बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

स्थानीय तहमा गठबन्धन दलबीच प्रतिस्पर्धा हुँदा पनि केन्द्रबाट हस्तक्षेप हुँदैन:  काँग्रेस

शनिबार, ०३ वैशाख २०७९, २१ : ००
शनिबार, ०३ वैशाख २०७९

नेपाली काँग्रेसले आगामी स्थानीय तह चुनावमा गठबन्धन गरेर अघि बढ्दा पार्टीको तल्लो तहमा केन्द्रले हस्तक्षेप नगर्ने प्रस्ट पारेको छ । शनिवार भएको काँग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक भइरहेका बेला पार्टीका प्रवक्ता डा.प्रकाश शरण महतले महानगरपालिका र उपमहानगरमा गठबन्धन गर्ने र उम्मेदवार छान्ने बाहेक तल्लो तहमा केन्द्रको हस्तक्षेप नहुने बताएका हुन् । 

पत्रकारहरूसँग महतले भने–‘कहाँ गठबन्धन गर्न सकिन्छ, कहाँ सकिँदैन, कहाँ कसरी जान सकिन्छ वडाध्यक्षदेखि नगरसम्मको अध्यक्ष उपाध्यक्षको सिटमा कसरी जान सकिन्छ त्यो तल्लो तहमा नै टुङ्गो लगाउनुहुन्छ । महानगरपालिका र उपमहानगरपालिका बाहेक तलका अरू तहमा जहाँ अन्य तहहरूलाई छलफल गर्न जिम्मेवारी दिइएको छ । त्यहीबाट टुङ्गो लाग्छ । केन्द्रबाट यसो गर उसो गर भनेर निर्देशन जाँदैन ।’ 

उनले केन्द्रीय समितिको निर्णय अनुसार स्थानीय वस्तुस्थिति र आवश्यकता अनुसार तालमेल गर्ने निर्णय अनुसार कहाँ कुन दलको कस्तो स्थिति छ, जनाधार के छ त्यसकै आधारमा तालमेल गर्नुपर्ने बताए । महतले भने–‘कुनै तहमा तालमेल मिलेन त्यहाँ हाम्रै दल शक्तिशाली छ भने गठबन्धन बिना नै प्रतिस्पर्धापनि हुनसक्छ । तर हाम्रो गठबन्धनसँग कुरा मिलेन भनेर एमालेसँग गठबन्धन गर्न चाहिँ जाँदैनौँ । त्यही सहमति नै शीर्ष तहमा भएको हो । त्यही मूल मर्म र भावना अनुसार स्थानीय तहमा रहेका साथीहरूले पनि त्यही जिम्मेवारी निर्वाह गर्नुहोला । हुनेसम्म समझदारी तालमेल गर्नुहोला । कथम् कदाचित् भएन भने त्यसको रिपोर्ट पनि गर्नुहोला । त्यहाँ कसरी जाने त्यसबारे केन्द्रलाई सल्लाह सुझाव पनि दिनुहोला ।’ 

उनले वैशाख ३ गतेसम्मका लागि तालमेल गर्न समय दिएपछि भोलिका दिनमा पनि सहमति गर्न सकिने बताए । महतले गठबन्धनमा तिक्तता हुने गरी एक अर्कामा अविश्वास पैदा हुने गरी मिडियामा वा बाहिर गठबन्धन विरुद्ध नबोल्न पार्टीका नेता कार्यकर्ताहरूलाई आग्रह गरे । उनले गठबन्धन दलको बैठकमा मात्र आफ्ना कुराहरू राख्न आग्रह गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप