शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

शंकर पोखरेललाई काँध थाप्दा मन्त्री पद गयो, अहिले पार्टीले नि दिएन जिम्मेवारी

आइतबार, ०४ वैशाख २०७९, १४ : ३८
आइतबार, ०४ वैशाख २०७९

लुम्बिनी प्रदेशमा सत्ता गठबन्धन र प्रतिपक्ष दल एमालेको गतिविधिबारे आम चासो बढेको छ । यसै क्रममा ९ महिना अगाडि जसपाको कारबाहीसँगै मन्त्री पद गुमाएका ती दलका तीन सांसदहरुबारे पनि चासो सुरु भएको छ । पार्टी ह्वीप विपरीत तत्कालीन मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको लुम्बिनी प्रदेश सरकारमा सन्तोष पाण्डेय, कल्पना पाण्डेय र विजय बहादुर यादव मन्त्री भएका थिए । त्यसपछि पार्टीले पदमुक्त गरेका ती तीन सांसदहरु अहिले लोसपासँग सम्बद्ध छन् । तर पार्टीको गतिविधिमा खास सक्रिय छैनन् ।

पार्टीले सांसद पदबाट हटाएको विरुद्धमा अदालतमा मुद्धा कुरिरहेका ती पूर्व मन्त्रीहरु अहिले चुनावको मुखमा समेत पार्टी गतिविधिमा गुमनाम झैं छन् । स्थानीय निर्वाचनमा सक्रिय हुनुपर्नेमा त्यो नभएको कार्यकर्ताहरुको बुझाइ छ । तर उनीहरुले भने पार्टीबाट उचित भूमिका नपाएकाले आआफ्नै ढंगबाट नेताहरुको सम्पर्कमा रहेर काम गरेको बताउँछन् ।

प्रदेशको पूर्व भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री रहेका विजय बहादुर यादव अहिले बाँकेको डुडुवा गाउँपालिका–१ स्थित दुर्गा राइस मिल चलाएर बसेका छन् । उनी पार्टीको काममा हिँडेपनि पहिला जस्तो सक्रिय नरहेको स्वीकार्छन् । उनले रातोपाटीसँग भने, ‘स्थानीय चुनावमा साथीहरुलाई सहयोग गर्नुपर्छ । तर, पहिलो जस्तो काम गर्ने वातावरण पार्टीले अझै बनाएको छैन । हाम्रो मुद्धा पनि अदालतमा जारी छ । त्यसैले आफ्नै काम धन्दामा व्यस्त छु ।’

सिद्धार्थ नगरपालिका–४ का सन्तोष पाण्डेय विगतमा धेरै सक्रिय हुने नेताको रुपमा चिनिन्छन् । तर मन्त्री सँगै सांसद पद गुमाएपछि यादवजस्तै पाण्डेय पनि अहिले आफ्नै निजी काममा व्यस्त छन् । रुपन्देहीका क्षेत्र ३ को १ बाट निर्वाचित भएका उनी सार्वजनिक कार्यक्रममा कमै उपस्थित हुन्छन् । उनी चाहिँ आफू स्थानीय तह निर्वाचनको प्रचारमा केन्द्रीत रहेर पार्टीले खटाएको काम गरिरहेको बताउँछन् ।

उनी जस्तै एमाले नेतृत्वको सरकारमा काँध थाप्न पुगेकी कल्पना पाण्डेय लामो समयदेखि बिरामी छिन् । पाण्डेय अहिले आफ्नो बुबाको चौरासी पूजाको लागि अर्घाखाँचीमा रहेको रातोपाटीलाई बताइन् । अर्घाखाँचीको छत्रदेव गाउँपालिकाकी पाण्डेय समानुपातिक सांसद बनेपछि एकाएक राजनीतिमा चर्चाका आएकी थिइन् । सांसद हुनु पूर्व शिक्षण पेशामा रहेकी पाण्डेय आफूहरुमाथि अन्याय भएको जिकिर गर्छिन् । उनी पोखरेल नेतृत्वको सरकारमा उद्योग, वन तथा पर्यटन मन्त्री थिइन् । उनले भनिन्, ‘मलाई अहिले फिल्डमा जान स्वास्थ्यले साथ दिँदैन । तर, पार्टी केन्द्रीय अध्यक्ष महन्त ठाकुर लगायतको नेता र कार्यकर्ताको सम्पर्क छु । पार्टीलाई गर्नुपर्ने अन्य सहयोग गरेकी छु ।’

प्यारालाइसिस जस्तै जीबीएस रोग लागेपछि काठमाडौंस्थित नर्भिक अस्पतालमा लामो समय पाण्डेयले उपचार गरेकी थिइन् । मन्त्री भएको बेला विरामी परेपछि पाण्डेयको उपचारका लागि १८ लाख दिने निर्णय गरिएको थियो । तर नयाँ सरकार आएपछि १० लाख मात्र उपलब्ध गराएको पाण्डेले गुनासो गरिन् । अहिले पनि भारत समेत पुगेर महँगो उपचार गर्दा आर्थिक अभाव रहेको उनले बताइन् ।

सांसद पद गुमाएका लुम्बिनी प्रदेशका तीन जना पूर्व मन्त्रीहरु पार्टी गतिविधिमा कम संम्लग्न भए पनि नेताहरुको सम्पर्क र खटाएको काम लागि हिँडेको लोसपाका केन्द्रीय वरिष्ठ नेता सर्वेन्द्र नाथ शुक्लाले रातोपाटीलाई बताए । उनले भने, ‘अहिले उहाँहरु तीनै जना खुलेर पहिलो जस्तै सक्रिय हुनुहुन्न । तर, हाम्रो सम्पर्कमा रहेर नेताहरुले खटाएको काममा चाहिँ लाग्नु भएको छ ।’

मुद्धा अझै अदालतमा

पार्टीको ह्वीप उल्लंघन गरेपछि उनीहरु पदमुक्त भएको ८ महिनाभन्दा बढी भएको छ । तर तिनीहरुको मुद्धा अदालतमा अझै विचाराधीन छ । उनीहरुले तत्कालीन पार्टीले नियम विपरीत जबरजस्ती हटाएको भन्दै आफूहरुको सांसद पद कायमै राख्न माग गरेका छन् । पटक पटक पेशी सार्दा ढिलाइ भएको पाण्डेयले बताइन् । अब संसद्को अवधि एक वर्ष पनि बाँकी छैन । प्रदेश सभाले संसदबाट हटाएपछि कल्पनाको ठाउँमा अर्को सांसद आएकी छन् भने अन्य दुई जनाको सिट भने खाली नै छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप