउने
– शरीरको सरसफाईमा विशेष ध्यान दिने ।
– सुख्खा, चिल्लो र सामन्य छाला भएकाहरुले चिकित्सकको सल्लाहअनुसार मोस्चराईजर प्रयोग गर्ने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप