शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कोरोनाविरुद्धको खोप अभियानमा सफल भएको सरकारको दाबी

आइतबार, ०४ वैशाख २०७९, १३ : १५
आइतबार, ०४ वैशाख २०७९

सरकारले आफ्नो लक्ष्यअनुसार कोरोनाविरुद्धको खोप अभियानमा सफलता हात पारेको दाबी गरेको छ । २०७८ चैत मसान्तसम्म १८ वर्ष माथिको सबै जनसंख्यालाई पूर्ण मात्रा खोप लगाउने लक्ष्य लगभग पूर्ण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा. समीरकुमार अधिकारीले बताए ।

उनले गत वर्षको माघ १४ बाट कोरोनाविरुद्धको खोप अभियान शुरु गरेपछि चैत्र मसान्तसम्म १८ वर्षमाथिको उमेर समूहकालाई लक्षित वर्गमा राखेर अभियान शुरु गरिएको र अभियानमा सरकारले लगभग लक्ष्य पूरा गरेको बताए । सहप्रवक्ता अधिकारीले सरकारले यो बीचमा लगभग ९५ प्रतिशत खोपको पहिलो मात्रा लगाइसकेको बताए ।

त्यस्तै ९० प्रतिशतको हाराहारीमा लक्षित वर्गलाई पूर्ण मात्रा खोप लगाएको बताए । उनले आगामी दिनमा पनि कोरोनाविरुद्धको खोप अभियान जारी रहने र खोपको दायरामा नआएका नागरिकलाई खोपको दायरामा ल्याइ खोप अभियानलाई पूर्णता प्रदान गर्नेतर्फ सरकार केन्द्रित रहेको स्पष्ट पारे ।

सहप्रवक्ता अधिकारीले भने, ‘हामीले गत वर्षको माघ १४ बाट कोरोनाविरुद्धको खोप अभियान शुरु गरेदेखि यो बीचको अवधिमा १८ वर्षमाथिको उमेर समूहकालाई लक्षित वर्गमा राखेर अभियान शुरु गरिएको थियो । यद्यपी पछि १८ वर्ष भन्दा मुनिको १२ वर्षभन्दा माथिको उमेर समूहलाई पनि लगाउन मिल्ने खोप पनि सिफारिस भयो ।

त्यसपछि खोप ल्याउने र लगाउने गरेका छौँ । लक्ष्यको कुरा जुन छ, हामीले त्यसमा खोप अभियान हेर्ने हो भने चैत मसान्तभित्र १८ वर्ष माथिको सबै जनसंख्यालाई पूर्ण मात्रा खोप लगाउने भनेर हामीले लक्ष्य राखेका थियौँ । लक्ष्य राखे अनुसार हामी अब ९० प्रतिशतभन्दा माथि ९४/९५ प्रतिशत खोप एक मात्रा लगाइसकेको छ ।

पूर्ण मात्रा तोकिएको समयभित्र सबैलाई लगाउन सकेको भए राम्रो हुन्थ्यो । यद्यपि पूर्ण मात्रा लगाउने जनसंख्या पनि ९० प्रतिशतकै हाराहारी पुग्न थालेको देखिन्छ । यसलाई हेर्दा हामीले लगभग लक्ष्य प्राप्ति गरेको भन्नुपर्ने हुन्छ । चैत्र ३० गतेपछि नै हाम्रो खोप अभियान पूर्ण रुपमा बन्द हुने होइन । संक्रमणबाट बच्नका लागि जतिसक्दो चाँडो बाँकी व्यक्तिहरुलाई खोपको दायरामा ल्याउनको लागि र खोप लगाएको व्यक्तिले दोस्रो मात्रा लगाउनका लागि हामीले यो अभियानलाई निरन्तर अघि बढाउनैपर्छ ।’

सहप्रवक्ता अधिकारीले विभिन्न सञ्चारमाध्यमहरुमा कोरोनाविरुद्धको खोप प्रयोग नगरेर खेर फालेको भन्ने समाचारप्रति मन्त्रालयको ध्यानाकर्षण भएको बताए । उनले हालसम्म सरकारले कोरोनाविरुद्धका खोपहरू खेर नफालेको दाबीसमेत गरे । सहप्रवक्ता अधिकारीले सरकारले दुःख गरेर पाएको खोपलाई महत्वका साथ कसरी प्रयोग गर्न सकिन्छ भन्ने रणनीति बनाएर खोपलाई यथोचित प्रयोग गरिरहेको पनि बताए ।

सहप्रवक्ता अधिकारीले नेपालमा रहेका कोरोनाविरुद्धका केही खोपहरूको समय अप्रिल महिनासम्म रहेको भन्दै ती खोपहरुलाई बाँकी दिनमा सक्ने गरेर रणनीति बनाएको बताए । उनले कतिपय खोपहरू एकै प्याकमा ६ वा १० वटा आउने भएको र खोलेको ६ घण्टाभित्र सबै प्रयोग गरिसक्नुपर्ने हुन्छ तर खोप लगाउने मानिसहरु नहुँदा १/२ वटा खोप प्रयोग भएपनि प्याकमा बाँकी खोप खेर जानसक्ने सम्भावना रहेको जानकारी दिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म लक्षित समूहभित्र रहेका एक करोड ९९ लाख २२ हजार १ सय ६४ वयस्कमध्ये एक करोड ८७ लाख २२ हजार ९०६ जनाले खोपको एक मात्रा लगाएका छन् भने १ करोड ६५ लाख ६३ हजार ३ सय ७० जनाले खोपको पूर्ण मात्रा लगाएका छन् ।

त्यस्तै लक्षित वर्गभित्र रहेका ३४ लाख २५ हजार ४०८ जना बालबालिका मध्ये ९२ प्रतिशत अर्थात् ३१ लाख ४५ हजार ४ सय ५१ जनाले खोपको एक मात्रा लगाएका छन् भने लक्षित संख्याको ७५ प्रतिशत अर्थात् २५ लाख ८४ हजार ३ सय २६ जनाले खोपको पूर्ण मात्रा लगाएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसबाहेक २३ लाख ७४ हजार ११ डोज अतिरिक्त खोप प्रयोगमा आएको र देशभर हालसम्म उपलब्ध ५ करोड ३३ लाख ८१ हजार ५ सय ७० डोज खोपमध्ये ४ करोड ५ लाख ८५ हजार ५ सय ५७ डोज खोप प्रयोग गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप