सोमबार, २४ असार २०८१
ताजा लोकप्रिय

काँग्रेसबाट पोखराको मेयरमा १८ को मनोनयन, प्रदेशका मन्त्रीसमेत दौडमा

आइतबार, ०४ वैशाख २०७९, १७ : २१
आइतबार, ०४ वैशाख २०७९

आगामी स्थानीय तह निर्वाचनका लागि पोखरा महानगरपालिकाको मेयर बन्न नेपाली काँग्रेसको तर्फबाट १८ जना र उपमेयरका लागि १० जनाले मनोनयन दर्ता गराएका छन् । मेयरको दौडमा प्रदेशका मन्त्री समेत रहेका छन् । नेपाली काँग्रेस पोखरा महानगर समितिले आगामी ३० वैशाखमा हुने चुनावका लागि पार्टीको तर्पmबाट उम्मेदवार छान्न आज आकांक्षीहरुको मनोनयन लिएको हो ।

चिप्लेढुंगास्थित नेपाली काँग्रेस कास्कीको पार्टी कार्यालयमा आइतबार बिहान ११ देखि दिउँसो ४ बजेसम्म मनोनयन लिइएकोमा मेयरमा १८ र उपमेयरमा १० जनाले मनोनयन दर्ता गराएको काँग्रेस पोखरा महानगर सचिव गणेश थापाले जानकारी दिए ।  निर्वाचन समितिका अनुसार मेयरको दौडमा सुदीपमोहन भट्टराई, डा.परमेश्‍वर पोखरेल, निर्मलप्रसाद कर्माचार्य, कृष्णबहादुर केसी, बाबुराम आचार्य, सरस्वती गुरुङ, नन्दप्रसाद तिवारी, गंगाधर पराजुली, वीरेन्द्रनारायण बिजुक्छे रहेका छन् ।

यस्तै, विश्वशंकर पालिखे, किशोरदत्त बराल, बिन्दु कुमार थापा, बाबुराम गिरी, गणेशबहादुर भट्टराई, कोपिला राना, किरण केसी, विश्व घिमिरे र ऋषि सापकोटाले मनोनयन दिइसकेका छन् । यस्तै, उपमेयरमा माया बराल कार्की, लक्ष्मी पाण्डे क्षेत्री, आनन्दी राणा कार्की, रंगीला आचार्य, टीकाकुमारी गुरुङ, दीपक मल्ल, मिलन थापा, चिनु गुरुङ, गोविन्द नेपाली र शिव केसीले मनोनयन दर्ता गरेका छन् ।

मेयरका आकांक्षी धेरै हुने देखेपछि काँग्रेस पोखरा नगर समितिले मेयर उम्मेदवार शुल्क पनि २५ हजार रुपैयाँ तोकेको थियो । साथै उपमेयरका लागि २० हजार रुपैयाँ दररेट तोकिएकोमा यस अलवा फर्म शुल्क दुवै पदमा ५ सय लिइएको थियो । पार्टीको केन्द्रीय समितिले आकांक्षीहरुबाट मनोनयन दर्ता गर्दा कुनै पनि शुल्क नलिने सर्कुलर गरे पनि महानगर समितिले त्यसको ठाडो उल्लंघन गरेकोमा आपत्ति जनाउँदै कार्यकर्ताले आपत्ति जनाएका छन् ।

महानगरले उम्मेदवार बन्न चाहनेहरुको मनोनयन सूचीबाट ३ जनाको नाम छनोट गरी केन्द्रमा सिफारिस गर्नेछ । यसैबीच, गण्डकी प्रदेशका कानुन, संचार तथा प्रदेश मामिलामन्त्री समेत रहेका काँग्रेस नेता बिन्दुकुमार थापाले पनि मेयर पदका लागि मनोनयन दर्ता गराएका छन् । उनी २०७४ सालको प्रदेशसभा चुनावमा कास्की क्षेत्र २ (क) बाट निर्वाचित भएका थिए । उनले माओवादीका उम्मेदवार करणलाई पराजित गरेका थिए । मन्त्री थापा पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्षसमेत हुन् ।

मनोनयनपछि मन्त्री थापाले मतदाताको चाहनाबमोजिम नै मेयरका लागि अघि बढेको प्रतिक्रिया दिए । प्रदेशमन्त्री थापाले क्रम संख्या १२ मा दिउँसो करिब ३ बजे मनोनयन दर्ता गराएका हुन्  । यसअघि, नेकपा एमाले पोखरा महानगर कमिटीले मेयरका लागि १२ जना र उपमेयरका लागि ११ जनाको नाम जिल्ला कमिटीमार्फत केन्द्रमा सिफारिस गरिसकेको छ । गत निर्वाचनमा एमाले मेयर र उपमेयर दुवैमा वर्चश्व कायम गरेको थियो । पोखराका कूल ३३ वडामध्ये २२ वडामा एमाले र बाँकी ११ वडामा काँग्रेसको नेतृत्व छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप