आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

महिला गोल्डकप : आर्मी सेमिफाइनलमा प्रवेश

आइतबार, ०४ वैशाख २०७९, २० : ५३
आइतबार, ०४ वैशाख २०७९

विभागीय टोली नेपाल आर्मी क्लब धनगढीमा जारी प्रथम राष्ट्रिय मुख्यमन्त्री विवाइसी महिला गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ । धनगढी रंगशालामा आइतबार साँझ भएको खेलमा वाग्मती युवा क्लबलाई ७–० ले हराउँदै आर्मी अन्तिम चारमा पुगेको हो ।

आर्मीले पहिलो हाफमा चार गोल गर्यो भने दोस्रो हाफमा तीन गोल थप्यो । आर्मीका लागि पहिलो हाफको १७ औं मिनेटमा इन्दिरा राई, २९ औं मिनेटमा अमिषा कार्की र ३९ औं मिनेटमा दीपा शाहीले गोल गरिन् । पहिलो हाफको २८ औ मिनेटमा आर्मी आत्मघाती गोल उपहार पायो । वाग्मतीकी सुस्मिता तामाङले आत्मघाती गोल गरिन् ।

दोस्रो हाफमा आर्मीले तीन गोल थप्दा कुसुम खतिवडाले दुई गोल गरिन् । उनले खेलको ४९ औं र ६० औं मिनेटमा गोल गरिन् । दोस्रो गोल पेनाल्टीमार्फत भएको हो । त्यस्तै व्यक्तिगत दोस्रो गोल गर्ने क्रममा आर्मीकी अमिषा कार्कीले खेलको ९० औं मिनेटमा गोल थपिन् । नेपाल आर्मी क्लबले सेमिफाइनलमा नेपाल एपीएफ क्लब र विराटनगर महानगरपालिका बीचको विजेतासँग खेल्नेछ ।

वनदेवी युवा क्लबको आयोजनमा भइरहेको प्रतियोगिता अन्तर्गत शनिबार भएको उद्घाटन खेलमा जित हात पार्दै विभागीय टीम नेपाल पुलिस क्लब सेमिफाइनलमा पुगिसकेको छ । समूह ए मा रहेको पुलिसले सेमफाइनलमा आयोजक वनदेवी युवा क्लब र कालिका स्पोर्टस एकेडेमी चितवनको विजेतासँग खेल्नेछ । सोमबार विभागीय टीम नेपाल एपीएफ क्लब र विराटनगर महानगरपालिका प्रतिस्पर्धा गर्नेछन् । खेल निशुल्क रुपमा हेर्न पाइनेछ ।

वैशाख १० गतेसम्म सञ्चालन हुने गोल्डकपमा ३ विभागीय जितसँगै ८ टिमको सहभागिता रहेको छ । गोल्डकपको विजयी टिमले ट्रफीसहित नगद ५ लाख र उपविजेताले ट्रफीसहित २ लाख ५० हजार रुपैयाँ पुरस्कार राशि प्राप्त गर्नेछ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप