शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मकवानपुरका अधिकांश स्थानीय तहबाट एमालेको उम्मेदवार सिफारिस, को–कहाँ ?

उम्मेदवार टुङ्ग्याउन छनौट समिति
आइतबार, ०४ वैशाख २०७९, ११ : ४१
आइतबार, ०४ वैशाख २०७९

आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि नेकपा एमालेले मकवानपुरका अधिकांश पालिकाहरुको उम्मेदवार सिफारिस प्रक्रिया टुङ्ग्याएको छ । जिल्लाका १० वटा स्थानीय तहहरुमध्ये एमालेले ९ वटा पालिकासहित १०२ वटै वडाको उम्मेदवारको सिफारिस प्रक्रिया टुङ्ग्याएको हो ।

एमालेले बागमती, बकैया, मकवानपुरगढी, इन्द्रसरोवर, भीमफेदी, कैलाश र  राक्सिराङ गाउँपालिकाको उम्मेदवार सिफारिस सकिएको जनाएको छ । सँगसँगै हेटौंडा उपमहानगरपालिका र थाहा नगरपालिकाको प्रमुख तथा उपप्रमुखको उम्मेदवार सिफारिस पनि सकिएको छ । एमालेले मकवानपुरको मनहरी गाउँपालिकाको प्रमुख र उपप्रमुख पदका उम्मेदवारहरु भने टुङ्ग्याउन सकेको छैन ।

मनहरीमा  आकांक्षीहरु बढी हुँदा उम्मेदवार सिफारिस प्रक्रिया अल्झेको हो । एमाले मनहरी गाउँपालका कमिटी अध्यक्ष नविन सुवेदीका अनुसार पालिका प्रमुख र उपप्रमुखसहितका पदहरुमा सर्वसम्मत उम्मेदवार चयन गर्ने तयारी रहेकाले सिफारिस प्रक्रिया अल्झेको हो ।

उनले केही दिनभित्रै सर्वसम्मत रुपमा पालिका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र सदस्य पदका उम्मेदवारहरुको विषय टुङ्ग्याएर माथिल्लो कमिटीमा सिफारिस गरिने बताए ।

एमालेबाट मनहरी गाउँपालिकाको अध्यक्ष बन्नका लागि ५ जनाले आकांक्षा व्यक्त गरेका छन् । बहालवाला अध्यक्ष एकराज उप्रेती, एमाले गाउँपालिका कमिटी अध्यक्ष नवीन सुवेदी, बागमती प्रदेश कमिटी सदस्य श्यामसुन्दर ढकाल, मनहरी वडा नम्बर–७ का अध्यक्ष दिलबहादुर स्याङ्तान र जयराम अर्यालले आकांक्षा देखाएका छन् ।

यता पालिका उपाध्यक्षमा भने ४ जना आकांक्षी रहेका छन् । एमालेबाट सुजिता थिङ, गीता प्रजा, विमला कार्की र पम्फा रोक्का आकांक्षी देखिएका छन् ।

२०७४ को निर्वाचनमा मनहरी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा एमालेका उम्मेदवार विजयी भएका थिए । पालिका अध्यक्षमा काँग्रेसका उम्मेदवारलाई हराउँदै एमालेका एकराज उप्रेतीले जितेका थिए भने उपाध्यक्षमा एमालेकी मनिला विष्टले जितिन् । उपाध्यक्ष विष्ट हाल एकीकृत समाजवादीमा आबद्ध छिन् ।

हेटौंडा उपमहानगरपालिका

हेटौंडा उपमहानगरपालिकाको मेयरका लागि ३ जनाको नाम सिफारिस भएको छ । यस्तै उपमेयरमा पनि ३ जनाको नाम सिफारिस भएको छ ।  बहालवाला मेयर हरिबहादुर महत, संविधान सभा सदस्य अनन्तप्रसाद पौडेल र गणेशकुमारी श्रेष्ठलाई मेयर पदको उम्मेदवारका लागि सिफारिस गरिएको हो । यसैगरि उपमेयरका लागि सुमित्रा काफ्ले, आरती पाठक र ईन्द्रप्रसाद नेपालको नाम सिफारिस भएको छ ।  २०७४ सालमा भएको स्थानीय निर्वाचनमा हेटौंडाको मेयर र उपमेयरमा दुबैमा एमालेका उम्मेदवारहरु विजयी भएका थिए ।

माओवादी केन्द्र र काँग्रेसको गठबन्धनका उम्मेदवारलाई हराउँदै मेयरमा एमालेका हरिबहादुर महत र उपमेयरमा मीनाकुमारी लामाले चुनाव जितेका थिए । उपमेयर लामा हाल एकीकृत समाजवादीमा आवद्ध छिन् ।

बकैया गाउँपालिका

एमालेले मकवानपुरको बकैया गाउँपालिकाबाट अध्यक्षमा पाँच जनाको नाम सिफारिस गरेको छ । गाउँपालिका कमिटीको बैठकले अध्यक्षमा बहालवाला उपाध्यक्ष सरला बोलखे, पद्मा पौडेल, दलबहादुर वाईवा, कृष्णप्रसाद चौँलागाई र गोपाल दाहालको नाम सिफारिस गरेको हो । सिफारिसमा परेकी पौडेल मकवानपुरबाट निर्वाचित प्रतिनिधिसभा सदस्य कृष्णप्रसाद दाहालकी धर्मपत्नी हुन् ।

बैठकले पालिका उपाध्यक्ष पदमा बद्रीलाल थिङ, विजय वाईवा, लालबहादुर स्याङ्तान, सुस्मिता घोरासैनी, जिमी लो स्याङ्तान, याङ्ग्री डोल्मा लामा भोम्जनलाई सिफारिस गरेको छ ।  २०७४ को स्थानय तहको निर्वाचनमा बकैया गाउँपालिका अध्यक्ष पदमा काँग्रेसका दामोदर खनाल विजयी भएका थिए भने पालिका उपाध्यक्षमा एमालेकी सरला बोलखेले जितेकी थिइन् ।

थाहा नगरपालिका

एमाले थाहा नगरपालिका कमिटीको बैठकले नगर प्रमुख र उपप्रमुख पदका लागि दुई/दुई जना सिफारिस गरेको छ । प्रत्यासी उम्मेदवारहरुबीच गाउँपलिका बैठकको छलफलबाट सहमति जुट्न नसकेपछि उम्मेदवार टुङ्ग्याउन पालिका सहजकर्ताहरुलाई जिम्मेवारी दिन सहमति भएको थियो । सहजकर्ताहरुको बैठकले उम्मेदवारको विषय टुङ्ग्याएको थियो ।

थाहा नगरपालिकाको प्रमुख पदका लागि एमालेले बिष्णु प्रसाद ढकाल र शशीधर सुबेदीलाई सिफारिस गरेको छ । यसैगरी उपप्रमुखमा कल्पना बलामी र चमेली वाइवालाई सिफारिस गर्ने निर्णय गरेको छ ।

२०७४ को स्थानीय निर्वाचनमा थाहा नगरपालिकामा एमाले विरुद्ध काँग्रेस माओवादी केन्द्रबीच गठबन्धन भएको थियो । सो निर्वाचनमा गठबन्धनका तर्फबाट थाहा नगरपालिकाको मेयरमा मााअ‍ेवादी केन्द्रका लवशेर विष्ट र उपमेयरमा खड्ग गोपालीले चुनाव जितेका थिए ।

भीमफेदी गाउँपालिका

यसैगरी भीमफेदी गाउँपालिको अध्यक्ष र उपाध्यक्षमा पुरानै उम्मेदवारहरुलाई दोहो¥याउने भएको छ ।  एमाले भीमफेदी गाउँपालिका कमिटीको बैठकले पालिका अध्यक्ष र उपाध्यक्षमा वहालवाला अध्यक्ष हिदम लामा र उपाध्यक्षमा पार्वती रानालाई नै उठाउने निर्णय अनुसार माथिल्लो कमिटीमा उनीहरुको नाम सिफारिस गरेको हो ।

२०७४ को स्थानीय निर्वाचनमा भीमफेदी गाउँपालिकाको अध्यक्ष तथा उपाध्यक्ष दुबै पदमा काँग्रेस माओवादी केन्द्रको गठबन्धनका उम्मेदवारहरुलाई हराउँदै एमालेका उम्मेदवार लामा र राना विजयी भएका थिए ।

राक्सिराङ गाउँपालिका

एमालेले राक्सिराङ गाउँपालिकामा अध्यक्षमा बाबुलाल स्याङ्तानलाई उम्मेदवार उठाउने भएको छ । एमाले राक्सिराङ गाउँपालिका कमिटीको बैठकले अध्यक्षमा स्याङ्तानलाई उम्मेदवार बनाउने निर्णय अनुसार उनको नाम सिफारिस गरेको हो । त्यस्तै बैठकले उपाध्यक्षमा सुन्तलीमाया प्रजालाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरी नाम सिफारिस गरेको छ ।

राक्सिराङ गाउँपालिकामा २०७४ को स्थानीय तहको निर्वाचनमा एमालेका अध्यक्ष तथा उपाध्यक्षका उम्मेदवार पराजित गर्दै दुबै पदमा काँग्रेसका उम्मेदवारले जित हात पारेका थिए । सो निर्वाचजमा राक्सिराङको अध्यक्षमा काँग्रेसका राजकुमार मल्ल र उपाध्यक्षमा निर्मला हिम्डुङले जितेकी थिइन् ।

बागमती गाउँपालिका

यस्तै एमालेले मकवानपुरको बागमती गाउँपालिकाको अध्यक्षमा चार जना सिफारिस गरेको छ । एमाले बागमती गाउँपालिका कमिटीको बैठकले अध्यक्षमा खेमराज जर्गा मगर, छिरिङदोर्जे लामा, नरबहादुर लामा र राजकुमार तिमल्सिनालाई सिफारिस गरेको हो ।

त्यस्तै बैठकले उपाध्यक्ष पदमा बहालवाला उपाध्यक्ष धनमाया स्याङतान, गोपीकुमारी फुँयाल, राधिका तिमल्सिना, सर्मिला विक र सविना योञ्जनलाई सिफारिस गरेको छ ।

२०७४ को निर्वाचनमा बागमती गाउँपालिकाको अध्यक्ष पदमा एमालेका उम्मेदवारलाई हराउँदै माओवादी केन्द्रका सर्केश घलानले चुनाव जितेका थिए । पालिका उपाध्यक्षमा भने एमालेकी स्याङ्तानले माओवादी केन्द्रकी उमेदवारलाई हराउन सफल भइन् ।

इन्द्रसरोवर गाउँपालिका

यस्तै इन्द्रसरोवर गाउँपालिकाको अध्यक्षमा देवकृष्ण पुडासैनीलाई उम्मेदवार बनाइने भएको छ । एमाले इन्द्रसरोवर गाउँपालिका कमिटीको बैठकले पुडासैनीलाई सर्वसम्मत् रुपमा पुडासैनीलाई उम्मेदवार बनाउने निर्णय अनुसार नाम सिफारिस गरेको हो । त्यस्तै बैठकले पालिका उपाध्यक्ष पदका लागि उम्मेदवार टुङ्ग्याउन सकेको छैन । आकांक्षी भने धेरै भएकाले बैठकले उम्मेदवार टुङ्ग्याउन लगाउन नसकेको हो ।

२०७४ को निर्वाचनमा इन्द्रसरोवर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा एमालेका उम्मेदवारले जित हात पारेका थिए । अध्यक्ष पदमा काँग्रेसका उम्मेदवारलाई हराउँदै एमालेका जिवन लामाले जितेका थिए भने उपाध्यक्ष पदमा पनि काँग्रेसका उम्मेदवारलाई पछि पार्दै एमालेकी उमाकुमारी लामाले चुनाव जितेकी थिइन् । एमालेबाट पालिका अध्यक्ष जितेका लामा हाल एकीकृत समाजवादीमा आवद्ध रहेका छन् ।

मकवानपुरगढी गाउँपालिका

मकवानपुरगढी गाउँपालिकाको अध्यक्षमा बहालवाला अध्यक्षलाई नै अवसर दिइने भएको छ ।  एमाले मकवानपुरगढी गाउँपालिका कमिटीको बैठकले बहालवाला पालिका अध्यक्ष विदुर हुमागाईं नै आगामी निर्वाचनमा उम्मेदवार उठाउने निर्णय अनुसार नाम सिफारिस गरेको हो । त्यस्तै बैठकले पालिका उपाध्यक्ष पदमा भने एमालेले उम्मेदवार परिवर्तन गरेको छ ।

पालिका उपाध्यक्ष पदमा एमालेले सन्तु थिङलाई उमेदवार उउने निर्णय अनुसार नाम सिफारिस गरेको छ ।  २०७४ कोे स्थानीय निर्वाचनमा मकवानपुरगढी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुबै पदमा एमालेका उम्मेदवार विजयी भएका थिए । पालिका अध्यक्षमा काँग्रेसका उम्मेदवारलाई हराउँदै हुमागाईले जितेका थिए भने उपाध्यक्ष पदमा पनि काँग्रेसका उम्मेदवारलाई पछि पार्दै एमालेकी हर्कमाया रुम्बाले जितेकी थिइन् ।

कैलाश गाउँपालिका

यस्तै कैलाश गाउँपालिकाको अध्यक्ष पदका लागि ५ जनाको नाम सिफारिस गरिएको छ । एमाले कैलाश गाउँपालिका कमिटीको अध्यक्षका लागि बहालवाला उपाध्यक्ष सुकुमाया थिङसहित श्याम उप्रेती, नरेन्द्रलाल रिजाल, बुद्धिबहादुर मोक्तान र सुजिता कार्कीको नाम सिफारिस गरिएको हो ।

त्यस्तै बैठकले पालिका उपाध्यक्ष पदका लागि पनि ५ जनाको नाम सिफारिस गरेको छ । पालिका उपाध्यक्ष पदका लागि पविना गुरुङ, राजकुमार बल, अर्जुन बर्तौला, तारा थिङ र महेश चेपाङको नाम सिफारिस गरिएको हो ।

२०७४ को निर्वाचनमा कैलाश गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा एमालेका उम्मेदवारले जितेका थिए । पालिका अध्यक्षमा एमालेका टंक मोक्तानले जितेका थिए भने उपाध्यक्षमा सुकुमाया थिङलृ जितेकी थिइन् । अध्यक्ष मोक्तान हाल एकीकृत समाजवादीमा आवद्ध रहेका रहेका छन् ।

उम्मेदवार टुङ्ग्याउन छनौट समिति

यसैबीच एमाले मकवानपुरले स्थानीय तह निर्वाचनका लागि उम्मेदवारहरुको विषय टुङ्ग्याउन छनौट समिति बनाएको छ । एमाले मकवानपुरको गत बुधबार बसेको जिल्ला कमिटीको तेस्रो पूर्ण बैठकले स्थानीय तह निर्वाचनका लागि उम्मेदवारको विषय टुङ्ग्याउन छनौट समिति बनाएको हो ।

बैठकले पार्टीको जिल्ला इञ्चार्ज, सहइञ्चार्ज, जिल्ला पदाधिकारीहरूलाई उम्मेदवार छनौटको जिम्मेवारी दिइएको छ । उक्त निर्णय अनुसार छनौट कमिटीमा एमाले मकवानपुरका इञ्चार्ज रामेश्वर राना, सह–इञ्चार्ज कृष्णप्रसाद दाहाल, जिल्ला अध्यक्ष एकलाल श्रेष्ठ, उपाध्यक्ष लालबहादुर थापा, सचिव नविन सिग्देल, उपसचिव हिदम लामा र सिता विष्ट रहने छन् ।

छनौट समितिले सबै पालिकाबाट आएको उम्मेदवारहरूको सिफारिस संकलन गर्ने, प्रदेश र केन्द्रमा सिफारिस गर्ने तथा गाउँपालिकाहरु र नगरपालिकाको वडाका उम्मेदवारहरूको सर्वसम्मत उम्मेदवारहरूलाई स्वीकृत गर्ने तथा सिफारिस भएकाहरुलाई छनोट गर्ने जिम्मेवारी पाएको छ ।

त्यस्तै सो समितिले पार्टीको हेटौंडा उपमहानगरपालिकाबाट सिफारिसमा परेका उम्मेदवारहरूको विवरण प्रदेश कमिटीमा पठाउने छ भने छनोट गरेको उम्मेदवारहरूको नामावली जिल्ला सचिवालयमा पेश गरेर सचिवालय बैठकले स्वीकृत गर्ने निर्णय भएको छ ।  जिल्लाबाट नगर र गाउँपालिकाहरुको वडाका उम्मेदवारहरूको छनोट गरि अनुमोदन गर्ने काम केही दिनमा नै सम्पन्न गर्ने एमाले मकवानपुरको तयारी रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप