जीतपुर सिमरामा गठबन्धन दलहरुबीच सहमति जुटाउन सकस
जीतपुर सिमरा उपमहानगरपालिका प्रमुखमा नेपाली काँग्रेस र माओवादी केन्द्रले आ–आफ्नो दाबी नछोडेपछि सत्तारुढ ५ दलीय गठबन्धनलाई सहमति जुटाउन सकस भएको छ । तीन दिनदेखि निरन्तर बसेको ५ दलीय गठबन्धनको बैठकमा जीतपुर सिमरा उपमहानगरको प्रमुख पदका लागि काँग्रेस र माओवादी केन्द्रले दाबी कायम राखेका हुन् ।
नेपाली काँग्रेसका नगर सभापति छविलाल शर्माले नगर प्रमुखका लागि नीतिगत रुपमा माओवादी केन्द्र पछि नहट्ने र नेपाली काँग्रेस पनि माओवादीलाई प्रमुख दिन तयार नभएपछि छलफल बिना निष्कर्ष टुङ्गिएको बताए । ‘गठबन्धनका सबै दलले ठुलो–ठुलो भाग खोजिरहेकाले समस्या भएको हो, आफ्नो मागमा कोही टसमस छैनन् तैपनि हामी सकेसम्म गठबन्धन नतोड्ने र पुनः छलफल गरेर टुङ्ग्याउने गरी लागेका छौं,’ नगरसभापति शर्माले भने ।
२०७४ को निर्वाचनमा जीतपुर सिमरामा काँग्रेसले दोस्रो र माओवादी केन्द्रले तेस्रो मत ल्याएको थियो । उपमहानगरको २४ वटा वडामध्ये माओवादी केन्द्रले १०, नेपाली काँग्रेसले ५, नेकपा एमालेले ७ र तत्कालीन राजपाले २ वटा वडा जितेको थियो ।
विगतको निर्वाचनमा माओवादीका वडाध्यक्षहरुले पाएकै मत नगरप्रमुखका दावेदारले प्राप्त गरेको भए माओवादीले सहज ढंंगले मेयर पदमा जित्ने निश्चित थियो । २०७४ को निर्वाचनमा जीतपुर सिमरा नगर प्रमुखमा एमालेले १४ हजार ८६५, नेपाली काँग्रेसले ११ हजार ९९५ र माओवादी केन्द्रले ११ हजार २५१ मत ल्याएका थिए । विगतको निर्वाचनलाई हेर्दा काँग्रेस र माओवादी केन्द्रबीच प्रमुख पदमा ७ सय ४४ मत मात्रै अन्तर छ ।
माओवादी केन्द्रका संविधानसभा सदस्य जयराम दाहालले निर्वाचनका लागि उम्मेदवारी दर्ता वैशाख ११÷१२ गतेसम्म भएकाले ८ गतेभित्र गठबन्धनले निर्णय गरेर पठाइसक्ने बताए । ‘नगरप्रमुख÷उपप्रमुखका लागि गठबन्धनले माथिबाट निर्णय गरेर आउँछ, वडाहरूको हकमा जिल्लाको सिफारिसमा प्रदेशले टुङ्ग्याउँछ,’ दाहालले भने, ‘छलफलमा नेपाली काँग्रेसका साथीहरुले गठबन्धन विरुद्ध हामी जाँदैनौ भन्नुभएको छ, हाम्रो पनि कुरा त्यही हो, माथिबाट निर्णय भएर आएपछि जुटेर जाने हो ।’
बाराको १६ वटा पालिकामध्ये मतदाता संख्या, सांगठनिक संरचनाका हिसाबले जीतपुर सिमरामा सबैभन्दा आफ्नो बलियो पकड रहेको माओवादी केन्द्रको दाबी छ । यता, नेपाली काँग्रेसले विगतको निर्वाचनमा ५ वटा वडामात्रै जिते पनि अहिले मतदाताको संख्या बढेको, अघिल्लो निर्वाचनमा सो उपमहानगरमा आफू दोस्रो शक्ति रहेको भन्दै प्रमुख पद आफूले पाउनुपर्ने अडान राख्दै आएको छ ।
नेकपा एकीकृत समाजवादीका बारा जिल्ला अध्यक्ष सुन्दर विश्वकर्माले केन्द्रमा भएको ५ दलीय गठबन्धनलाई स्थानीय तहमा निरन्तरता दिने गरी छलफल भइरहेको बताए । ‘गठबन्धनमा कुन पालिका कसले लिने भन्ने निर्णय केन्द्रबाट निर्णय भइसकेपछि सम्बन्धित दलले नै उम्मेदवारको टुङ्गो लगाउँछ,’ उनले भने, ‘माथिबाट पनि पत्राचार भएको छ, विगतको निर्वाचनलाई हेर्ने, मतलाई आधार मान्ने र वर्तमान परिस्थितिलाई समेत विश्लेषण गरेर सबै दललाई सम्मानजनक ढंगले लिएर जाने ५ दलीय गठबन्धनको निर्देशन पनि छ ।’
विकले जीतपुर सिमरा र कलैयामा प्रमुखका लागि काँग्रेसले प्रमुख पदमा गरेको दाबी सामान्य भएको बताए । ‘गठबन्धनमा आफूले भनेका सबै कुरा पूरा हुँदैनन् तर, निर्णय भइसकेपछि सबैले मान्छन्, सहयोग गर्दछन्,’ उनले भने ।