शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ओलीको गृह नगरमा सत्ता गठबन्धन र राप्रपाबीच तालमेल, एमालेलाई चुनौती

शनिबार, ०३ वैशाख २०७९, १५ : ५२
शनिबार, ०३ वैशाख २०७९

नुवाकोटमा आयोजित एक कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले भने, ‘मेरै निर्वाचन क्षेत्रमा, मेरै नगरपालिकामा राप्रपाका उम्मेदवारलाई काँग्रेस, माओवादीलगायतले सबैको साझा उम्मेदवार बनाउँदै छन् । यदि स्थानीय तहमा हामीले बहुमत ल्याउन सकेनौँ, स्थानीय तहमा बेठीक पार्टीका बेठीक प्रतिनिधि पुगे भने, स्वच्छता होइन भ्रष्ट मानिस पुगे भने हामी संसद्मा बहुमत ल्याएर भए पनि जनताको अपेक्षा पुरा गर्छौँ ।’

ओलीले आफ्नो क्षेत्र रहेको झापाको दमक नगरपालिका गठबन्धन दलले राप्रपाका उम्मेदवारलाई सघाउने गरी भइरहेको छलफललाई इङ्गित गरेका थिए । ओलीले भनेजस्तै दमक नगरपालिकामा राप्रपासँग सत्ता गठबन्धन मिले एमालेका उम्मेदवारलाई जित्नका लागि ठुलो चुनौती खडा हुने देखिन्छ । दुई दिन अगाडि इटहरीमा बसेको गठबन्धन दलको बैठकमा राप्रपाका प्रदेश १ अध्यक्ष राम थापा पनि सहभागी भएका थिए ।

बैठकमा भएको निर्णयबारे जानकारी दिँदै थापाले भने, ‘चुनावमा आवश्यकता अनुसार तालमेल गर्ने निर्णय भएको छ । तालमेल गरेर जाने भन्ने निर्णयको माइन्युटमा हस्ताक्षर पनि गरेको छु । गठबन्धन भनेको अनिवार्य हुने भयो, तालमेल भनेको आवश्यक ठाउँमा हुने भयो । हाम्रो चाहिँ सम्भव भएसम्म पाँच दलीय गठबन्धनसँग तालमेल हुने भनिएको छ ।’

गठबन्धन हुँदा दमकमा के होला ?

राप्रपाले सत्तारुढ गठबन्धनसँग तामेलमा गरे झापाको दमकमै एमाले पराजित हुने अवस्था आउने आँकलन गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो निर्वाचन क्षेत्र, आफ्नो गृह नगरमा चुनौती खडा भएको छ । 

२०७४ सालको स्थानीय निर्वाचनमा दमकका १० वटा वडामध्ये एमाले एक्लैले ८ वटा जितेको थियो । बाँकी दुईवटा वडामा २ राप्रपाले जितेको छ । नगर प्रमुख पदमा एमालेका रोमनाथ ओलीले १० हजार ८ सय ६ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाकै राम थापाले ७ हजार ६ सय ५५ मत ल्याएका थिए । तेस्रो स्थान ल्याएको माओवादीका उम्मेदवार रेवतराज पुरीले ६ हजार ८ सय ९८ मत ल्याउँदा काँग्रेसका ढुण्डीराज भण्डारीले भने ५ हजार ५ सय ३९ मत ल्याएका थिए । 

सबै वडाको मत जोडेर हेर्दा दमकमा एमाले ११ हजार ८ सय ८४ सहित पहिलो, ६ हजार ५ सय ६० मतसहित काँग्रेस दोस्रो, ५ हजार ७ सय ७१ सहित राप्रपा तेस्रो र ४ हजार ५ सय १७ मतसहित माओवादी केन्द्र चौथो स्थानमा छ । 

हेर्नुहोस् तथ्यांक (विजयी वडा पहेँलो बक्समा)

अहिले आ–आफ्नो सुधार आएको दाबी सबै दलले गरिरहेका छन् । यद्यपि एमालेलाई पराजित गर्नका लागि राप्रपाको साथ लिनुपर्ने दबाबमा सत्तारुढ गठबन्धन थियो । 

एमालेले पनि राप्रपालाई उपप्रमुख पद दिएर गठबन्धन गर्ने गरी विभिन्न छलफल गरिरहेको थियो । तर उक्त छलफल सार्थक भएन । राप्रपा दमकका उम्मेदवार समेत रहेका प्रदेश अध्यक्ष थापा जुनसुकै हालतमा आफू मेयर पदको उम्मेदवार बन्ने बताएपछि एमालेले प्रमुख पद दिन चाहेन । 

यता गठबन्धन दलले भने राप्रपालाई प्रमुख पद दिने सर्तमा बैठकमा सहभागी गराएको स्रोतको दाबी छ । ‘थापाको बटमलाईन नै दमकमा प्रमुख पद दिनुपर्छ भन्ने हो,’ गठबन्धन दलका एक नेताले भने, ‘त्यसो नगर्दा हामी सबै एक्लाएक्लै लड्नुपर्ने अवस्था आउने भएकोले पुनः एमालेले जित्ने देखियो, अब उनैलाई ल्याएर एमालेलाई पराजित गर्न सकिन्छ भन्ने हाम्रो निष्कर्ष रह्यो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप