मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

रुपन्देहीमा सत्तारुढ गठबन्धनको रणनीति : एमाले बलियो भएका स्थानीय तहमा मात्र तालमेल गर्ने

आइतबार, ०४ वैशाख २०७९, १६ : ३६
आइतबार, ०४ वैशाख २०७९

सत्तारुढ गठबन्धनले रुपन्देही जिल्लाका केही पालिकामा तालमेल नगर्ने निर्णय गरेको छ । जिल्लास्तरीय गठबन्धनको बैठकले ती पालिकामा आपसमा स्वच्छ प्रतिस्पर्धा गर्ने निर्णय गरेको हो । गठबन्धनको केन्द्रीय बैठकले आपसमा तालमेल गरेर स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिने निर्णय गरे पनि जिल्लाका ६ वटा पालिकामा दलहरु एक्लाएक्लै प्रतिस्पर्धामा उत्रिने भएका छन् ।

खासगरी एमाले बलियो भएको ठाउँमा मात्र सत्तारुढ गठबन्धनबीच तालमेल गर्ने तयारी भएको हो । गठबन्धनको पछिल्लो बैठकले रुपन्देहीमा ६ वटा स्थानीय तहमा सत्तारुढ दलबीच मित्रवत सम्बन्धका साथ चुनावी मैदानमा जाने तयारी निर्णय गरेको हो ।

गठबन्धन घटकका अनुसार जिल्लाका १० पालिकामा एमालेको अवस्था बलियो छ । ती स्थानमा भने सत्तारुढ गठबन्धनबीन तालमेल हुने गठबन्धन घटकका एक नेताले जानकारी दिए । नेपाली काँग्रेसका रुपन्देही जिल्ला सभापति रामकृष्ण खाणका अनुसार जिल्लाका ६ स्थानीय तहमा गठबन्धन घटक तालमेल बिना नै चुनावमा जाने तयारी छ ।

लुम्बिनी सांस्कृतिक नगरपालिका, मर्चवारी, सम्मरीमाई, कोटहीमाई, मायादेवी र गैडहवामा छुट्टाछुट्टै चुनाव लड्ने सहमति गठबन्धनमा आबद्ध दलहरूबीच भएको उनले जनाए । ती स्थानीय तहमा एमाले कमजोर भएकाले गठबन्धनभित्र रहेका दलहरु बाहेक अन्यले जित्ने सम्भावना कम रहेको  गठबन्धनको बुझाइ छ ।

२०७४ सालको स्थानीय निर्वाचनमा ती स्थानीय तहमा एमाले चौथो स्थानमा थियो भने जम्मा दुई वटा वडामात्र जितेको थियो । ती स्थानीय तहमा जसपा, नेपाली काँग्रेस र माओवादी केन्द्रको प्रभाव बढी देखिन्छ । जसपाका रुपन्देही इन्चार्ज देवेन्द्र पाण्डेय (सागर) ले यी पालिकामा एमाले कमजोर भएकाले छुट्टाछुट्टै प्रतिस्पर्धा गर्दा पनि गठबन्धन दलकै जित हुने निष्कर्षसहित मित्रवत प्रतिस्पर्धा गर्ने सहमति भएको बताए । उनले रातोपाटीसँग भने, ‘यहाँ भएको निर्णय केन्द्रमा पठाउने छौं, हामीले सहमति गरे अनुसार आफ्नो ढङ्गले प्रतिस्पर्धा गर्ने निर्णय गरेका छौं ।’

उनका अनुसार त्यहाँ गठबन्धनभित्र पनि दुई दलीय तालमेल हुन सक्छ । उनले भने, ‘कतिपय ठाउँमा जसपा र माओवादी, कतिपय ठाउँमा नेपाली काँग्रेस र जसपाबीच तालमेल हुने सम्भावना पनि छ ।’ यी ६ पालिकामध्ये पाँचवटा पालिकामा अघिल्लो निर्वाचनमा जनता समाजवादी पार्टीले जितेको थियो जसमध्ये एक पालिका प्रमुख र उपप्रमुख लोकतान्त्रिक समाजवादी पार्टीमा प्रवेश गरेका छन् । ती ठाउँमा जसपाले नेतृत्व छाड्न नमानेपछि मित्रवत प्रतिस्पर्धा गर्ने निष्कर्षमा पुगिएको जिल्लास्तरका एक नेताले रातोपाटीलाई बताए ।

अरु पालिकामा कसको दाबी ?

अन्य १० वटा स्थानीय तहमा भने गठबन्धन गरेर जाने तयारी भएको छ । बुटवल उपमहानगरसहित अन्य ४ वटा नगरपालिका र ५ वटा गाउँपालिकामा दलहरूबीच कुन दलले कुन पालिकाको नेतृत्व र कति वडा पाउने भन्ने प्रस्ट भइसकेको छैन । यी ठाउँमा एमाले कडा प्रतिस्पर्धी देखिएको छ ।

बुटवल उपमहानगरपालिका, सिद्धार्थनगर र तिलोत्तमामा प्रमुख पदमा नेकपा एकीकृत समाजवादीको दाबी छ । अघिल्लो निर्वाचनमा एमालेले जितको ठाउँमा आफ्नो स्वाभाविक दाबी रहने एकीकृत समाजवादीका नेता बताउँछन् ।

ती पालिकामा माओवादी केन्द्रले पनि दाबी गरेको छ । नेपाली काँग्रेस पनि गत निर्वाचनमा एमालेसँगको मुख्य प्रतिस्पर्धी भएकाले पालिका प्रमुख नछाड्ने अडानमा छ ।

खासगरी सैनामैना नगरपालिका, ओमसतिया र कन्चन गाउँपालिकामा नेकपा माओवादी केन्द्रले दाबी गरेको छ । गठबन्धनको ठूलो दल भएकाले नेपाली काँग्रेसले बुटवल उपमहानगरपालिका सहित देवदह, तिलोत्तमा, सैनामैना, सिद्धार्थनगर नगरपालिका र शुद्धोधन गाउँपालिकामा पनि दाबी गरेको छ ।

काँग्रेस रुपन्देही सभापति खाणले भने, ‘सबैलाई मिलाएर लैजाने हो, केन्द्रको एउटा मापदण्ड आएको छ, त्यसैका आधारमा  अगाडि जान्छौँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप