बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

सरोजकुमार मण्डल मृत्यु प्रकरण : अदालतले घटनालाई सामान्य रुपमा लिएको कानुन व्यवसायीको गुनासो

पीडकले उन्मुक्ति पाइसकेपछि पीडितको मृत्यु, न्यायको अनुभूति गर्न नपाएको पीडित परिवारको गुनासो
आइतबार, ०४ वैशाख २०७९, १९ : ३३
आइतबार, ०४ वैशाख २०७९

ज्यान मार्ने उद्योग अन्तर्गत दायर मुद्दामा कुटपिटसम्बन्धी कसुरको सजाय तोकेर अभियुक्तलाई रिहा गरेको जिल्ला अदालतको एउटा फैसलाप्रति कानुन व्यवसायीले नै असन्तुष्टि जनाएका छन् । अदालतले अभियुक्तलाई सामान्य जरिवानामा उन्मुक्ति दिएको केही समयपछि नै सो घटनाका घाइते युवकको उपचारकै क्रममा मृत्यु भएपछि स्थानीयवासी समेत न्यायको अनुभूति गर्न नपाएको तर्क गर्दछन् ।

कानुन व्यवसायीहरु न्यायालयले फैसला गरिसकेको अवस्थामा धेरै टिप्पणी गर्न नमिल्ने भएपनि उक्त घटनालाई अदालतले सामान्य रुपमा लिएर फैसला गरेको बताउँछन् । धनुषाको धनौजी गाउँपालिका–५, बहुअर्वाका सरोजकुमार मण्डलमाथि ७ महिनाअघि तरबार प्रहार भएको थियो । घाइते भएलगत्तै उपचारका लागि काठमाडौं ल्याइएका उनको उपचारकै क्रममा हालै निधन भएको हो । तर, यसबीच जिल्ला अदालत धनुषाले उनीमाथि तरबार प्रहार गर्ने व्यक्तिलाई उनको उपचार खर्च व्यहोर्ने गरी रिहा गरिसकेको छ ।

धनुषा जिल्ला अदालतका न्यायाधीश परशुराम भट्टराईले सो मुद्दाको फैसलामा प्रतिवादी राजीवकुमार मण्डललाई सरोजको उपचार खर्चबापत ४ लाख ९२ हजार २५९ रुपैयाँ, अर्का घाइते अनिल मण्डललाई ६९ हजार ३ सय र बजरंग प्रसाद राउतलाई ३ हजार १३० रुपैयाँको बिल भरपाई अनुसार उपचार खर्च उपलब्ध गराउन आदेश दिएका छन् ।

अधिवक्ता राजकुमार महासेठका अनुसार कुटपिट मुद्दा दुई प्रकारको हुन्छ । उनले भने, ‘एउटा त अङ्गभङ्ग कुटपिट, जुन सरकारवादी मुद्दा हुन्छ भने अर्को सामान्य कुटपिट, जुन साधारण हुन्छ ।’ अङ्गभङ्ग कुटपिट मुद्दा अन्तर्गत शरीरका ६ अङ्ग आँखा, नाक, मुखसहित जिब्रो, महिलाको छाती, मेरुदण्ड, हात र खुट्टाको दुवै जोर्नी र पुरुषको लिङ्ग पर्दछ । त्यस्तै, ज्यान मार्ने मुद्दा मनसायपूर्वक, आवेशपूर्वक, भवितव्य र लापरवाही गरी प्रकृतिअनुसार चार किसिमका हुने उनले बताए ।

अधिवक्ता महासेठ भने, ‘घटनाको प्रकृतिअनुसार नै अभियुक्तलाई सजाय हुन्छ । मनसायपूर्वक गरिएकोमा बढी सजाय हुन्छ भने आवेश प्रेरितमा त्यो भन्दा अलि कम सजाय, भवितव्यमा पनि त्यो भन्दा पनि कम र लापरवाहीको प्रकृति देखिएमा त्यो भन्दा पनि कम सजायको फैसला हुने कानूनी व्यवस्था छ ।’

सरोजकुमारको हकमा उनको पेटमा गम्भीर चोट लागेको र अदालतमा मुद्दा विचाराधीन रहँदासमेत उनी अस्पतालमा उपचाररत अवस्थामै रहेका कारण घाइतेको अवस्थालाई समेत ध्यानमा राख्ने हो भने यसलाई कुटपिट मुद्दाको श्रेणीमा राख्न नमिल्ने कानुन व्यवसायीको तर्क छ ।

जनकपुरधाममा करिब ३ दशकदेखि कानून व्यवसाय गर्दै आएका अधिवक्ता रमेश कुमार पाण्डे सरोजकुमार हत्याकाण्डको फैसलामा ‘समथिङ्ग ईज रङ्ग’ भएको बताउँछन् । ‘ज्यान मार्ने उद्योगमा दर्ता भएको मुद्दालाई कुटपिटमा परिणत गरी पीडकलाई हतार हतारमा उन्मुक्ति दिनु के आवश्यकता थियो ?’ उनले भने, ‘यो पेसीमा हतार हतारमा फैसला हुनु हुँदैन भन्ने कानुनी व्यवस्था त छैन । तर म ३ दशकदेखि वकालतमा रहेका आधारमा मैले यस अवधिमा यसरी अदालतबाट हतारमा फैसला भएको पाएको छैन ।’

यो मुद्दामा अधिवक्ता पाण्डेले नै वादीको तर्फबाट प्रतिवेदन तयार गरी न्यायाधीश समक्ष बुझाएका थिए । नेपाल बार एसोसिएसन जनकपुरधामका पूर्व अध्यक्षसमेत रहेका अधिवक्ता पाण्डे यस किसिमको फैसलाको अपेक्षा नै नगरिएको बताउँछन् । उपचारकै क्रममा रहेका घाइतेको स्वास्थ्य अवस्थालाई समेत फैसलाका क्रममा ख्याल नगरिएको उनको भनाइ छ ।

यस्तो थियो घटना

गत भदौ २६ गते राति बहुअर्बा गाउँमा गणेश पूजाको क्रममा सरोजमाथि स्थानीय एक समूहले तरबार प्रहार गरेको थियो । मेलामा सोही गाउँका अमितकुमार मण्डल, मनीषकुमार मण्डल, राजीवकुमार मण्डलबीच आपसी विवाद भएको थियो । मनिष र राजीवले अमितको टाउकोमा हतियार प्रहार गरेपछि बचाउका लागि बजरंग राउत र सरोजकुमार मण्डल त्यहाँ पुगेको प्रत्यक्षदर्शीको भनाइ छ । सोही क्रममा बजरंग र सरोजमाथि समेत आक्रमण भयो । घरेलु हतियारसहितको समूहले बजरंगको तिघ्रामा र सरोजको पेटमा धारिलो हतियार प्रहार गरेको थियो ।

मृतकका बुबा रामनन्दन मण्डलले अदालतबाट आफूले न्यायको अनुभूति नगरेको बताए । अदालतले उपचार खर्च भराउने आदेश दिए पनि मुद्दाको फैसला भइसकेपछि आफ्नो छोराको उपचारकै क्रममा मृत्यु भएको भन्दै उनले यसबीचमा पीडकले उन्मुक्ति पाइसकेको गुनासो गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप