बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पर्यटकले नगद बोक्नुपर्ने,  व्यवसायी भन्छन्, 'निकम्मा कार्यप्रणाली'

सोमबार, ०५ वैशाख २०७९, ०६ : ४५
सोमबार, ०५ वैशाख २०७९

कोभिड–१९ पछि खस्केको पर्यटन व्यवसाय बिस्तारै लयमा फर्किँदैछ । वातावरण अनुकूल भएसँगै विदेशी पर्यटक धमाधम नेपाल भित्रिन थालेका छन् । अध्यागमन विभागका अनुसार पछिल्लो तीन महिनामा मात्रै झण्डै सवा लाख विदेशी पर्यटक नेपाल भित्रिसकेका छन् ।

सन् २०२२ को जनवरीदेखि अप्रिल १६ सम्ममा एक लाख ११ हजार ७०१ जना विदेशी पर्यटक नेपाल भित्रिसकेको विभागले जनाएको छ । जबकि यस्तो सङ्ख्या अघिल्लो वर्षको सोही अवधिमा मुस्किलले ३५ हजार पनि पुग्न सकेको थिएन । यसरी तीव्र गतिमा पर्यटक आगमन हुँदै गर्दा व्यवसायीहरू उत्साहित भएका छन् । यस वर्ष पर्यटकको आगमन निकै राम्रो हुनेमा व्यवसायी ढुक्क छन् ।

तर, पर्यटन सिजन सुरु हुन लागेकै बेला यता सरकारी निकायबाट जारी भएको एक सूचनाले भने व्यवसायीहरू सशङ्कित भएका छन् । गत शुक्रबार त्रिभुवन विमानस्थल, अध्यागमन विभागले सूचना जारी गर्दै नेपाल भित्रिने पर्यटकहरूलाई कम्तीमा २०० डलर नगद नै बोक्न आग्रह गरेको छ ।

विभागले ‘अनअराइभल’ भिसाका लागि पर्यटकलाई कम्तीमा २०० डलर नगद बोक्न आग्रह गरेको हो । विमानस्थलमा उपलब्ध एउटा मात्र एटिएम मेसिनले भिडलाई धान्न नसकेको र डिजिटल भुक्तानीका अन्य प्रणाली जस्तै, भिसा कार्ड, मास्टर कार्ड लगायतका भुक्तानीका साधनमा समेत समस्या देखिएपछि यस्तो आग्रह गर्नुपरेको विभागको भनाइ छ ।

 निकम्मा कार्यप्रणालीको पराकाष्ठा : व्यवसायी

अनअराइभल भिसाका लागि पर्यटकलाई अध्यागमन विभागले नगद नै बोक्न सूचना जारी गरेसँगै पर्यटन व्यवसायीहरू भने आक्रोशित भएका छन् । यस्तो सूचना जारी गर्नु सरकारको अक्षमतामात्र नभइ निकम्मा कार्यप्रणालीको पराकाष्ठा भएको उनीहरूको आरोप छ ।

‘अहिलेको डिजिटल युगमा पनि पर्यटकलाई क्यास नै बोकेर आइज भन्नु कति जायज हो ? यो जत्तिको लज्जाको विषय अरू के हुनसक्छ ?’ एक व्यवसायीले आक्रोशित हुँदै भने, ‘यस्तो निकम्मा कार्यप्रणालीले कसरी मुलुकको पर्यटन प्रवर्द्धन हुन्छ ?’ पर्यटक आकर्षित गर्नकै लागि भने पनि सरकारले अविलम्ब अनअराइभल भिसाको सुविधालाई सहज र सरल बनाउनुपर्नेमा उनले जोड दिए ।

कोभिड–१९ पछि बिस्तारै लय समाउनै लागेको पर्यटन व्यवसायमा थप सहजीकरणको आवश्यकता रहेको पर्यटन बोर्डको भनाइ छ । ‘के कुरामा कठिनाइ परेको हो, सो तत्काल समाधान गरी त्रिभुवन विमानस्थल, अध्यागमनले अनअराइभल भिसालाई सहज गर्नुपर्छ । यो व्यवसायीहरूको मात्र नभएर बोर्डसमेतको माग हो,’ बोर्डका प्रवक्ता मणिराज लामिछानेले भने, ‘समयसापेक्ष डिजिटलाइजेसनलाई थप सुविधा सम्पन्न र प्रभावकारी बनाइनुपर्छ ।’

उनका अनुसार अनअराइभल भिसालाई सहज बनाउन के गर्न सकिन्छ भन्नेबारे अध्यागमन विभाग तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग बोर्डले समन्वय गरिरहेको छ ।

अध्यागमन विभाग भने यात्रुहरू (पर्यटक) को सुविधालाई नै ध्यानमा राखेर यस्तो सूचना जारी गरिएको दाबी गर्दछ । पछिल्लो समय नेपाल भ्रमणमा आउने पर्यटकको सङ्ख्या दिनहुँ बढ्दै गएपछि उनीहरूको सहजताकै लागि झन्झटिलो विद्युतीय कारोबारको सट्टा क्यास नै बोक्न आग्रह गरिएको विभागको भनाइ छ । बरु यसले विमानस्थल झर्ने बित्तिकै पर्यटकलाई अनअराइभल भिसा लिन र भुक्तानी गर्न सहज हुने विभागको दाबी छ ।

 पर्यटन क्षेत्रलाई विशेष प्राथमिकता दिन राष्ट्र बैंकको सुझाव

नेपाल राष्ट्र बैंकले पछिल्लो समय तीव्र आयात र घट्दो रेमिट्यान्सबीच निरन्तर विदेशी मुद्राको सञ्चितिमा परेको दबाब कम गर्न पनि पर्यटन क्षेत्रलाई विशेष प्राथमिकता दिनुपर्ने सुझाव सरकारलाई दिएको छ । वर्तमान आर्थिक सङ्कट निवारणका लागि पर्यटन क्षेत्रलाई विशेष प्राथमिकता दिनुपर्ने बताउँदै बैंकले अर्थ मन्त्रालयलाई एक दर्जन हाराहारीमा सुझाव दिएको हो ।

बैंकले अहिलेको विदेशी मुद्राको सङ्कट टार्न नेपाल भ्रमण वर्षजस्ता पर्यटन प्रवर्द्धनात्मक कार्यक्रमलाई निरन्तरता दिनुपर्ने तथा मेडिकल टुरिजमको प्रवर्द्धनमा समेत विशेष जोड दिनुपर्ने बताएको छ ।

पर्यटन क्षेत्रको विकास एवम् विस्तारका लागि सरकारले तत्काल नेपाल भ्रमणमा आउने पर्यटकका लागि भिसा तथा नवीकरण, प्रवेश, रोयल्टी लगायतका शुल्क अनलाइनमार्फत भुक्तानी गराउन आवश्यक रहेको उसको भनाइ छ ।

यस्तै, विभिन्न पर्यटन गन्तव्यको पहिचान र सूचना जारी गर्ने, होटल तथा रिसोर्टको क्षमता अनुसारको स्तर तथा मापदण्ड तत्काल तोक्नुपर्ने, पर्यटक सङ्ख्या वृद्धिका लागि विदेशी नियोग तथा दूतावासमार्फत प्रचारप्रसार एवम् आमन्त्रण गरिनुपर्ने राष्ट्र बैंकको भनाइ छ ।

मुलुकको सुरक्षित, गुणस्तर र मितव्ययी पर्यटन प्रचार प्रसारका लागि विशेष जोड दिँदै विदेशी पर्यटकको प्रवल सम्भावना रहेका मुलुकमा नेपाल वायुसेवा निगमको एयर कनेक्टिभिटी जोड्नसमेत बैंकले सरकारलाई सुझाव दिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

श्रेष्ठ रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप