सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय

र्‍यापमा अश्लील शब्दः आवश्यकता कि उत्तेजना ?

आइतबार, ०४ वैशाख २०७९, १२ : ०१
आइतबार, ०४ वैशाख २०७९

अहिले शशी मण्डलले ‘नेपहपको श्रीपेच’ एपिसोडमा गाएको र्‍याप निकै नै चर्चामा छ । ‘मिलेन लेभल तेरो बाउ बोला ए, जी बब भर्सेस माइलाको केही समय अघिको यो र्‍याप पनि भाइरल भयो । केही वर्षदेखि भिटेनलगायत अन्य र्‍यापरको र्‍याप गीतले पनि समाज तरंगित नै छ । म खासै र्‍याप गीतको पारखी त होइन तर समाजका अनेक कुराहरुबाट म अछुतो रहन सक्दिनँ । मैले चाखपूर्ण तरिकाले नै भिटेनका ‘हामी यस्तै त हो नि ब्रो’देखि अन्य र्‍याप गीतसम्म पछ्याएरै हेरेँ । भिटेनका र्‍यापमा समाजका अनेक चरित्रहरुको जसरी चित्रण गरिएको छ, अनि समाजका लागि अपाच्य शब्द सामेल छन्,त्यो चाहिँ आपत्तिजनक नै छ । यसैले बारम्बार विभिन्न कालखण्डमा उनी प्रहरी हिरासतमा समेत पुग्नुपर्यो । अधिकांश र्‍यापरका र्‍यापहरु मन छुने राम्रा छन् तर केहीमा भने अश्लीलता भरिभराउ छ । र्‍याप गीतमा अश्लील शब्दको प्रयोग किन र कसरी हुन्छ भन्नेबारे यस लेखमा चर्चा गरिएको छ ।

म हाल सुदूरपश्चिमको एक दुर्गम पहाडी जिल्लामा चिकित्सकको रुपमा कार्यरत छु । यहाँ र्‍याप गीत सुन्ने जमात त कमै छ तर यहाँ र्‍यापरहरुको गीतमा प्रयोग गरेका अश्लील शब्द भने हरेक क्षण र हरेक जमघटमा सुनिन्छ । मदिरा सेवन गरेर आफ्नो मनोरञ्जन हुन्छ भनेर मान्यता राख्ने यताका वासिन्दा शब्द शब्दमा ‘मु’ र ‘मा’ जस्ता शब्द प्रयोग गरेकै हुन्छन् । फुटबल वा भलिबल गेम होस्, जति नै सुन्दर भावनात्मक सम्बन्ध राखेर खेलेको भएता पनि आपसी सम्बोधनमा यस्ता शब्द बारम्बार प्रयोग भएको सुनेको छु । गाउँले भेला होस् वा नगरस्तरीय औपचारिक भेला कसै न कसैको मुखबाट यस्ता शब्द फुत्किहाल्छन् ।

अब हामी अनुमान मात्र लाउन सक्छौं कि घर घरको बन्द कोठाभित्र यस्ता अश्लील शब्दको प्रयोग कति बढी होला ? आज हामी सभ्य समाजको निर्माण गर्न र्‍यापरलाई गाली गर्दै फेसबुकमा स्ट्याटस लेखेर मात्र हुँदैन । आफ्नो समाज वरपर समेत नियालेर हेर्नुपर्छ ।

यहाँ समाजको रुपरेखा नै बेग्लै छ । बाहिर सिद्धान्तको ठेली गाएर भलाद्मी बन्छन् तर भित्र व्यवहारमा शून्य प्रायः हुन्छन् । जसले वेश्यासँग रात काट्न रेड लाइट एरिया धाएको हुन्छ, ऊ नै वेश्यावृत्तिको चर्को विरोध गर्छ । अश्लील भनिने यावत व्यवहारमा मुछिएर चोखो उम्किन खोज्ने प्रवृत्ति हानिकारक छ । बरु यो हानिकारक छ भन्ने कुरा जायज हो भने खुलेआम  निराकरणमा लाग्न किन सकिँदैन ? हाम्रा समाजका कतिपय अवयवहरु नै असभ्य छन् । तर हामी सभ्यताको पाठ तिनैबाट सिक्ने गर्छौं । वरिष्ठ भनिएका व्यक्तित्व र अनेक ग्रन्थहरु नै लुप्त रुपमा भित्रभित्रै पतन भएर मात्र बाहिर गर्जन गर्ने गर्छन् । के यसले फरक पार्छ र ?

यसरी हेर्दा र्‍यापरले गीतमा प्रयोग गरेका अश्लील शब्दहरु सायद यतै कतै जन्मिएका होलान् तर हाम्रा लागि यो सामूहिक तवरले सुन्न आपत्तिजनक छ । हामी हाम्रो घरका आमा, बुवा, श्रीमती, दिदी, दाई र छोरा छोरीसँग बसेर कदापी यस्ता गीत सुन्ने कल्पना समेत गर्न सक्दैनौं । हुन सक्छ, यस्ता गीत संगीतले साँच्चै नै हाम्रो पारिवारिक संगठनमा आँच पुर्याउन सक्छ । तर पनि गायकको स्वच्छन्द प्रतिभालाई समेत केही ‘स्पेश’ भने जरुर दिनुपर्छ ।

आजको भोलि नै अपवाद  र्‍यापरका अश्लील शब्दहरु हाम्रा लागि पाच्य नहोलान् । किनकि यो सभ्यताको लामो इतिहास छ तर बाहिरी देखावटी दुनियाँमा मात्र सभ्य भएर गरिने नौटंकी चालहरुले चै सन्ततिकै मनोविज्ञानमा असर पर्न सक्छ । अर्काले बोले बेठिक आफूले भने जहाँ जे बोले पनि ठिक भन्ने दृष्टान्तबाट मुक्त हुनै पर्छ । र, र्‍यापरहरुले पनि यो कुरा बुझ्नु जरुरी छ कि खानु, पिउनु, हाँस्नु र मोजमस्तिमा छाडा गाउनुलाई मात्र पनि गीत संगीत भनिदैन । जीवनको आनन्द नै यस्तैमा खोज्ने र भेट्टाउनेहरुलाई त केही छैन । तर, जीवन सभ्यताको चिनारी बोकेर र सन्देशबाहक बनेर पनि बिताउन सकिन्छ ।

नेपालीहरुमा आफ्नै कला संस्कृति र लोकसंगीतप्रति चाख छ । तर आफ्नै किसिमको पोशाक लगाएर गरिने  नाचगान र रोदी घर लोप हुँदै गएको छ । पहिला पहिला कसैले भाका हाल्थे, कोही मुरली बजाउथे, कोही मादल कोही सारंगी, कोही खैझडी बजाउँथे । दिउँसो भए गाईभैंसीहरु यताउति चरिरहेका हुन्थे, राती भए जुनेली रात र झ्याउकीरीको संगीत साथमै हुन्थ्यो । टुना मुना मन्त्र पनि गीत संगीतबाटै लाउँथे । मुसुमुसु हाँस्दै नौला परदेशी आए लहरै उठाएर नचाउँथे । कृत्रिममताको कुनै लेश थिएन । गुलाफी रंगका फूलहरु स्त्रीका गालामा झपक्कै फुल्दथे । बलियो छाँटकाँटमा धन र सम्पतिको धाक लाएर रातो कोटमा फूर्ति लाउँथे केटाहरु । यसैलाई निहुँ पारी पारी दोहोरीमै लुकामारी खेल्थे जोडीहरु, अनि प्राकृतिक तवरले हाँस्दथे, रमाउथे । क्षणभरमा नै मीठो माया पनि गाँस्दथे ।

के तामाङ, के शेर्पा, के क्षेत्री, के बाहुन, के सरकारी जागीरे, के गोठालो, के गृहस्थी, के नवयुवती मानवहृदयमा चित्रकारले झैं रंगहरु पोतेर सुनौलो प्रेमको आकार दिन्थे । सायद सुन्ने र हेर्नेहरुलाई पनि यो प्रेम र भक्तिको सस्पेन्सयुक्त कथा निकै रोचक लागेर प्रतिक्षारत रहन्थे । यो मनोरञ्जन मात्र नभएर जीवनको नविनता, समाजका अध्ययन र सुधारक विषयका साथै हाम्रा सभ्यता विकासक्रम र लोकसंस्कृतिलाई संसार सामुन्ने चिनाउने माध्यम बन्ने गर्थ्यो । तर विडम्बना आज पश्चिमा संस्कृतिले नेपाली समाजमा आकार र अभिप्रायः लिदै छ ।

यसो भन्दै गर्दा के अब र्‍याप संगीत नै बन्द गरेर दोहोरी मात्र गाएर बस्ने त  नेपालमा ? केही दोहोरीमा पनि ठ्याक्कै पहिलो चोटी हेर्दा सुन्दा नबुझिने खालको अश्लीलता घुसेको हुन्छ । सबै गीत संगीतका पारखीहरुले यस्तै नै गर्नुपर्छ भन्ने छैन । किनकि हरेक गीत संगीतका उत्पति र स्वरुप फरक फरक हुन्छन् । तर र्‍यापमा हुने गरेका असीमित अश्लीलता हटाएर केही यथार्थपरक पनि बनाउन सकियो भने उब्जिएका विरोधाभासहरु निराकरण गर्न चै सकिन्छ । त्यसका लागि र्‍यापर बालेन शाहकै र्‍यापहरु नै हामीले उदाहरणका लागि हेर्न सक्छौं । आफूलाई कुनै मन पर्ने र्‍याप मैले मेरो बुवासँग बसेरसुन्नै सक्दिनँ भने मेरोे छोराको पुस्ताले पनि मसँग बसेर सुन्न सक्दैन । अनि बाहिर गएर साथी भाईसँग यस्तो र्‍यापमा रमाएको भेट्दा पक्कै पनि हाम्रो वा बुवा आमाको पुस्ताको मन नरमाइलो हुन्छ ।

अग्रजलाई तिरस्कार गरेर र्‍याप नै रचिएपनि त्यसले समाजको मर्यादाक्रमलाई तहसनहस बनाउँछ । अनि र्‍याप जस्तै बोली लवज घर घरमा व्यापक सुनिन थाल्छ । जसलाई नियन्त्रण गर्न वा काबुमा राख्न हामी काबिल नहुन पनि सक्छौं । त्यसैले समयमै सचेत बनौं ।

कुनै पनि सिर्जनाको मूल तत्व प्रेम हो र यसलाई कलात्मक ढंगले प्रयोग गर्न सके गीत संगीतमार्फत समाजमा सत्यको आभास गराउन सकिन्छ । दृश्य र श्रव्य आह्वानमार्फत  स्वर्गको जादूलाई टिप्ने सामर्थ्य राख्छ । दोहोरी होस् कि र्‍याप, बोक्रे सतही सिर्जनाले श्रोता दर्शकलाई उचाल्नु भन्दा हृदयकेन्द्र छोएर उच्च नैतिकबोधमा नेपाली संस्कृतिको सुगन्ध फैलाउनु जरुरी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. अच्युतशाली घिमिरे
डा. अच्युतशाली घिमिरे
लेखकबाट थप