हाम्रो भान्छा कहिलेसम्म असमावेशी ?
नेपाली समाज विश्व परिवेश भन्दा फरक परिवेशमा हुर्केको समाज हो । यहाँका हरेक चालचलन रितिरिवाज अरुका लागि नौला र अनौठो लाग्छन् । हेर्दा सामान्य लाग्ने कुराहरू पनि जीवनमा ठुलो महत्व राख्दछ । खाना जीवन जिउने महत्वपूर्ण आधार हो । खानाको कुरा गर्दा किचेन वा भान्छाका कुरा पनि छुटाउनु हुन्न जस्तो लाग्छ । यस लेखमा हाम्रो भान्छा कस्तो प्रकारका छ भन्ने विषयमा केही चर्चा गर्ने जमर्को गरेकी छु ।
पितृसत्ताका कारणले भान्छा भन्ने वित्तिकै महिलाका कार्य क्षेत्रको रुपमा लिइन्छ । जताततै समावेशीको कुरा चलिरहँदा हाम्रो भान्छामा भने समावेशीताका कुराले छुन सकेको छैन । परम्परागत पृष्ठभूमिको अध्ययन गर्ने हो भने महिलाहरू शैक्षिक क्षेत्रमा पछाडि परेका हुनाले घरका चुलाचौका र बालबच्चाको हेरचाहमै सीमित भए । यस्तैमा पुरुषहरू हरेक क्षेत्रमा अगाडि रहँदै आए । तर पुरुषकै कारणले मात्र महिलाहरू पछाडि परे भनेर आरोप लाउन चाहि अलि मिल्दैन कि ?
सामाजिक व्यावहारिकताको कुरा गर्दा विवाह अगाडि छोरीलाई यसो नगर त्यसो नगर भन्ने मा आमा वा हजुरआमा नै हुने गर्दछन् । विवाहपछि पनि बुहारीलाई नियन्त्रण गर्ने काम सासुले नै प्रायः गर्ने गरेका छन् । जबसम्म सामाजिक परिवेशमा परिवर्तन आउँदैन तबसम्म हाम्रा चालचलन संस्कारमा पनि परिवर्तन असम्भव छ । पुरातन विचारधारा नराम्रो हो भन्न खोजेको होइन । यसभित्र पनि राम्रा कुराहरू छन् । राम्रा कुराहरूलाई हामीले आत्मसाथ गर्नु पर्दछ ।
घरायसी कार्य सबै जना सदस्यहरू मिलेर गरे मात्र परिवारमा मेलमिलाप, सद्भाव, सहयोगी भावनाको विकास हुन्छ । यस्ता कार्यहरूले महिलामा पनि केही पारिवारिक जिम्मेवारीहरू कम हुन्छ र उनीहरू पनि अन्य क्षेत्रमा सक्रिय हुने मौका पाउँदछन् । वास्तवमै असमावेशी भान्छाकै कारण समाजमा विभिन्न समस्या उत्पन्न भैरहेका छन् । सामाजिक समस्यालाई कम गर्न घरपरिवारबाटै पहल गर्नुपर्ने आवश्यकता देखिन्छ ।
काम भनेको सानो ठुलो हँुदैन भनी भन्नलाई मात्र भनिन्छ तर वास्तविकता अर्काे हुन्छ । छेपारोले रंग फेरे झैं हाम्रो समाजमा कुरा फेर्ने मानिसको कमी छैन । नेपालको कुल जनसंख्याको आधारमा झण्डै ५२ प्रतिशत महिला रहेको तथ्य पछिल्लो जनगणनाले सार्वजनिक गरेको छ । तर अधिकांश महिलाहरू घरका चुलाचौकामै सीमित रहन बाध्य छन् । कतिपय अवस्थामा घरपरिवारले केही अवसर प्रदान गरे पनि महिलाहरू आफै पछाडि परेका छन् । कारण पुरुषको दाँजोमा महिलाहरू बढी मात्रामा भावनात्मक रुपमा परिवार, बच्चाबच्चाहरूसँग लगाव हुने हुनाले पनि उनीहरू यी सबै कुरालाई सजिलै छोडेर आफनो करियरतिर ध्यान दिन सक्दैनन् । उनीहरू घर बाहिर हुँदा पनि घरकै चिन्ता गरिरहेका हुन्छन् ।
महिला दिवस लगायतका कार्यक्रमहरूमा महिला सशक्तिकरण, महिला सहभागिता, समानताका नारा लगाइन्छ तर त्यसलाई कमैले मात्र व्यवहारमा उतारेका हुन्छन्, जसले गर्दा “काग कराउँदै गर्छ, पिना सुक्दै गर्छ” भन्ने उखान सार्थक हुन पुगेको छ । वास्तवमै समाज समुदाय र समग्र देशको समृद्धिको लागि हरेक क्षेत्रमा महिलाको सहभागीता हुने जरुरी छ । विकासको लहर फैलाउन महिला र पुरुष हरतरहले समानता र समताको मूल मन्त्रको पालना गर्नु पर्दछ ।
अझै पनि महिलाहरू अशिक्षा, गरिबी र अज्ञानताको भुमरीमा रुमल्लिरहेका छन् । नेपालको कानुनले महिलालाई सम्पन्न बनाए पनि व्यवहारमा महिलाहरू अहिले पनि विपन्न, विचरीको रुपमा परिभाषित रहँदै आएका छन् । नेपालको संविधान २०७२ को धारा ३८ मा महिलाहरूको हक अधिकारको व्यवस्था रहेको छ तर कतिपय पढेलेखेका महिलाहरूलाई पनि त्यसमा समावेश भएका हक अधिकारबारे जानकार छैनन् । प्रायःलाई के लाग्छ भने कानुनका कुराहरू त वकिलले पढ्ने कुरा हो । अरु सामान्य नागरिकलाई ती कुराहरू नजरअन्दाज गर्न आवश्यक छैन जस्तो लाग्दछ । तर त्यस्तो होइन, सचेत नागरिक भएको हिसाबले पनि हाम्रा संविधान, कानुन, हक अधिकारका कुराहरू सबैले जानकारीमा राख्नु पर्दछ । अनि मात्र देशमा सुशासन कायम हुन सक्दछ ।
परिवार मानिसको पहिलो स्कुल हो । परिवारबाटै मानिसले सबै कुराहरू सिक्दछन् । परिवारबाट जे कुरा सिकेका हुन्छन्, ती कुरा जीवनभर प्रयोगमा आइरहेका हुन्छन् । त्यसैले परिवारलाई विशेष प्राथमिकता दिइने गरिन्छ । घर परिवारमा पुरुष घरमुलीले पनि समान रुपमा काम गर्दछन् भने त्यो परिवारका केटाहरूले पनि घरपरिवारका काममा बढी सक्रिय रुपमा लागेका हुन्छन् । तर, कतिपय परिवारमा पुरुष सदस्यहरूले घरायसी कामकाजमा सहयोग नगरिदिनाले महिलाहरूलाई कामको भार बढ्ने गरेको छ । र, यस्ता परिवारका महिला सदस्यहरू प्रायः तनावमा रहने र घरमा पनि अशान्त वातावरण रहन्छ ।
त्यसैले परिवार राम्रो बनाउन परिवारका हरेक सदस्यले आफूले सकेको सहयोग, सरसल्लाह दिनु पर्दछ । परिवारमा यस्ता कार्यहरूले मेलमिलाप र सद्भावको वातावरण कायम गर्दछ । त्यसैले पनि समावेशिताको कुरा गर्दा उच्च पद, राज्यका अंगहरूमा मात्र हैन, घरपरिवारदेखि नै समावेशिताका कुरामा जोड दिनु पर्दछ । परिवारमा मेलमिलाप भए मात्र सामाजिक समस्या कम हुँदै जान्छन् । परिवार राम्रो, सकारात्मक भए मात्र समाज राम्रो हुन्छ ।
लेखक ख्वप कलेज भक्तपुरमा समाजशास्त्र विषयको उपप्राध्यापक छन्