शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

ललितपुरमा गठबन्धनभित्र लफडा : सर्वसम्मत हुन नसकेपछि प्रदेश  र केन्द्रमा सिफारिस

कुन स्थानीय तहमा कसको दाबी ?
शनिबार, ०३ वैशाख २०७९, १८ : ४८
शनिबार, ०३ वैशाख २०७९

ललितपुर जिल्लाको एक महानगरपालिकासहित ६ स्थानीय तहमा सत्ता गठबन्धनभित्र सर्वसम्मत हुन नसकेपछि लफडा भएको छ। सत्ता गठबन्धनमा सहभागी नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र,नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबीच चुनावी तालमेलका विषयमा सहमति हुन नसकेपछि बाग्मती प्रदेश कमिटी र केन्द्रमा सिफारिस गरिएको हो ।

गठबन्धनमा सहभागी जसपा र राष्ट्रिय जनमोर्चाले वडामै चित्त बुझाउने भएपछि खासै विवाद भएन। तर, काँग्रेस,माओवादी र एकीकृत समाजवादीले आ–आफ्नै दाबी कायमै राखेपछि प्रदेश र केन्द्रमा सिफारिस गरिएको एकीकृत समाजवादीका जिल्ला अध्यक्ष हरिकृष्ण थापाले बताए। ‘ललितपुरमा एक महानगर,दुई नगरपालिका र तीन गाउँपालिका छन् । त्यहाँ एकले अर्कोलाई छोड्न स्थिति बनेन,’ रातोपाटीसँग कुरा गर्दै थापाले भने,‘त्यसपछि महानगरपालिका केन्द्र र नगरपालिका र गाउँपालिका प्रदेशले टुङ्गो लगाउने गरी आ–आफ्नो दाबी सहित पठाएका छौँ ।’ 

ललितपुरका ६ स्थानीय प्रमुख/उपप्रमुखको भागवण्डा मिलाएपछि टुङ्गो लगाएपछि वडाको भागवण्डा लगाउने माओवादी केन्द्रका जिल्ला अध्यक्ष शिव कट्टेलले बताए। ‘हामीले ललितपुरका ६ स्थानीय तहका प्रमुख/उपप्रमुखको भागवण्डाका विषयमा छलफल गर्‍यौँ । सर्वसम्मत हुन सकेन त्यसपछि केन्द्र र प्रदेशमा सिफारिस गरेका छौँ,’ कट्टेलले भने,‘सबै स्थानीय तहको भागवण्डा मिलेपछि वडालाई सर्वसम्मत गरेर भागवण्डा गर्छौँ । यदि नमिलेमा त्यही ढङ्गले हल गर्ने विधि खोज्नेछौँ ।’ ललितपुरमा गठबन्धनमा सहभागी सबै दलको तानातान भएपछि सर्वसम्मत हुन नसकेको कट्टेलले बताए। जिल्लाले मिलाउन नसकेपछि प्रदेश कमिटीले भागवण्डा गरेर मिलाउने भएको छ।

ललितपुर महानगरपालिका : काँग्रेसको दुवै पदमा, उपमेयरमा समाजवादी

यस महानगरपालिकामा काँग्रेसले प्रमुख र उपप्रमुख दुवै दाबी गरेको छ। यसअघि निर्वाचनमा पनि काँग्रेसले दुवै पदमा जितेकाले यस पटक पनि गठबन्धनबाट दुवै पद दाबी गरेको हो। तर, एकीकृत समाजवादीले उपप्रमुख पाउनु पर्ने दाबी गरेको छ। माओवादीले महानगरका प्रमुख उपप्रमुख दुवै पदमा दाबी नगरेको जिल्ला अध्यक्ष शिव कट्टेलले बताए। ललितपुरको पाँच दलीय गठबन्धनमा कुरा नमिलेपछि केन्द्रलाई मिलाउने गरी सिफारिस गरिएको छ।

यस अघि निर्वाचनमा काँग्रेसबाट चिरिबाबु महर्जनले २४६४२ उपमेयरमा गीता सत्यालले १९८१९ ल्याएर विजयी भएका थिए। एमालेबाट मेयरमा हरिकृष्ण ब्यञ्जनकारले २४ हजार ३१६ उपमेयरमा लक्ष्मीकुमारी श्रेष्ठले ३२१ मत ल्याएकी थिइन्। माओवादी केन्द्रबाट दिनेश महर्जनले १०६६१ र उपमेयरमा हसिना शाक्यले १२९७९ मत ल्याएकी थिइन। स्वतन्त्र उम्मेदवार रमेश महर्जनले १३ हजार ४५८ मत ल्याएका थिए। शोभा शाक्यले स्वतन्त्र उम्मेदवारी दिएर १४२४० मत ल्याएकी थिइन। राप्रपाबाट उपप्रमुखमा बाबुकाजी प्रधानले १०५४० मत ल्याएका थिए। त्यति बेला एमाले राप्रपाबीच चुनावी तालमेल गरेका थिए। यस निर्वाचनमा पनि एमाले राप्रपाबीच चुनावी तालमेल हुने भएको छ। एमालेले हरिकृष्ण ब्यञ्जनकारलाई मेयरमा सिफारिस गरिसकेको छ।

गोदावरी : प्रमुख/उपप्रमुख काँग्रेसको दाबी, एकीकृत समाजवादी उपप्रमुख  

यस नगरपालिका मेयर र उपमेयरमा काँग्रेसले दाबी गरेको छ। यसअघि निर्वाचनमा मेयर उपमेयर काँग्रेसले नै जितेकाले दुवै पद आफूले पाउनु पर्ने दाबी छ। काँग्रेसले कुनै पनि हालतमा मेयर उपमेयर छोड्न नमिल्ने अडानमा छ। तर, एकीकृत समाजवादीले गोदावरी उपमेयर दाबी गरेको छ। माओवादीले भने मेयर /उपमेयर दुवै पद दाबी गरेको छैन। 

यसअघि निर्वाचनमा काँग्रेसबाट मेयरमा गजेन्द्र महर्जनले १३८२० मत र उपमेयरमा मुना अधिकारीले १२७७९ मत ल्याएर विजयी भएका थिए। माओवादीबाट गोविन्द महर्जनले ५६७० मत ल्याएका थिए भने उपमेयरमा सीतादेवी घिमिरेले ६४१३ मत ल्याएर पराजित भएकी थिइन। एमालेबाट मेयरमा मंगले पहारी १८० उपमेयरमा लीला रम्तेल १६९ मत ल्याएर तेस्रो भएका थिए।  

महालक्ष्मी तीनै दलको दाबी  

महालक्ष्मी नगरपालिका काँग्रेस,माओवादी र एकीकृत समाजवादी तीनै दलले दाबी गरेका छन्। काँग्रेस, माओवादी र एकीकृत समाजवादी तीनै दलले मेयर र उपमेयर दुवै दाबी गरेका छन्। तीनै दलले मेयर र उपमेयरमा दाबी गरेपछि सर्वसम्मत हुन नसेको काँग्रेसका जिल्ला अध्यक्ष जितेन्द्रकुमार श्रेष्ठले बताए। एकले अर्कालाई छोड्ने स्थिति नभएपछि तीनै दलको दाबी रहेको श्रेष्ठले बताए।  

यसअघि निर्वाचनमा महालक्ष्मी नगरपालिका मेयर र उपमेयर एमालेले जितेको थियो।  एमालेका मेयर रामेश्वर श्रेष्ठले ७ हजार ७६४ मत र उपमेयरमा निर्मला थापाले ८ हजार ६३६ मत ल्याएर विजयी भएका थिए। काँग्रेसबाट महेश खड्काले ६८०५ मत र उपमेयरमा लक्ष्मी श्रेष्ठले ६३०२ मत ल्याएर दोस्रो भएका थिए। माओवादीका शिवप्रसाद कट्टेलले ४ हजार ३०० मत ल्याएका थिए भने लक्ष्मी महर्जनले ४१८८ मत ल्याएर तेस्रो भएका थिए। माओवादी तेस्रो भए पनि मेयर उपमेयर दुबैमा दाबी गरेको छ। तर एकीकृत समाजवादीले एमालेले जितेको ठाउँमा आफ्नो हक लाग्ने भन्दै मेयर उपमेयर दाबी छोडेको छैन।

बागमतीमा काँग्रेस एक्लैको दाबी    

यस गाउँपालिका अध्यक्ष र उपाध्यक्ष काँग्रेसले दाबी गरेको छ। यसअघि निर्वाचनमा समेत दुवै पद काँग्रेसले जितेकाले गठबन्धनमा पनि पाउनुपर्ने दाबी छ। माओवादी र एकीकृत समाजवादी दुवै दलले दाबी नगर्ने भएका छन्। यसअघि निर्वाचनमा काँग्रेसबाट वीरबहादुर लोप्चनले ३३८८ मत र उपाध्यक्षमा रञ्जना घिमिरेले ३४२६ मत ल्याएर विजयी भएका थिए। एमालेबाट अध्यक्ष उम्मेदवार भएका दुर्गाप्रसाद घिमिरेले २२५२ र उपाध्यक्षकी उम्मेदवार डोलकुमारी सिङतानले २३४० मत ल्याएर दोस्रो भएका थिए। माओवादीबाट अध्यक्षका उम्मेदवार राजु आले मगरले १६४२ मत ल्याएका थिए भने उपाध्यक्ष कमला थापामगरले १४५५ मत ल्याएर तेस्रो भएका थिए। 

कोन्ज्योसोममा तीनै दलको दाबी 

यस गाउँपालिकामा काँग्रेस,माओवादी र एकीकृत समाजवादी तीनै दलले दाबी गरेका छन्। काँग्रेस र माओवादीले अध्यक्ष र उपाध्यक्ष दुवै पद दाबी गरेको छ। एकीकृत समाजवादीले उपाध्यक्ष मात्रै दाबी छ। यसअघि निर्वाचनमा माओवादी काठमाडौँ उपत्यकाबाट मात्रै जितेको पालिका एउटै भएकाले दुवै पद आफूले पाउनु पर्ने दाबी छ। उता काँग्रेसले आफू दोस्रो भएर हारेकाले दुवै पदमा दाबी गरेको छ। उता एकीकृत समाजवादीले एमालेकै हिस्सालाई देखाएर उपाध्यक्ष पद दाबी गरेको छ। सत्ता गठबन्धनभित्र सर्वसम्मत नभएपछि आ–आफ्नो दाबी कायमै राखेर प्रदेशमा सिफारिस गरिएको छ।

यसअघि निर्वाचनमा नेकपा माओवादीबाट गोपीलाल सिन्तानले १ हजार ७९८ मत ल्याएर निर्वाचित भएका थिए। उपाध्यक्षमा माओवादीकै मिङमा लामाले १ हजार ९३३ मत ल्याएर विजयी भएकी थिइन। काँग्रेसबाट राजनप्रसाद घिमिरे १ हजार ७३२ मत र उपाध्यक्षमा काँग्रेसकै लक्ष्मी लोप्चनले १४४४ मत ल्याएर पराजित भएकी थिइन्। कान्ज्योसोममा माओवादीसँग थोरै मत अन्तरले पराजित भएकाले काँग्रेसले दाबी गरेको छ। यसअघि निर्वाचनमा एमालेबाट कृष्णमान लामाले १४७८ मत र उपाध्यक्षमा एमालेकै सुस्मिता घिमिरेले १४५७ मत ल्याएर पराजित भएकी थिइन। त्यतिबेला एमाले कान्ज्योसोममा तेस्रो भएको थियो। 

यदि कान्ज्योसोम माओवादी भागमा परेमा पुनःगोपिलाल सिन्तान उठ्ने तयारी गरेका छन्। निर्वाचनमा  सत्ता गठबन्धन भएमा आफूले उम्मेदवारी दिने तयारीमा रहेको सिन्तानले बताए। यद्यपि पार्टीले भने निर्णयगरी नसकेको बताए।  

महांकालमा तीनै दलको दाबी 

यस गाउँपालिकामा काँग्रेसले अध्यक्ष दाबी गरेको छ। माओवादीले भने अध्यक्ष र उपाध्यक्ष दुवै दाबी गरेको छ। एकीकृत समाजवादीले पनि अध्यक्षमा दाबी गरेको छ। एकले अर्कालाई छोड्ने स्थिति नभएपछि सबैको दाबी प्रदेश संयत्रमा पठाएको छ।

यसअघि निर्वाचनमा एमालेबाट अध्यक्षमा रामचन्द्र दाहालले २०८० मत र उपाध्यक्षमा कमला लामा तामाङले २२९३ मत ल्याएर विजयी भएका थिए। काँग्रेसबाट अध्यक्षमा भीमसेन घिमिरेले १७२२ मत ल्याएका थिए भने उपाध्यक्षका उम्मेदवार सुशीला अधिकारीले १३९९ मत ल्याएका थिए। माओवादी केन्द्रबाट बुद्धबहादुर नेगीले ९२८ मत ल्याएका थिए भने उपाध्यक्षमा विमलादेवी आचार्यले ६६८ मत ल्याएकी थिइन। महांकालमा यसअघि निर्वाचनमा तेस्रो भए पनि माओवादीले आफ्नो दाबी छाडेको छैन। एकीकृत समाजवादीले एमालेको हिस्सेदार ठानेर उपप्रमुख दाबी गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

वीरेन्द्र ओली
वीरेन्द्र ओली
लेखकबाट थप