मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

अनुसन्धानात्मक उत्पादन जनतामाझ पुर्याउन स्वास्थ्य वैज्ञानिकहरुको जोड

शनिबार, ०३ वैशाख २०७९, १५ : ३७
शनिबार, ०३ वैशाख २०७९

स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको आठौं शिखर सम्मेलनले स्वास्थ्य सम्बन्धी अनुसन्धानात्मक उत्पादनलाई जनतामाझ पुर्याउनुपर्नेमा जोड दिएको छ । गत चैत्र २८ र २९ गते काठमाडौंमा बसेको सम्मेलनले छलफलमा उठाइएका कुरालाई नीति बनाएर स्वास्थ्यको क्षेत्रमा गरेका अनुसन्धानलाई सर्वसाधारण जनतामा पुर्याउनु पर्ने कुरामा जोड दिएको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्यसचिव डा.प्रदीप ज्ञवालीले बताए ।

उनले अब अस्पतालसम्बन्धीका अध्ययन तथा अनुसन्धानहरू हुन आवश्यक रहेको पनि बताए । सदस्यसचिव ज्ञवालीले सम्मेलनमा विशेष गरेर क्लिनिकल ट्रायल (परीक्षण) गर्न सक्नेगरी विकास गनुपर्नेमा छलफल भएको पनि बताए ।

 सदस्यसचिव ज्ञवालीले भने, ‘हामीले दिएका रिसर्चका फाइण्डिङबाट मुलुकमा स्वास्थ्य नीति परिवर्तन गर्ने दिशामा हामी कति उन्मुख हुन सक्छौँ र जनताको आवश्यक्ता कति पूरा हुनसक्छ ? भन्ने कुरामा छलफल गरायौँ । हामीलाई विभिन्न देशबाट प्रतिक्रिया स्वरुप यसरी छलफल गराएका विषयवस्तुहरु पोलिसीमा ल्याउने गरेर कसरी लान सक्नुहुन्छ ? समिट मात्रै हो यो वा नीति बनाएर लैजान सक्नुहुन्छ ? भन्ने प्रश्न थियो । हामीले यसलाई नीति बनाएर लैजानुपर्ने दिशामा जानुपर्नेछ । हामीले अस्पताल बेशका रिसर्चहरु अब हामीलाई आवश्यक पर्छ । त्यस दिशातर्फ हामी जानुपर्छ । क्लिनिकल ट्रायल, रेन्डिमिक ट्रायलहरुको जुन रिसर्चका पावरहरु छन्, त्यो दिशामा जानुपर्छ भन्ने हिसावले क्लिनिकल पार्टको क्षेत्रमा हामीले जोड दिन खोज्यौँ ।’

उनले छलफलमा नेपालमा भएका जडिबुटीहरूलाई नेपालमै औषधि उत्पादन गरेर कसरी विश्व बजारमा पुर्याउन सकिन्छ भन्ने कुरामा पनि विशेष जोड दिइएको बताए । सदस्यसचिव ज्ञवालीले मुलुकलाई समृद्धितर्फ लैजानको लागि सहज परीक्षणको व्यवस्था हुनुपर्नेमा जोड दिए ।

उनले सम्मेलनमा स्वास्थ्यसम्बन्धी अध्ययन, अनुसन्धानको विषयलाई संघीय स्तरमा लैजानुपर्ने र चाँडो जनताका आवश्यकतालाई अध्ययनका उत्पादित सामग्रीले परिपूर्ति गर्न सक्नुपर्ने पनि बताए । उनले संघीयस्तरमा स्वास्थ्य सेवा प्रणालीको सुदृढीकरण, प्रादेशिक तथा स्थानीय स्वास्थ्य सेवा र यसको अवसर तथा चुनौतीका बारेमा छलफल भएको पनि बताए । सदस्यसचिव ज्ञवालीले तीव्र गतिमा जनताका आवश्यकतालाई सम्बोधन गर्न अध्ययन, अनुसन्धानको स्तरवृद्धि गर्नका लागि संघीय प्रणालीबाट जान आवश्यक रहेको पनि बताए ।

सदस्यसचिव ज्ञवालीले अनुसन्धान परिषद्लाई काम गर्न नसकेको भनेर मिथ्या आरोप लगाउन खोज्नु गलत भएको बताए । उनले नेपालमा केहि नीतिगत र कानूनी अड्चनको कारणले  क्लिनिकल ट्रायल गर्न,े उपयुक्त ल्याब तथा परीक्षण केन्द्र नहुँदा कोरोनाविरुद्धको भ्याक्सिन उत्पादन गर्ने लगायतका कुरामा पछि परेको बताए ।

सदस्यसचिव डा. ज्ञवालीले आठौं सम्मेलनमा करिव १० लाख (अनलाइन र भर्चुअल माध्यमबाट) अनुसन्धानकर्ताहरुले सम्मेलनमा सहभागी बनेको र आगामी दिनमा अनुसन्धानप्रतिको चासो बढ्दै जाने कुरामा विश्वस्त रहेको बताए । उनले नेपालमा अध्ययन, अनुसन्धानका लागि टेक्नोलोजीको कमी रहेको र अभ्यास परीक्षणका कुराहरूको कमी भएकोले यसलाई बढाउन सके अनुसन्धानको क्षेत्रमा उल्लेख्य प्रगति हुने विश्वास व्यक्त गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप